६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

आर्थिक क्षेत्र सुधारको बाटो

नेपालमा जलविद्युत्, कृषि, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा लगानीको सम्भावना उल्लेखनीय रहेको हुँदा ती क्षेत्रमा भारतलगायतका लगानीकर्तालाई आकर्षित गर्नुपर्ने बताइन्छ।भारत नेपालको ठूलो व्यापारिक र विकासे साझेदार भएकाले नेपालको जलविद्युत्, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रको साथ आवश्यक छ।

नेपालमै प्रशस्त स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग स्थापना गर्न सकिने भए पनि सरकारले त्यतातिर ध्यान दिन सकेको छैन।स्वदेशी उत्पादनलाई अनुदान दिएर आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ।जीर्ण उद्योगको संरक्षण र पुनस्र्थापन गर्दै स्वदेशी पहिचान बढाउने उद्योगलाई विशेष अनुदान दिन नीति बनाउन आवश्यक छ।

निर्यातजन्य वस्तु उत्पादनतर्फ जोड दिइ निर्यातमा आधारित वृद्धिमार्फत विकास गर्ने रणनीति अनुशरण गरिएको भए तापनि व्यापार घाटाको उच्च वृद्धि दर तथा निर्यातको सानो आधार र न्यून वृद्धि दरका कारण निर्यातमा आधारित आर्थिक वृद्धि सम्भाव्यता तत्कालका लागि कमजोर नै देखिन्छ।

सरकारी तहमा पुँजि निर्माणको कमजोर स्तरका कारण औद्योगिक क्षेत्रमा ठूलो निजी पुँजि आकर्षित गरी निर्यात बढाउन सकिने सम्भावना पनि कम रहेकाले आन्तरिक मागमा आधारित आर्थिक वृद्धि मोडेलमार्फत उच्च आर्थिक वृद्धि गर्न सकिने सम्भावना आकलन गर्न सकिन्छ।

हरेकवर्ष उत्पादन बढ्न नसक्नु, माग र आपूर्तिबीच बढ्दो असन्तुलन, उत्पादन र वितरणबीचको अन्तरविरोधले आर्थिक क्रियाकलाप सन्तोषजनक हुन सकेको देखिँदैन।साथै राजनीतिक अस्थिरता, परम्परागत उत्पादन प्रणाली, भूकम्पका असर र संविधान आएपछि पनि आपूर्ति व्यवस्थामा भएका अवरोधलगायतका कारण आर्थिक विकासको गति द्रुत गतिमा जान सकेको छैन् ।

खानीजन्य उद्योग उत्पादनमा नेपाल पछाडि छ भने उत्पादनमूलक उद्योगहरूले चीन, भारत जस्ता देशसँग उच्च प्रतिस्पर्धा गर्न परेको छ।नेपालले उद्योग क्षेत्रमा सापेक्ष फाइदा सबै क्षेत्रमा लिन सक्ने अवस्था देखिँदैन।नेपालले विश्व बजारमा प्रतिस्पर्धा गर्नु नसकेका कारण विश्व व्यापार संगठनको सदस्य राष्ट्रका हिसाबले खुला व्यापारतर्फ उन्मुख हुनुपर्दा मूल्य र गुणस्तरमा प्रतिस्पर्धाका कारण आयातित वस्तुमा अझ बढी निर्भर हुन सक्ने हुँदा उत्पादनमूलक क्षेत्रबाट भविष्यमा समेत उल्लेख्य योगदानको आशा गर्न सकिने देखिँदैन।

उद्योगलाई प्रोत्साहन गर्न विभिन्न सहुलियत, बन्द भएका उद्योग सञ्चालन आदिमा देशको स्रोत खर्च गर्नु भन्दा तुलनात्मक र प्रतिस्पर्धात्मक फाइदाका क्षेत्रहरूमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ।लगानीको प्रत्याभूति दिन सकेमा उद्योग क्षेत्रको वृद्धि दरमा केही विस्तार गर्न सकिने देखिन्छ।तर पनि उद्योग क्षेत्रको कम विस्तारका कारण नेपालको दिगो आर्थिक विकासको सम्भावना भने ज्यादै कम देखिन्छ।नेपालको आर्थिक विकासको बाधक नै परम्परागत कृषि प्रणाली रहेको देखिन्छ।विकसित आर्थिक विकासको दर्शन एक्काइसौं शताब्दीमा पनि नेपालले अंगाल्न सकेको छैन।

निर्यात बढाउन कृषि र उद्योगका उत्पादन बढाउनैपर्छ।उद्योगको उत्पादनसँगै कृषिको व्यवसायीकरण, औद्योगिक वातावरण र राजनीतिक प्रतिबद्धता भए निकासी बढ्न गई व्यापार घाटा कम हुँदै जान्छ। नेपालको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ।उत्पादनमूलक क्षेत्रको वृद्धि दर बढ्न नसक्नु र वस्तुगत आयात बढ्दै जानु नै व्यापार घाटा बढेको हो।नेपालका धेरै खपत हुने उपभोग्य कृषिजन्य वस्तुको उत्पादन कम माग भन्दा कम भएकाले व्यापार घाटा बढ्दै गएको हो।नेपालमा आयात प्रतिस्थापन हुँदै उत्पादन बढ्दैछ।

अर्थतन्त्रलाई विकसित गर्न कृषकको आर्थिक स्थितिमा सुधार गर्नैपर्दछ।विभिन्न समयमा बनेका सरकारले कृषिलाई ध्यान दिइआएका छन्।अब आउने सरकारले पनि कृषिलाई विशेष ध्यान दिनैपर्दछ।कृषकको उत्पादन सुविधामा सुधार भए एक वर्षमै कृषि उत्पादन बढाएर घाटा कम गर्न सकिन्छ।यसका लागि कृषकलाई प्रोत्साहनका साथै सिँचाइमा पनि जोड दिनुपर्छ।

कृषकलाई सरकारले अनुदानको व्यवस्था गर्न सके उत्पादनमा थप सुविधा पुग्न जाने थियो।कृषि क्षेत्रको आधुनिकीकरणबाट कृषिको उत्पादकत्व बढाउन मेसिनरी तथा उपकरणको अत्यधिक उपयोग, कृषि विशेषज्ञको प्रयोग, किसानहरूलाई उपयुक्त तालिम र कृषि सडक, सिँचाइ जस्ता पूर्वाधार विकास भएमा नेपालले केही वर्षमा आर्थिक वृद्धि गर्न सक्ने थियो।

सबैभन्दा बढी सम्भावना भएको कृषि क्षेत्रमा ठूला उद्योगीको लगानी कम छ।कृषिउन्मुख उद्योगमा लगानी कम छन्।कृषि उत्पादनमा निजी क्षेत्रको लगानी बढाउनका लागि करार खेती ऐनको आवश्यकता छ।कृषि क्षेत्रमा लगानी नभएपछि कृषिउन्मुख उद्योगमा लगानी कम हुने नै भयो।वैदेशिक लगानीमा पनि कृषिजन्य उद्योग क्षेत्र पछाडि परेको छ।

उदारीकरण नीतिले आयात कटौती गर्न नमिल्ने भए पनि नेपालले टिबिटी जस्तै प्राविधिक उपायले अत्यधिक आयात भएका विलासिताको आयात कम गर्दै लग्न सकिन्छ।सरकारले कृषिलाई प्रोत्साहन र विलासिताको वस्तुको आयातलाई व्यवस्थापन गरे केही वर्षमै व्यापार घाटा कम गर्दै लग्न सकिन्छ।

नेपालमा वैदेशिक लगानीको आकर्षण बढ्दै गएको देखिन्छ।लगानी बढ्दै गएको देखिए पनि निर्यात पर्याप्त भएको छैन्।नेपालको अर्थतन्त्र क्षेत्रीय अर्थतन्त्रको दाँजोमा खुला भएको देखिँदैन।अमेरिका–युरोप जस्ता धेरैजसो बाहिरी बजारमा सङ्कट भए पनि एशिया प्रशान्त क्षेत्रमा व्यापार र लगानीको क्रियाकलापमा भने सुधार भएको देखिन्छ।

विश्व अर्थतन्त्रमा सङ्कुचित आए पनि एसिया–प्रशान्त क्षेत्रमा लगानी सन्तोषजनक रहेको देखिएको छ।विश्वको एकतिहाइ वैदेशिक लगानी एसिया–प्यासिफिक क्षेत्रमा रहेको देखिन्छ।यस्ता क्षेत्रमा वैदेशिक लगानी बर्सेनि दश प्रतिशतले बढ्दै गएको छ।यी देशमा मुख्यतः चीन र आसियानमा प्रवाह भएको वैदेशिक लगानी सबभन्दा उच्च छ।

प्रकाशित: २९ भाद्र २०८० ००:५१ शुक्रबार

पूर्वाधार नेपालमा जलविद्युत् पर्यटन कृषि निजी क्षेत्र स्वदेशी कच्चा पदार्थ निर्यातजन्य वस्तु