७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

सम्झनामा हिरोसिमा-नागासाकी नरसंहार

६ र ९ अगस्ट सृष्टिकै सबैभन्दा त्रासदीपूर्ण दिन हुन्। ६ अगस्ट सन् १९४५ को दिन बिहान ८.१५ बजे ‘इनोला गे’ नामक अमेरिकी बि-२९ बमवर्षक विमानले हिरोसिमाको केन्द्र सहरमा पहिलो परमाणु बम ‘लिटिल ब्वाइ’ खसालेको थियो। बिष्फोटसँगै आगोको गोला उत्पन्न भयो जसले वायुमण्डलको तापमान ४००० डिग्री सेल्सियस बढायो। साथमा त्यो धरती आवाजभन्दा तीव्र गतिको तरंगमा डग्मगायो।

बिष्फोटपछि रेडियोधर्मीयुक्त कालो रंगको वर्षा भयो र ती कण ठूलो मात्रामा हावामा फैलियो। यो प्रलयसँंगै ६६,००० मानिस तुरुन्तै मरे। युएस-जापानिज रेडिएसन इफेक्ट्स रिसर्च फाउन्डेसनले पहिलो चार महिनामा करीब १,६६,००० जनाको मृत्यु भएको भनेको थियो। हिरोसिमामा आणविक बम परीक्षणकोे तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा दोस्रो परमाणु बम खसालियो। यसको नामचाहिँ “फ्याट म्यान” राखिएको थियो र यो मोटे बमको तौल १० हजार पाउन्ड, गोलाइ ५ फिट व्यासको थियो।

लगालग दुई घना मानव बस्तीमा गरिएका यो संहार हेर्दा यो कदम आवेगमा हैन, योजनाबद्धरूपमा गरेको देखिन्छ। यो बिष्फोट त्यतिबेला गरिएको थियो जतिखेर छ वर्षको दोस्रो विश्वयुद्धपछि बर्लिनमा भर्खर जर्मन आत्मसमर्पण सन्धि भएको थियो र लामो युद्ध र त्रासदीपछि युरोप शान्तिको स्वास फेर्न सुरु गर्दै थियो। यो बम त्यतिबेला खसालिएको थियो जब युरोपको दिग्विजयपछि सोभियत संघ भर्खर सैन्यवादी जापानविरुद्धको युद्धमा प्रवेश गरेको थियो र जापानी क्वान्टुङ सेनालाई पराजित गर्दै मन्चुरिया, उत्तर कोरिया, दक्षिण साखालिन र कुरिललाई मुक्त गर्दै थियो।

६ र ९ अगस्ट सृष्टिकै सबैभन्दा त्रासदीपूर्ण दिन हुन्। ६ अगस्ट सन् १९४५ को दिन बिहान ८.१५ बजे ‘इनोला गे’ नामक अमेरिकी बि-२९ बमवर्षक विमानले हिरोसिमाको केन्द्र सहरमा पहिलो परमाणु बम ‘लिटिल ब्वाइ’ खसालेको थियो।

दोस्रो विश्वयुद्धको “हिटलर विरोधी गठबन्धन सहयात्री” मध्ये एकको यो कदमबाट तत्कालीन सोभियत संघ अचम्मित भयो। उसका अनुसार यो बिष्फोट गर्नेहरूसँग कुनै सैन्य लक्ष्य थिएनन्, बरु यो केवल आतंकवाद थियो र सहयात्री सोभियत संघलाई तर्साउने धम्की थियो। ऊ भन्छ-यो युद्ध थिएन, बारबारिज्म थियो, समग्रमा गठबन्धन सहयात्री अमेरिका र बेलायतबाट युद्धको अन्त्यतिर जर्मनीको ड्रेस्डेनमा गरिएको बर्बर बमबारी र उत्पातको निरन्तरता मात्र थियो।

आखिर के हो यो ड्रेस्डेन विध्वंश?

सन् १९३९ को सेप्टेम्बरमा पोल्यान्ड हमलाबाट सुरु भएको दोस्रो विश्वयुद्धमा जर्मनीले ६ घण्टामा डेनमार्क, १ दिनमा लक्जेम्वर्ग, ५ दिनमा हल्यान्ड, ११ दिनमा युगोस्लोभिया, डेढ महिनामा फ्रान्स, २४ दिनमा ग्रिस, १८ दिनमा बेल्जियम, २८ दिनमा पोल्यान्ड र २ महिनामा नर्वे कब्जा गरेको थियो।

यसरी पूरा युरोप हडप्दै अघि बढिरहेको नाजी जर्मनले सन् १९४१ को जुन २२ को बिहान चार बजे सोभियत संघमा हमला गर्‍यो। सहर, गाउँ, बस्ती ध्वंश गर्दै नाजीहरू मस्को नजिकसम्म आइपुगे र ऐलान गरे-यसपटकको अक्टोबरमा रुसीहरू हैन, रेड स्क्वाएरमा हामी परेड खेल्नेछौँ।

१२ जुलाइ, १९४१ मा सोभियत–ब्रिटिसबीच जर्मनीविरुद्धको युद्धमा संयुक्तरूपमा लाग्ने सम्झौता भयो। पर्ल हार्बरको अमेरिकी नौसैनिक बेसमा जापानी आक्रमणपछि अमेरिका पनि दोस्रो विश्वयुद्धमा तानियो। यो विषम स्थितिमा मइ १९४२ मा सोभियत संघले गठबन्धन सहयोगी राष्ट्र बेलायत र अमेरिकालाई युरोपमा हिटलरविरुद्ध दोस्रो मोर्चा “पश्चिमी फ्रन्ट” खोलिदिन आग्रह गरेको थियो। तर इंगयान्ड र संयुक्त राज्य अमेरिकाले उक्त समय “पश्चिमी फ्रन्ट” को निम्ति अनुपयुक्त रहेको भन्दै उत्तर अफ्रिकाबाट जर्मन र इटालीविरुद्ध लडाइँको मोर्चा खोल्नुलाई आफ्नो प्राथमिकता बनाए र रुसी आग्रहप्रति बेवास्ता देखाए।

जब सोभियत सेनाले ‘मस्को रक्षाको लडाइँ’ र विश्वविख्यात “स्टालिनग्राड प्रतिरोध युद्ध” मा रणनीतिमा सफलता हासिल गर्न थाले तब बेलायत र अमेरिका गठबन्धनले पनि सहयोगको हात बढाउने चासो देखाउन आवश्यक ठाने। दुई करोड सत्तरी लाख वीरहरूको महान् उत्सर्ग र बलिदानले जब सोभियत संघ मुक्त भयो, सोभियत लालसेनाले नाजीहरूलाई लखेट्दै बर्लिनपारि कटाए र युरोपलाई ग्याँस च्याम्बर र यातना शिविरबाट मुक्त गरे। सोभियतहरूको यो सौर्य, शालीनता र दिग्विजय देखेर पश्चिम मोर्चामा सामेल भएका हिटलर विरोधी गठबन्धन सहयात्री बेलायतले ड्रेस्डेनमा विध्वंश मच्चाएर आफ्नो वीरता प्रदर्शन गरे।

१२ जुलाइ, १९४१ मा सोभियत-ब्रिटिसबीच जर्मनीविरुद्धको युद्धमा संयुक्तरूपमा लाग्ने सम्झौता भयो। पर्ल हार्बरको अमेरिकी नौसैनिक बेसमा जापानी आक्रमणपछि अमेरिका पनि दोस्रो विश्वयुद्धमा तानियो।

धेरै इतिहासकारका अनुसार, ड्रेसडेन र सोभियत प्रभाव क्षेत्रका अन्य जर्मनी सहरहरूमा बमबारी सोभियत सेनालाई मद्दत गर्न होइन, बल्की विशेषरूपमा राजनीतिक लक्ष्यअनुरूप सोभियत नेतृत्वलाई तर्साउनका लागि गरिएको सैन्य शक्तिको प्रदर्शन थियो। र यो हिरोशिमा नागाशाकीको कलङ्कित विध्वंश पनि त्यही ड्रेसडेन धमासको निरन्तरता मात्र हो।

गत वर्ष वार्षिकोत्सवको अवसरमा दिएको सन्देशमा संयुक्त राष्ट्र संघका महासचिव गुटेर्रेसले हिरोसिमामा भएको आणविक बम हमलाबाट १ लाख ४० हजार मानिसको ज्यान गएकोमा कुनै देशलाई जिम्मेवार ठानेनन् र केवल विश्वलाई आणविक हतियारबाट मुक्त गर्नुपर्छ मात्र भने।

हिरोसिमामा भएको समारोहमा जापानी राजनीतिज्ञले पनि कुनै देशको नाम लिएनन्। बरु जापानी प्रधानमन्त्री किशिदाले आफ्नो भाषणमा रुसको नाम उल्लेख गरे। साँचोरूपमा भन्नुपर्दा हामी इतिहासप्रति तटस्थ रहनुपर्छ र न त्यसबाट पाठ लिन सकिन्छ।

विश्वमा सबै शान्ति चाहन्छन्, सबै आनन्द चाहन्छन्। तर पनि किन युद्ध हुन्छ, अशान्ति मच्चिन्छ? शान्ति नचाहने यो विश्वजगत्मा को पो होला र? तथापि हाम्रै आँखाअगाडि इराक युद्धमा जल्यो, अफगानिस्तान भड्किरहेछ र आज विश्व युक्रेन द्वन्द्वसँगै पीडित छ।

गत वर्ष वार्षिकोत्सवको अवसरमा दिएको सन्देशमा संयुक्त राष्ट्र संघका महासचिव गुटेर्रेसले हिरोसिमामा भएको आणविक बम हमलाबाट १ लाख ४० हजार मानिसको ज्यान गएकोमा कुनै देशलाई जिम्मेवार ठानेनन् र केवल विश्वलाई आणविक हतियारबाट मुक्त गर्नुपर्छ मात्र भने।

रुस र युक्रेन इतिहासको आदिकालदेखिका दाजुभाइ, करिब एक शताब्दी एउटै लक्ष्य र सिद्धान्त बोकेर एउटै सोभियत देश निर्माणमा जुटेका सहयात्रीहरू, काँधमा काँध मिलाउँदै एउटै ट्रेन्चबाट नाजी फासिष्टविरुद्ध लडेका सहयोद्धा एकापसका दुश्मनमा परिणत भए। समयक्रममा त्यो नाटो, जसको विरुद्ध उनीहरूले वार्सा सैनिक संगठन खोलेका थिए, युक्रेनलाई त्यही नाटोको सदस्यता लिन मोह जाग्यो। र, यो युद्ध पनि डेढ वर्ष नाघ्यो र पनि टुंगिने कुनै छनक देखिँदैन।

(‘मेरा सोभियत सम्झनाहरू’ का लेखक)

प्रकाशित: २५ श्रावण २०८० ००:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App