पाँच वर्षअघि ललितपुर ग्वार्कोका रादीप महर्जन र उनका साझेदारले चीनिया, इटालियन र अमेरिकी कम्पनीबाट सञ्चारमाध्यमका विभिन्न उपकरण आयात गरेर नेपालम बेच्ने निर्णय गरे। त्यसपछि कागजपत्र मिलाउन, मन्त्रालय तथा विभागबाट सामान आयात अनुमति लिन, भन्सारबाट सामान छुटाउन र विदेशी कम्पनीलाई पैसा पठाउने कागजात, प्रक्रिया र व्यवस्थापन निश्चित गर्न बिचौलिया व्यक्ति तोकेर जिम्मेवारी दिनुपर्ने अवस्था आयो।
काठमाडौं कलंकीका पुष्प रूपाखेतीको परिवारका तीन सदस्य अमेरिका बस्छन् । वर्षको झण्डै ६ महिना अमेरिका र ६ महिना नेपाल बस्ने उनका कलंकीसहित देशका विभिन्न ६ ठाउँमा हार्डवेयर पसल छन् । रूपाखेतीले नेपालबाट अमेरिकामा बेच्न सकिने सामान र अमेरिकाबाट नेपालमा बेच्न सकिने समान के के हुनसक्छन् भनेर निक्र्यौल गरिसके । अहिले उनले अमेरिका र नेपालमा आयात निर्यात व्यापार थाल्न महर्जनले जस्तो सरकारी कर्मचारी र प्रक्रियामा सेटिङ मिलाउन विचौलिया राख्नुपर्दैन । व्यापारको सूचना तथा प्रक्रिया मिलाउन लाखौँ रकम खुवाउनु पनि पर्दैन ।
व्यापार तथा निकासी प्रवर्धन केन्द्रले ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’ सञ्चालनमा ल्याएपछि अब स्वदेश तथा विदेशमा रहेका व्यापारी र सर्वसाधारण सबैले एउटै वेबसाइटमा नेपालबाट गरिने आयात निर्यातबारे सम्पूर्ण सूचना पाउँछन् । पोर्टलमा आयात निर्यातबारेका १० प्रकारका सूचना छन् । नेपालमा निकासी र पैठारीका लागि सरकाले लागु गरेका नीति, नियम र कानुन, नियम÷कानुनले तोकेका वैदेशिक व्यापार गर्दा पूरा गर्नुपर्ने प्रावधान र प्रावधान पूरा गर्ने प्रक्रियाबारेका सूचना पोर्टलमा उपलब्ध छन् ।
आयात निर्यात व्यापार गर्ने प्रक्रियाअन्तर्गत आवश्यक पर्ने फाराम, फाराम भरेर बुझाउने वा वैदेशिक व्यापारमा सरोकार राख्ने संस्थाहरूको विवरण, नेपालको भन्सार दर, आयात÷निर्यातकर्तासँग हुनुपर्ने कागजात, जलपारबहन वा सिप्मेन्ट प्रक्रियाको सम्पूर्ण विवरण घर बसी–बसी पढ्न सकिने व्यवस्था पोर्टलमा छ । साथै, आवश्यक जानकारीका लागि अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी लिङ्क र अन्तर्राष्ट्रिय व्यापारमा नेपालको प्रगति तथा अन्य जानकारी पनि पोर्टलमा उपलब्ध छ । पोर्टलले अन्तर्राष्ट्रिय व्यापार गर्दा के÷कस्तो प्रक्रिया पूरा गर्नुपर्छ भनेर आवश्यक पूर्वतयारीका लागि सम्पूर्ण सूचना एकै ठाउँबाट उपलब्ध गराइरहेको छ ।
सूचना सहजीकरणले सुशासन र पारदर्शिता
नेपाल ट्रेड इन्फर्मेसन पोर्टलमार्फत् वैदेशिक व्यापारका सम्पूर्ण सूचना सार्वजनिक भएपछि सुशासन र पारदर्शिता प्रवर्धन भएको छ । व्यापार गर्न चाहने व्यक्तिले अपनाउनुपर्ने प्रक्रियादेखि भर्नुपर्ने फारामसम्म वेबसाइटमै उपलब्ध छ । वेभसाइटमा जानेबित्तिकै एकै क्लिकमा आयात र निर्यात गर्ने सम्पूर्ण प्रक्रिया पढ्न पाइन्छ । विदेशमा सामान निर्यात गर्नका लागि व्यापारिक कम्पनी दर्ता गर्नेदेखि क्वारेन्टाइन प्रमाणपत्र लिनेसम्मका १४ चरणका प्रक्रियामात्रै होइन भारत, बंगलादेशमा निर्यातका सम्पूर्ण विवरण लेखिएको छ । जलमार्ग हुँदै भारत वा बंगलादेशमार्फत तेस्रो देश सामान निर्यातको प्रक्रिया र हवाई मार्गबाट सामान निर्यात गर्ने प्रक्रियाका विषयमा पनि वेबसाइटमा उपलब्ध छ । यसरी हेर्दा यो सूचनाले व्यापारमा सहजीकरणमात्र हैन, पारदर्शितालाई पनि सघाएको देखिन्छ ।
विश्व व्यापार संगठनसँगको सम्झौता
विश्व व्यापार संगठनले सीमापार व्यापारलाई सरलीकरण र आधुनिकीकरण गर्न तथा प्रक्रियाहरूमा एकरुपता ल्याउन सन् २०१३ मा इन्डोनेसियाको बालीमा सम्पन्न वाणिज्य मन्त्रीहरूको बैठकले व्यापार सहजीकरण सम्झौता पारित गरेको थियो । सन् २०१७ सम्म आइपुग्दा यो सम्झौतामा विश्वव्यापार संगठनका दुई तिहाई सदस्य राष्ट्रले हस्ताक्षर गरिसकेका छन् र यो बलपूर्वक भए पनि लागु भइसकेको छ। त्यसअघि सन् २००१ को दोहा बैठकमै संगठनले गरिब तथा विकासोन्मुख देशको हितमा विश्व व्यापार स्तरोन्नतिका लागि सम्झौता प्रस्ताव गरे पनि त्यसमा सदस्य राष्ट्रहरू सहमत हुन झण्डै १३ वर्ष लागेको छ ।
सम्झौतामा विश्व व्यापार सहजीकरणका लागि आवश्यक सडक र रेल विस्तारदेखि भन्सार विन्दुमा एक्सरे, आवश्यक गोदाम, चुस्तदुरस्त क्वारेन्टाइन जाँचपासलगायत विषय छन् । सम्झौताअनुसार हरेक देशले सीमापार व्यापारलाई सरलीकरण र आधुनिकीकरण गर्दै जानुपर्छ । त्यसका लागि नेपाल सरकारले विश्व बैंकसँग मिलेर नेपालको वैदेशिक व्यापार प्रक्रियालाई आधुनिकीकरण गरिरहेको हो । त्यसअन्तर्गत अहिले सूचना पोर्टल सञ्चालनमा आइसकेको छ भने अनलाइनमार्फत वैदेशिक व्यापारका सम्पूर्ण काम गर्न सकिने गरी सफ्टवेयर विकासको काम पनि दु्रत गतिमा भइरहेको देखिन्छ ।
अनलाइनकरणका फाइदा
सन् २०१३ को बाली बैठकमा विश्व व्यापार संगठनले व्यापार सहजीकरण सम्झौता लागु गर्न सकेमा विश्व अर्थतन्त्रमा १० खर्ब डलर बराबरको फाइदा हुने हिसाव प्रस्तुत गरेको थियो । हुन पनि यो सम्झौताअनुसार विश्वको सीमापार व्यापार प्रक्रियाको स्तरोन्नति हुनसके व्यापारका लागि अनावश्यक पैसा र समय लगानी कम हुन जान्छ । नेपालको सन्दर्भमा त भन्सार, राष्ट्र बैंक, विभाग र मन्त्रालय धाउनुपर्ने, फाराम हातले भर्नुपर्ने, लेखनदास राख्नुपर्ने वा आफ्ना विचौलिया प्रतिनिधि राखेर काम गराउनुपर्ने अहिलेको परिपाटी अन्त्य हुनेछ । सरकारी कर्मचारीसँग आयात÷निर्यातकर्ताले गुनासो गर्नु पनि पर्ने छैन । किनकि वैदेशिक व्यापारको सम्पूर्ण काम सफ्टवेयरमार्फत हुनेछ र आयात÷निर्यातका सम्पूर्ण प्रक्रिया अनलाइनमा अद्यावधिक भइरहने छन् ।
कुनैसमय तिब्बत र हिन्दुस्तानसँगको व्यापारको ट्रान्जिट रहेको नेपालले आफ्ना मुद्रा तिब्बतमा समेत चलाउँथ्यो। तिब्बती र भारतीय व्यापारीले नेपालको बाटो भएर व्यापार विनिमय गर्थे। झण्डै ४० वर्षअघिसम्म त नेपाल सरकारले धान÷चामल निर्यात कम्पनी नै खोलेर आयातभन्दा निर्यात धेरै गथ्र्यो। यसबीचमा, नेपालले विश्व व्यापार संगठनको सदस्यताको पहल गरेको १९ वर्ष भयो। नेपालले २०६१ सालमा विश्व व्यापार संगठनको सदस्यता पनि पायो तर अहिलेसम्म नेपालको वैदेशिक व्यापारमा आधुनिकीकरण हुन सकिरहेको थिएन। पछिल्लो पटक नेपाल ट्रेड इन्फर्मेसन पोर्टल खुलेपछि नेपालको वैदेशिक व्यापार प्रक्रियामा आधुनिकीकरणको सुरुवात भएको छ।
प्रकाशित: १८ श्रावण २०७४ ०२:४० बुधबार