१३ असार २०८१ बिहीबार
image/svg+xml
विचार

बालेन्द्र-हर्क उपद्रयाइँ

केही समययता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले तहल्का मच्चाइरहेका छन्। सामाजिक सञ्जालका यी ‘नायक’ हरूले अहिले जेसुकै गर्न सकिन्छ भन्ने भ्रम पालेका देखिन्छ। सार्वजनिक पदमा बसेका व्यक्तिले पालना गर्नुपर्ने शिष्टाचार र मर्यादा यिनले पूर्णतः भुलेका छन्।

बालेनको शनिबार साँझ सार्वजनिक गरेको अभिव्यक्तिले समाजलाई पक्ष र विपक्षमा बाँडिदिएको छ। उनले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भनेका छन्। त्योभन्दा पर पुगेर उनी भन्छन्, ‘चोर सरकार’।

पहिलो, बालेन आफैँमा सार्वजनिक पदाधिकारी हुन्। दोस्रो, यस्ता पदाधिकारीले आफू जस्तै कुनै निकायका विरुद्धमा यो तहको प्रतिक्रिया दिनै मिल्दैन। अहिले सामाजिक सञ्जालको बलमा जथाभावी बोल्ने उपक्रम सुरु भएको छ।

केही समययता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले तहल्का मच्चाइरहेका छन्। सामाजिक सञ्जालका यी ‘नायक’ हरूले अहिले जेसुकै गर्न सकिन्छ भन्ने भ्रम पालेका देखिन्छ।

बालेनको यस्तो प्रतिक्रिया उनकी पत्नी सविना काफ्ले चढेको सरकारी गाडीबारे प्रहरीले सोधपुछ गरेको भन्ने छ। सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्दा सम्बन्धित निकायको स्वीकृति आवश्यक हुन्छ। स्वीकृति लिएकै भए पनि यो मेयर पत्नीका निम्ति होइन। मेयरका निम्ति नागरिकको करबाट तलबभत्ता र सुविधा प्रदान गरिएको हो।

रह्यो प्रहरीले कुन गाडीभित्र कत्रा, कस्ता ‘व्यक्तित्व’ बसेका छन् भनेर कसरी थाहा पाउने हो? कि बाहिरै लेख्नुपर्‍यो, यस गाडीभित्र मेयर पत्नी हुनुहुन्छ। जस्तो कि कतिपय गाडीभित्र बालबालिका वा अन्य केही केही भएको संकेत सवारी साधनको बाहिरै दिइएको हुन्छ। लाग्दैछ, मुलुकमा राजतन्त्र सकिए पनि छोटे राजतन्त्रले छाडेको छैन। अहिले मेयर बालेनलाई त्यही धङधङीले च्यापेको छ।

यिनी न्यायालयदेखि अन्य कुनै पनि निकायलाई नटेर्ने, आफूलाई लागेको काम गर्ने, सार्वजनिक खपतका निम्ति पालेका ‘साइबर सेना’ बाट संरक्षित छन्। अहिले जसले ‘साइबर सेना’ पालेर सार्वजनिक गाली दिन सक्छ, उही सत्य जस्तो अनुभूति गराइएको छ। त्यस्तो हो भने कसैले पनि अन्य निकायलाई नमाने हुन्छ। सामाजिक सञ्जालकै समर्थनबाट जे पनि गर्न पाइने हो भने अन्य निकायको आवश्यकता किन पर्छ र?

सिंहदरबारमा सजिलै आगो लगाउन सक्ने तागत कसरी आइरहेको छ ? सहजै बुझ्न सकिन्छ–सहरमा डोजर लिएर जथाभावी खन्न थालेपछि ताली पिट्ने ‘पेड’ जमातबाटै यस्तो अवस्था सिर्जना भइरहेको छ

धरानका मेयर साम्पाङमा पनि यही घमण्ड चढेको छ। उनी विकासका कामबाट केही हदसम्म लोकप्रिय हुँदै गरेका हुन् तर एउटा गितार समातेर जसलाई पनि गाली गर्ने, सामाजिक सद्भाव बिथोल्न खोज्ने र मपाइँत्वमा व्यस्त हुनाले परिस्थिति प्रतिकूल हुँदै गएको छ।

बिर्सनु हुँदैन, धरानमा नेकपा (एमाले) र नेपाली कांग्रेसले पटकपटक जनमतको अपमान गरेपछि नागरिकले साम्पाङलाई जिताएका हुन्। जनमत पाएर जिते पनि सार्वजनिक शिष्टाचार, मर्यादा र नागरिक दायित्वबाट निर्वाचित पदाधिकारीले विमुख हुन मिल्दैन। सार्वजनिक माध्यमबाट यिनले प्रयोग गरेका शब्द वास्तवमा प्रयोग गर्नै हुन्न।

बालेन र हर्क अहिलेको समयका बिम्ब हुन्। यस्ता पात्र जन्मनुको मुख्य कारण अहिलेको राजनीतिक अव्यवस्था नै हो। अहिलेका प्रमुख दल कांग्रेस, एमाले, माओवादी, राप्रपा सबैको नेतृत्वको असफलताबाट बालेन र हर्क जस्ता पात्र उदाएका हुन्। अनि अहिलेको अवस्थामा यिनले जथाभावी बोल्दा समर्थन गर्नेहरू यसबेलाको अव्यवस्थाबाट सिर्जित हुन्। अन्यथा, यो परिस्थिति आउने थिएन।

हाम्रो समाज विशृंखलतातिर जान थालेको छ। यहाँ कुनै पनि बेला आक्रमणका निम्ति उक्साइन सक्ने खतरा बढेको छ। सामाजिक सञ्जाल र यसबाट पालितपोषित नेताले यसका निम्ति भूमिका खेल्न सक्ने वातावरण बन्दैछ। र, यिनले आक्रमणका निम्ति उक्साउन सक्ने खतरा दिनानुदिन बढ्दो छ। सार्वजनिक रूपमा हिंसाका निम्ति उक्साउने यो प्रवृत्तिमा रोक लगाउन नसक्ने हो भने मुलुकमा ठूलो धनजनको क्षति धेरै टाढा छैन। यो हुतु र तुत्सीका रूपमा रुवान्डामा देखिएको थियो। यस्तै प्रवृत्ति स्लोभाकिया र क्रोएसियामा क्रिस्चियन र मुस्लिमबीच भयो। भारतको मणिपुरका हिन्दु र क्रिस्चियन र अन्यत्र धेरै ठाउँमा अनुभव भइसकेको छ।

कुनै एउटा व्यक्तिले सिंहदबारमा आगो लगाउने ध्वाँस दिँदा सरकारको भूमिका के हुन्छ? के यस्तो अवस्थामा कारबाही पनि हुन्छ? सिंहदरबारमा सजिलै आगो लगाउन सक्ने यस्तो तागत कसरी आइरहेको छ? सहरमा डोजर लिएर जथाभावी खन्न थालेपछि ताली पिट्ने ‘पेड’ जमातबाटै यो अवस्था सिर्जना भइरहेको छ। त्यसमाथि संघीय सरकार अवाक बनेर उभिएको छ।

देशभरिबाट संघीय राजधानी काठमाडौँमा शिक्षा, स्वास्थ्य र अन्य सुविधाका निम्ति सर्वसाधारण आउँछन्। यो सहर हुनेखानेको मात्र होइन हुँदा खानेको पनि त्यत्तिकै हो। सडक पेटीमा धेरथोर व्यापार गरेर पनि एकथरीले जीविका गर्दै आएका हुन्। यो सहरकै बासिन्दा जो किनमेल गर्न ठूला स्टोरमा पस्ने सामथ्र्य नभएका कारण सडक नै तिनको खरिदबिक्री केन्द्र पनि हो। बालेनको अभियानले धेरैलाई सहरबाट गाउँ फर्काएको छ। र, यसले कालान्तरमा अर्थतन्त्रमा पर्ने प्रभाव देखिने नै छ। बिस्तारै राजधानी काठमाडौँका घर खाली मात्र हुने छैनन्, यहाँका बासिन्दाले पनि आर्थिकरूपमा कमजोर मानिस लखेट्दाको दुष्परिणाम भोग्ने छन्।

हामीले हिजो दरबारको जग्जगी देख्यौँ। त्यो अवस्था अहिले धेरैको विस्मृतिमा गइसकेको छ। अझ अहिलेको सामाजिक सञ्जालमा मात्र रमाउने पुस्ताका निम्ति हिजो कस्तो अवस्थामा यो मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र बनेको हो भन्ने सम्झनामा छैन। नयाँ पुस्ताका निम्ति पुराना पुस्ताले भोगेको दुःखको पनि कुनै अर्थ हुँदैन। त्यही भएर अहिले कतिपयले बुझ्दै नबुझी ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएको देखिन्छ। राजा आएर देश बन्ने भए उहिल्यै बनिसक्ने थियो।

यतिबेला कतिपयमा नेपाल बनाउने भनेको बालेन, हर्क वा यस्तै नयाँ केही नेताको उट्पट्याङले हो भन्ने देखिन्छ। यसले देश बन्ने होइन, बरु थप बिग्रने निश्चित छ। अशान्ति र कलहको बिउ रोपिने जोखिम छ। आज सामाजिक सञ्जालमा एकैछिन बस्न नसक्ने अवस्था केले बनाउँदैछ? आज हाम्रो समाजको शिष्टाचार केले छिन्दैछ? यो सबै बुझिएकै पक्ष हो।

हाम्रो समाज विशृंखलतातिर जान थालेको छ। यहाँ कुनै पनि बेला आक्रमणका निम्ति उक्साइन सक्ने खतरा बढेको छ। सामाजिक सञ्जाल र यसबाट पालितपोषित नेताले यसका निम्ति भूमिका खेल्न सक्ने वातावरण बन्दैछ।

अहिले मुलुकमा देखिन थालेको अराजकतामा सुधार ल्याउने भनेको पुराना दलहरूले सच्चिएर पनि हो। उनीहरूले आफूलाई सच्याउँदै अघि बढ्ने स्थिति देखिएको छैन। त्यसैकारण आक्रोशित व्यक्तिहरूबाट बालेन–हर्क जस्ता उट्पट्याङ पात्रबाट नेपाल बन्छ भन्ने भाष्य सिर्जना गरिँदैछ। तर, देश यिनीबाट पनि बन्दैन, ठोकुवा गरे हुन्छ।

महानगरपालिकाको मेयर भनेको राज्यमन्त्रीसरहको पद हो। यस्तो व्यक्तिले समेत मुलुकको मुख्यालय आगो लगाउँछु भनेर धमास दिनेमा जिम्मेवारीवोध कति छ भन्ने प्रष्ट हुन्छ। हर्कले धरानमा हालै सिर्जना गरेको द्वन्द्वको अवस्थाले पनि यो मुलुकको शान्ति र अमनचयन धेरै टाढाको विषय होइन भन्ने प्रष्ट पारेकै छ। सामाजिक सञ्जालमा उल्टोपाल्टो लेखेर उद्वेलित तुल्याउँदैमा समस्याको समाधान निस्किँदैन। बरु कुनै पनि बेला हिंसा भड्काएर वर्तमान राजनीतिक व्यवस्थालाई उल्ट्याउने तयारी भइरहेको त  छैन? सबै सेचत हुनुपर्ने देखिन्छ।  

प्रकाशित: १८ भाद्र २०८० ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App