७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
विचार

शरीरै औषधि उद्योग

आयुर्विज्ञानको क्षेत्रमा भएको विकास हेर्दा अहिलेको समयलाई औषधि विज्ञानको सुनौलो युग भन्न सकिन्छ। पछिल्लो दशक नवीन रोगहरूसग जुध्न जिन थेरापी, सेल थेरापी, इम्युनो थेरापी, एन्टिीबडी ट्रिटमेन्ट जस्ता उपचार विधि भित्रिए। विगतमा खोप बनाउन एक दशक लाग्ने गरेकामा वैज्ञानिकहरूले एक वर्षभित्र कोभिडको खोप बनाए।

कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा भएको युगान्तकारी विकासले ओखती आविष्कारलाई मात्र सहजीकरण गरेन बरु उपचार विधिले समेत रफ्तारी गति लियो। एकातिर विज्ञानले रोगको निदान र उपचारमा ठूलो फड्को मार्‍यो भने अर्कोतिर नवीन रोगहरू भित्रिएका छन्।

 क्यान्सरका भिन्नभिन्न स्वरूप देखिए। एक पुस्ताको क्यान्सरलाई लक्षित गरी बनाएको ओखती पूर्ण प्रयोगमा नआउँदै अर्को स्वरूपको अर्बुद रोग अस्तित्वमा आयो।

वैज्ञानिक विकासभन्दा रोग भित्रने गति अधिक देखियो। नवीन रोगहरू आवधिक रूपले भित्रिएपछि समस्याको सम्बोधन वैज्ञानिक चुनौती हुने नै भयो। विगतमा सीमित समूह र तप्कामा मात्र देखिने रोगहरू पछिल्ला समय विश्वव्यापी बन्यो।

झन्डै आधा शताब्दीअघिसम्म मुटु रोग, मधुमेह, मोटोपन जस्ता समस्यालाई पश्चिमा रोग तथा संभ्रान्तको व्यथा भनिन्थ्यो। औद्योगिकीकरणका कारण कडा परिश्रमको बाध्यताबाट मुक्ति पाएका पाश्चात्य समाजमा अनि धनीमानीमा मुख्यतः देखिने भएकाले मुटु रोग तथा चिनी रोगलाई वेस्टर्न डिजिजेज तथा डिजिजेज अफ् एफ्ल्युयन्स भन्ने प्रचलन थियो। पर्याप्त खान नपाउने तर बाँच्नका लागि अत्यधिक मेहनत गर्नुपर्ने वर्गमा पर्ने गरिब वर्ग कूपोषणका कारण मर्ने भए पनि मुटु तथा चिनी रोगले बिरलै सताउने भएकाले उक्त नामांकन रह्यो। तर अहिले रोगको उक्त परिभाषा फेरियो।

उक्त रक्तचाप मधुमेह र मोटोपन विश्वव्यापी समस्या भयो। नेपालमा हिजोका दिनमा राजा÷महाराजा तथा जमिन्दारलाई मात्र लाग्ने रोगको आयतन बढ्यो। आधुनिक उपकरण तथा यातायातको प्रयोगले कडा मेहनत गर्नुपर्ने बाध्यता रहेन। खाडी मुलुकबाट आएको पैसाले बेसाएर खाने बानी परेपछि खेतमा कसले मेहनत गर्ने? यसरी परिश्रम नगरी बसिखाने आदतले मानिसको वजन बढ्यो, रोगीको संख्या आकासियो। बिगतको पश्चिमा रोग देशव्यापी बन्यो।

वातावरणमा रहेका सयौँ किसिमका सूक्ष्माणुहरू दिनैपिच्छे हाम्रो शरीरमा पस्छन्। अनि, जैविक रासायनिक प्रक्रियाका क्रममा दिनहुँ दर्जनौँ किसिमका क्यान्सरजन्य कोषहरू मानव शरीरमा विकास हुन्छन् भन्ने वैज्ञानिक आकलन छ।

भित्र पसेका ब्याक्टेरिया तथा भाइरस अनि शरीरमा उत्पादन हुने क्यान्सरजन्य कोष (सेल) हरू बेरोकतोक बढ्ने हो भने जन्मेको केही महिनाभित्रै मानिसको मृत्यु हुन्थ्यो। मानव अस्तित्व समाप्त हुन्थ्यो। बाह्य संक्रमण र आन्तरिक आक्रमणका अतिरिक्त हामी स्वस्थ रहनुमा केले भूमिका खेल्यो त?

कोभिड संक्रमणको प्रथम चरणमा भाइरसको अवस्था अज्ञात थियो। कोरोना संक्रमितमध्ये केही मरे भने धेरैलाई रोगले सतायो अनि केही हप्तापछि उनीहरूले लक्षणलाई जिते, स्वस्थ भए। भाइरसको संक्रमणपछि हाम्रा प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) का विशिष्ठ प्रकृतिका सिपाहीरूपी कोषहरू सूक्ष्माणुलाई परास्त गर्न जागरुक भए। अनवरत खटाइपछि प्रतिरक्षा प्रणालीले भाइरस मार्न सक्ने हतियाररूपी कोष निर्माण गर्‍यो। कोभिडलाई मानवीय प्रतिरक्षा प्रणालीले जित्यो। रोगी स्वस्थ भयो।

यसरी औषधि अन्वेषण प्रयोगशालाका रूपमा हाम्रो शरीरमा रहेको प्रतिरक्षा प्रणालीले केबल दुई/तीन हप्तामै कोरोना भाइरसलाई परास्त गर्ने ओखती बनायो। तर संसारकै शक्तिशाली फर्मास्युटिकल कम्पनीका रूपमा नाम कमाएको फाइजर, मोडर्ना जस्तालाई खोप बनाउन खर्बौ रुपियाँ खर्चँदासमेत एक वर्षभन्दा बढी समय लाग्यो। अझ केही ओखती कम्पनीले त अनुसन्धानमा पैसाको खोलो बगाउँदा समेत विश्वासिलो उपचार विधि पहिल्याउन सकेनन्। उल्लिखित परिदृश्यले हाम्रो शरीर संसारका शक्तिमान औषधी कम्पनीभन्दा धेरै परिष्कृत छ भन्ने देखायो।

आन्तरिक औषधी ‘उद्योग’का रूपमा रहने प्रतिरक्षा प्रणालीले ब्याक्टेरिया, भाइरस लगायतका बाह्य विषादीलाई मात्र तह लगाउँदैन बरु शारीरिक बायोलोजिकल प्रक्रियाका क्रममा उत्पादन हुने क्यान्सर सेललाई उत्पत्तिकै क्षणमा नास गरी हामीलाई अर्बुद रोगबाट बचाउँछ। सशक्त शैन्य शक्तिमार्फत देशले आफ्नो रक्षा गरेझै प्रतिरक्षा प्रणालीलाई सबलीकरण गरी धेरै किसिमका रोगबाट बच्न सक्ने देखियो।

पुर्खाबाट आउने आणुवंशिक पदार्थलाई नियन्त्रण गर्न नसकिने भएकाले डिएनएमाथिको बहस सान्दर्भिक रहेन। तसर्थ, बानी परिवर्तन गरी डिजिजेज अफ् एफ्ल्युयन्समा काबु पाउने अनि खराब आचरण सुधार गरी प्रतिरक्षा प्रणालीलाई थप ऊर्जावान बनाउनुपर्ने भयो। आवधिक स्याहारबिना जथाभाबी हाँक्दा नयाँ गाडी पनि छिटै निकम्मा भएझै भगवानको अनुपम उपहारका रूपमा रहेको प्रतिरोधात्मक क्षमतालाई जतन नगर्ने हो भने शरीर जीर्ण भइ आफ्नो कर्तव्य पूरा गर्न नसक्ने घडीमा पुग्छ।

कस्तो किसिमको आचरण परिवर्तनले मानिसलाई स्वस्थ जीवन व्यतीतमार्पmत लामो जीवन पाउन सहयोग गर्छ त भन्ने संबन्धमा संयुक्त राज्य अमेरिकाको हार्वर्ड विश्वविद्यालयका अन्वेषणकर्ता फ्र्यांक हु नेतृत्वको अनुसन्धान समूहले सन् २०१८ मा जर्नल सर्कुलेसनमा रिसर्च आर्टिकल प्रकाशित गरे। ५० वर्ष उमेर समूहलाई केन्द्रमा राखी गरिएका उक्त अनुसन्धानले नियमित कसरत, स्वस्थ खान्की, चुरोट बिँडी नपिउने, संयमित खान्कीमार्पmत सन्तुलित वजन कायम गर्ने अनि रक्सीले नमातिने समूह अर्को पक्षभन्दा १० वर्ष भन्दा बढी बाँच्ने देखायो।

आँकडा नियाल्दा उक्त आलेखले आचरणमा रहेका पुरुष १२ वर्ष बढी बाँचे भन्यो अनि महिलाहरूको आयु १४ वर्ष लम्बिएको देखायो। खाना र कसरतमार्फत तौल व्यवस्थापन गर्दा मुटु रोग तथा मधुमेह जस्ता संभ्रान्तलाई लाग्ने रोग नियन्त्रण हुने अनि धुवा र मदिरालाई निषेध गर्दा फोक्सो लगायतका धेरै किसिमका क्यान्सरको संभाव्यता निकै घट्ने भएकाले उक्त परिणाम धेरैका लागि ऊर्जावान हुने ठान्छन् हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक डा. मेयर स्टाम्फर।

कम्तीमा आठ घण्टा सुत्ने मानिस प्रतिरक्षा प्रणालीअन्तर्गतका किलर सेलको उत्पादन राम्रो हुने प्रयोगशाला परीक्षणले देखायो। अनि किलर सेलले शरीरमा उत्पादन हुने क्यान्सरका कोषहरूलाई प्रथम चरणमै नास गर्ने भएकाले अर्बुद रोगको संभाव्यता घट्ने भएकाले व्यक्तिको आयु बढ्यो।

अर्कोतिर मानसिक तनावले धेरै किसिमका शारीरिक तथा दिमागी समस्या ल्याउने मात्र होइन, बरु प्रतिरक्षा प्रणालीलाई समेत प्रतिकूल असर पार्छ।  साथीसंगीको समूह जीवनमा कति महत्वपूर्ण छ भन्ने ठम्याउन संयुक्त राज्य अमेरिकाको हार्वर्ड विश्वविद्यालयले सन् १९३८ मा वयस्क विकास कार्यक्रम सञ्चालन गर्‍यो।

दशकौँसम्म चलेको उक्त अध्ययनले ५० वर्षको हाराहारीले व्यक्तिले बटुलेको स्तरीय साथी समूहले व्यक्तिलाई जीवनको उत्तरार्धमा खुसी मात्र नदिने बरु उसको आयुसमेत बढ्ने देखायो। वृद्धावस्थामा संगीसँगको निकटताले शरीरमा विभिन्न किसिमका ह्याप्पिनेस हर्मोन उत्पादन हुने अनि उक्त रासायनिक पदार्थले व्यक्तिलाई  प्रसन्न बनाउने र उक्त खुसीले अन्ततः उमेर बढाउने देखियो।

उल्लिखित परिदृश्य र वैज्ञानिक तथ्य विश्लेषण गर्दा संसारकै अब्बल औषधि अन्वेषण तथा उत्पादनस्थलका रूपमा रहेको शरीरको उपयुक्त हेरचाह गर्न सके धेरै किसिमका रोगबाट बच्न सक्ने प्रमाणित भएको छ। स्वस्थ र शरीरलाई चाहिने भन्दा अधिक खान्की नखाने, दैनिक आठ घण्टा सुत्ने, चुरोट र मदिराबाट बिराम लिने, मानसिक तनाव व्यवस्थापन गर्ने, उमेरमै साथीसंगीको समूह निर्माण गर्ने अनि कसरत, घरायसी कामकाज अथवा करेसाबारीमै काम गरेर भए पनि शरीरलाई क्रियाशील राख्ने आदत कार्यतालिकामा राख्ने हो भने व्यक्तिले स्वस्थ जीवन व्यतीत गर्ने संभाव्यता बढ्नुका अतिरिक्त आफ्नो आयु १०–२० वर्ष तन्काउन सकिने देखिन्छ।  

प्रकाशित: २ आश्विन २०८० ००:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App