शिक्षण संस्था विशेषगरी विश्वविद्यालयमा पदाधिकारीहरूको पार्टीगत कोटाका आधारमा गरिने नियुक्तिले शिक्षक तथा प्राध्यापकहरूले कुनै न कुनै राजनीतिक दल समात्नुपर्ने बाध्यता खडा गरेको छ। राजनीतिबाट टाढा बस्नुपर्ने तथा तटस्थ निर्णय गर्नुपर्ने, देशको काल परिस्थिति तथा आवश्यकतालाई ध्यानमा राखेर आउँदो पुस्ता तयार गर्नुपर्ने जिम्मेवारी लिएका शिक्षक र प्राध्यापक राजनीतिक दलको ठेकेदारका रूपमा देखिएका छन् । विशेषगरी उच्च शिक्षा त्यसमा पनि प्राविधिक शिक्षालय तथा विश्वविद्यालयमा जहिलेदेखि राजनीतिक भागबन्डा सुरु भयो त्यसबेलादेखि शिक्षण संस्थाको अवस्था धरापमा पुगेको छ । बुद्धिजीवी समाज सिर्जना गर्ने दायित्व बोकेको विश्वविद्यालय पार्टीको कार्यकर्ता तयार गर्न तल्लीन भएको देख्न सकिन्छ।
यसको मुख्य कारण विश्वविद्यालयलाई तटस्थरूपमा अगाडि बढाउनका लागि असल, योग्य तथा दीर्घकालीन दृष्टि भएको नेतृत्व चयन नहुनु हो । विश्वविद्यालयमा पदासीन व्यक्तिहरूले आफ्ना योजना तथा दृष्टि प्रस्तुत नगरी कुनै राजनीतिक दलको आडमा चाकरीबाज गरी पाएको पद जोगाउनका लागि पनि नीतिगत र प्राविधिकरूपले गलत कदम तथा निर्णय लिइरहेका देखिन्छ । यस्तो प्रणालीबाट हुर्किएका युवा पुस्तालाई आफ्नो योग्यताले अगाडि बढ्न सकिँदैन, कसैको आशीर्वाद पाए मात्र माथि जान सकिन्छ भन्ने कुरा व्यवहारले जानेर वा नजानेर विद्यार्थीलाई विश्वविद्यालयले सिकाउँदै आएको छ।
विद्यार्थी भर्ना, विद्यार्थीको चुनाव तथा अधिवेशनका बेला सरकारी क्याम्पसहरूमा राजनीतिक दलहरूले अनेक प्रलोभन देखाइ विद्यार्थीलाई गलत आश्वासन दिइ पार्टीमा प्रवेश गराइरहेको सहजै देख्न सकिन्छ । सिद्धान्तको जानकारीविना विभिन्न पार्टीमा युवा पुस्ता विशेषगरी विद्यार्थी परिचालन गर्नु देशलाई ठूलो दुर्घटनातर्फ लैजानु हो । कुनै सिद्धान्तबिना सुरु भएको विद्यार्थी राजनीतिदेखि उच्च पदसम्म पुग्दा सिकाइएका गलत प्रवृति आज देशका लागि गलत सावित भएको छ । कुनै पनि ऐन, कानुन, नीति, नियम, उपनियम, निर्देशिका, योजना तथा कार्यक्रम बनाउँदा व्यक्ति वा पार्टीलाई केन्द्रमा राखी थुप्रै निर्णयहरू राजनीतिक दलले लिँदै आएका छन्।
यसरी देशका लागि निर्णय लिँदा फेरि पनि अराजकतामा पोख्त, सिद्धान्तबिहीन राजनीति गर्ने सम्बन्धित विषयमा दख्खल नभएको, विद्यार्थीकालमा कहिल्यै शिक्षामा ध्यान नदिएका, दल र बलको धम्कीले उत्तिर्ण भएका व्यक्तिहरूले विज्ञ परामर्शदाताको रूपमा काम पाउँदै आएका छन् । त्यसैले त देशमा दीर्घकालीन फाइदा पुग्ने भन्दा पनि आफूलाई सो काम सुम्पेको दल तथा व्यक्तिहरूको तत्कालीन फाइदाका लागि योजना बन्दै आएको छ । यसले प्राविधिकरूपमा प्रष्ट, विषयमा दख्ख्ल राख्ने, देशको हितका लागि योजना बुन्न सक्ने क्षमतावान व्यक्तिहरू आफ्नो क्षमता पूर्णरूपमा प्रस्तुत गर्न नसकेकै कारण तथा अवसरहरूबाट वञ्चित हुँदा निरुत्साहित भई देश तथा कर्मथलो छाड्न बाध्य भएका छन्।
आजभोलि विश्वविद्यालय तथा विभिन्न शिक्षण संस्थामा आफ्नो शिक्षण पेसा तथा पदको मान राख्न नसक्ने, दल र बलको पछाडि सधैँ लागेर कर्मशील शिक्षक तथा प्राध्यापकलाई पद र शक्तिको आडमा निरुत्साहित गरी असहज परिस्थिति सिर्जना गर्ने प्राध्यापक भन्दा बढी दलका व्यक्ति हावी भएपछि विश्वविद्यालय राजनीतिक थलोका रूपमा परिचित हु“दै आएको छ । यस्ता अराजक व्यक्ति हावी भएको शिक्षण संस्थामा पढाउने, अनुशासन सिकाउने, अनुसन्धान गराउने, पढेको कुरा प्रयोग गरी केही गर्न उत्प्रेरित गर्नुको साटो विभिन्न भ्रम फैलाएर विद्यार्थीबीच फाटो ल्याउने, शिक्षकबीच वैमनश्यता पैदा गराइ पठनपाठनमा अवरोध गराएर निहीत स्वार्थ पूरा गर्ने तथा राजनीतिक दलको भर्तीकेन्द्र बनाउने काम झन चर्किएको उदाहरणहरू धेरै देख्न सकिन्छ । यस्ता कामले विद्यार्थीलाई ‘मेहनत गर्ने, परिश्रम गर्ने, सिक्ने तथा विषयमा दक्षता हासिल गर्ने’ जिम्मेवारीबाट टाढा पु¥याएको छ।
विद्यार्थीहरूको मूल उद्देश्य ‘सिक्नु’ भन्दा पनि कागजको खोस्टा सर्टिफिकेट लिनु र त्यही सर्टिफिकेट देखाएर विदेश जानु वा दलको पछाडि लागेर मुख्य पदमा पुग्नु रहेको छ । यसरी दलको विशेष हस्तक्षेप रहेको सरकारी क्याम्पसका विद्यार्थीलाई पढेर के गर्छौ भन्ने प्रश्न गर्दा अधिकांश विद्यार्थी विदेशमै भाँडा माझेर भए पनि उतै बस्छौँ भन्छन् । यसरी देशले उच्च शिक्षामा गरेको लगानीले आफ्नो देशमा चाहिने जनशक्ति तयार गर्ने भन्दा पनि विदेशका लागि कनिकुथी अंग्रेजी बोल्ने कामदार तयार गर्दैछ । देशको भन्दा विदेशको हावापानी, माटो, समाज, सभ्यता, रहनसहन तथा प्रविधिलाई केन्द्रविन्दु बनाइ जबरर्जस्तरूपमा हाम्रा शिक्षालयहरूमा अध्ययन÷अध्यापन गराइन्छ।
केही व्यक्तिबाहेक देशअनुरूप किताब लेख्ने, देशको मुख्य सवाल तथा विषयहरूमा गहन अध्ययन गर्ने, गराउने तथा तटस्थ भई देशको हितका लागि काम गर्ने दूरदर्शी व्यक्ति कुनै पनि संस्थाको मुख्य पदमा रहेको पाइँदैन । यसरी गहन अध्ययन अनुसन्धान गराउने परिपाटी ल्याउन सक्ने, देशका लागि मन दुखाएर काम गर्ने दूरगामी नेतृत्व गत बीस वर्षदेखि कुनै पनि शिक्षण संस्था, शिक्षालय तथा विश्वविद्यालयले पाएको छैन । झोले, लठैत तथा अराजक व्यक्तिहरूलाई विभिन्न विश्वविद्यालय खोली विभिन्न पदमा भागबन्डा गरी भर्तीकेन्द्र बनाउने काम बढेसँगै विभिन्न संघ÷संस्थामा रहेका उच्च पदासीन व्यक्तिहरूले आफ्नो पेसा तथा पदलाई मर्यादित बनाउन सकेका छैनन्।
आफ्नै बलबुतामा मेहनत गरी हासिल गरेको ज्ञान, सिप तथा क्षमताले केही गरौँ भन्ने युवाहरूका लागि देशले तटस्थ लगानी गर्न नसक्नु, राज्यबाट पाइने सहुलियत, ऋण, अनुदान, छात्रवृत्ति आदिका लागि पनि राजनीतिक शरण लिनुपर्ने स्थिति सिर्जना गरिनु, चाकरी वा कमिसनविना ठूला पदमा योग्य तथा दूरदर्शी व्यक्ति जान नसक्नुले देशमा अधिकांश क्षमतावान व्यक्तिहरू ओझेलमा परेका छन्।
त्यसैले भागबन्डाको परिपाटी त्यागेर योग्य तथा क्षमतावान व्यक्तिलाई स्थापित गराउनु आजको आवश्यकता हो । यसका लागि भागबन्डा गराएर पद बाँड्नुको सट्टा ठूला पदका लागि योग्य उम्मेदवारहरूको खुला प्रतिस्पर्धाबाट त्यस पदका लागि आफूले गर्न सक्ने काम, आवश्यक बजेट तथा योजनाको रोडम्याप र त्यस कामबाट राज्य, जनसमुदायमा पर्ने प्रभाव तथा असर प्रस्तुत गरी सवालजवाफमा खरो उत्रिएकालाई मात्र पदासीन गराउने परिपाटी आवश्यक छ । कमसेकम विश्वविद्यालय तथा अनुसन्धान क्षेत्रमा मात्र यस्तो परिपाटी लागु गर्न सक्यौँ भने विद्यार्थी तथा युवा पुस्ताको सोच परिवर्तन गर्न सकिन्छ । र, देशका लागि योग्य जनशक्ति विभिन्न संघ÷संस्था, शिक्षालय तथा विश्वविद्यालयले निर्माण गर्न सक्छन् । (सहायक प्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय)
प्रकाशित: ३ श्रावण २०८० ०१:०२ बुधबार