४ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

हस्तकला उद्योग र विकास

नेपाल विविध हस्तकला र सिपले भरिपूर्ण मूलुक हो। यहाँका विभिन्न जातजातिको आफ्नै परम्परागत कला छन्। विविध मौलिक कला र सिपको उचित व्यवस्थापन नहुँदा नेपालको अर्थतन्त्रमा अपेक्षित लाभ मिल्न सकेको छैन। हस्तकला सामग्रीका विषयमा विकसित राष्ट्र र विकासोन्मुख देशबीच बुझ्ने शैलीमा फरक छ। नेपालमा  हस्तकला भन्नेबित्तिकै सीमित स्रोत र साधन, दक्ष कालिगढले पारिवारिक जनशक्तिका भरमा पुर्खाको पेशालाई निरन्तरता दिने सिप भन्ने बुझिन्छ।

विकसित राष्ट्रले भने हस्तकला सामग्रीलाई औद्योगिकीकरणमा परिणत गरिसकेका छन् र यसको बुझाइ र उत्पादन प्रक्रियामा परिमार्जन गरिसकेका छन्। जसमा थोरै मात्रामा हातको प्रयोग गरी धेरै मात्रमा आधुनिक औजार तथा मेसिनको प्रयोग गरी उत्पादन गरिएका सामग्री हुन्छन्। यसरी उत्पादित  सामग्री विश्वबजारमा प्रतिस्पर्धालायक बनेका छन्। नेपाल भने पूर्णरूपमा हातकै भरमा सीमित छ। नेपालमा हस्तकलाका सिपहरू करिव ३० प्रकारका छन्।  धातुका गरगहना निर्माण गर्नु, बाँसका सामग्री, मूर्तिकला, पोस्टरकला, चित्रकला, सेरामिक, हातेकागज, वेतवास, थान्का, रेशाजन्य कपडालगायतका हस्तकलाका सामग्री नेपालमा उत्पादन हुने गर्छन्। नेपालमा हस्तकला क्षेत्रमा करिव ११ लाख कालीगढ प्रत्यक्ष लागिरहेका छन्। यो क्षेत्रबाट उनीहरूको परिवारको आर्थिक गुजारा चलिरहेको छ।

हस्तकला वार्षिक १० अर्बभन्दा बढी निर्यात भइरहेको र ११ लाख युवालाई प्रत्यक्ष रोजगार दिने नेपालको महŒवपूर्ण क्षेत्र हो। नेपालमा उत्पादित हस्तकलाका सामग्रीको विश्वबजारमा आकर्षण बढ्ने क्रममा छ। हाम्रो छिमेकी देश भारत, चीनलगायत जापान, युरोप, अमेरिका, ल्याटिन अमेरिकालगायत विभिन्न देशमा नेपाली हस्तकलाका वस्तुको माग बढ्दो छ।

तैपनि देशले हस्तकलाका कालिगढलाई देशभित्रै उचित अवसर दिन नसक्दा दिनानुदिन दक्ष कालिगढ विदेश पलायन हुँदै गएका छन्। हस्तकला क्षेत्रमा काम गर्ने कालीगढ ५० प्रतिशतभन्दा बढी नेपाली समाजमा आर्थिक तथा समाजिक रूपमा पछि परेको दलित समुदायका छन् । बाँकी  अन्य वर्गका कालिगढ छन्। आधा हिस्सा ओगटेको यो समुदायका कालिगढ पनि पछिल्लो समय  विदेशिने क्रम तीव्ररूपमा बढेको छ।

दलित समुदायका कालिगढले सुन, चाँदीलगायतका धातुको गरगहना निर्माण गर्छन् आधुनिक र परम्परागत डिजाइनका। पौराणिक डिजाइनका गहना विशेष चाडपर्वमा लगाइन्छ भने आधुनिक डिजाइनका गहना सुन्दरताका लागि प्रयोग हुन्छ। चाँदीका आधुनिक गहना विभिन्न देशमा निर्यात हुन्छ। ती देशबाट नेपालमा निर्मित यस्ता गहनाको माग बढ्दो छ। यी गहनाको विश्व बजार व्यवस्थापन गर्न सके अर्थतन्त्रमा टेवा मिल्नेछ। यो समुदायका कालिगढ पनि पछिल्लो समय विदेशिने क्रम जारी छ।

नेपाली वस्तुहरू प्रयोगमा ल्याउनका लागि हामी नेपाली नै जागरुक भई आफ्नै उत्पादनलाई उपभोग गर्ने चलन चलाउनुपर्छ। यसो गर्दा आयातीत वस्तु घट्छ, आफ्नो देशमा उत्पादित हस्तकलाका सामानमा मोह बस्छ जुन हामी सबैका लागि राम्रो हुन्छ। देश र जनताका लागि र हामी सबैले बुझ्न जरुरी कुरा के छ भने नेपाली सामान विश्वका शिक्षित र सक्षम मानिसले प्रयोग गर्छन् भने हाम्रो देशमा उत्पादन गरेको नेपालीपन, नेपाली कला, नेपाली माया मिसिएको सामान किन प्रयोग नगर्ने? नेपालका सिर्जना र कला विश्वका कुनै कला र सिर्जनाभन्दा कमी छैन, उत्कृष्ट छन्। नेपालीका उत्पादन अरुको भन्दा किफायती पनि छ। अब के चाहियो? मात्र हाम्रो सोचाइमा परिवर्तनको खाँचो छ।

यो सबै कुराको तालमेल मिलाएको खण्डमा नेपाली हस्तकला र नेपाली उत्पादन राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धा र निर्यात हुनेछ। विदेशमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहीनीमा पनि यस किसिमको भावना आवश्यक छ। यसो भएको खण्डमा सीमित स्रोत र साधन भर्ने ठाउँमा असिम स्रोत र साधन प्रयोग गरी देशको मेरुदण्डका रूपमा यो उद्योग स्थापित हुनेछ।

प्रकाशित: ५ भाद्र २०७४ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App