९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

तौल घटाउने तराजु

अमेरिकाको रस युनिभर्सिटी मेडिकल सेन्टरमा बिहेबियरल साइन्सका प्राध्यापक एवं तनाव विशेषज्ञ स्टिभेन हबफोलले सन् १९८९ मा कन्जर्भेसन अफ् रिसोर्सेज थ्यौरी प्रतिपादन गरे। भविष्यका संभाव्य प्रतिकूलताबाट जोगिन मानिसले हातमा आएको धेरै भन्दा धेरै संपत्ति जोगाउन तल्लीन हुन्छ भन्ने तनाव सिद्धान्तको सार हो। सधैँ संपत्ति जोगाउने स्वभाव अनि उपलब्ध स्रोतलाई जतन गरी थप पुँजी वृद्धि गर्ने मानवीय चरित्रको चिरफार गरे डा. हबफोलले। भविष्यको चिन्ता समाज तथा अनुभवले सिकाएको मानवीय बानी हो। शरीर विज्ञानले नै मानिसलाई कसरी बचत गर्न सिकायो भन्ने प्रश्नको जवाफ सहज छैन।  

चाल्र्स डार्बिनको उद्विकासको सिद्धान्त (थ्यौरी अफ् इभोल्युसन) मा जीवहरूले समयलाई आत्मसात गर्दै कसरी आफूलाई परिवर्तन गर्छन् भन्ने विषयमा वैज्ञानिक विश्लेषण गरे। विकास क्रममा यथेष्ठ खान्कीको अभावमा हाम्रा पुर्खाले आफ्नो अस्तित्व कसरी जोगाए ? जंगली जुगमा पर्याप्त खाना उपलब्ध थिएन। पाएका बखत मनग्य खाने अनि भोकमरीका बखत नखाई बाँच्न शरीर विज्ञान कसरी परिमार्जन भयो भन्ने यथार्थको विश्लेषण गरेका छन् वैज्ञानिकले।  

शरीरमा बोसोको भण्डारण अनिकालबाट बचाउन सहायक सिद्ध हुने भएकाले वजन बढ्नु सदैव इभोल्युसनको हिसाबले अनुकूल हुन्छ। तैल घटाउन कठिन अनि वजन बढ्न सजिलो हुनुमा विकासवादी सिद्धान्तको भूमिका छ।

खाना उपलब्धताका हिसाबले आधुनिक समाज जंगली सभ्यता भन्दा विपरित कित्तामा पुगेको छ। अहिले संसारका अधिकांश नागरिकले आवश्यकता भन्दा बढी खान्की लिएका छन्। अत्यधिक भोजनका कारण मानिसको औसत वजन बढ्दो छ। मानिसको उचाइ र तौललाई आधार मानी मोटोपन मापन गर्ने विधि बडी मास इन्डेक्स (बिएमआइ) आकडाले एउटा ठूलो समूह स्वास्थ्यका हिसाबले खतराको सीमामा पुगेको देखिन्छ। बिएमआइ ३० भन्दा अधिक भएका समूहलाई मुटुरोग, उच्च रक्तचाप, कोलेस्ट्रोल, स्ट्रोक, निन्द्रा नलाग्नेलगायतका शारीरिक समस्याको संभाव्यता छ। उक्त तप्कामा पर्ने समूहले अविलम्ब मोटोपन व्यवस्थापन गर्नुपर्ने हुन्छ। वजन घटाउन चिकित्सा सुविधालाई आत्मसात गर्ने, शारीरिक परिश्रममा ध्यान दिने, खानाको मात्रा कम गर्र्नेेलगायत विधिको चर्चा यो आलेखको लक्ष्य हो।

भोजनपछि हामी तृप्त हुन्छौं भने खाएको ४–५ घण्टापछि भोकाएको महसुस गर्छौ। भोको र अघाएको महसुस हुनुमा हाम्रो शरीरमा उत्पादन हुने हार्मोनले भूमिका खेल्छ। भोजनपछि तृप्त हुनुमा लेप्टिन हार्मोनले भूमिका खेल्छ भने पेट खाली भएपछि भोको अनुभव हुनुमा ग्रेलिन हार्मोनको भूमिका हुन्छ। पेट खाली हुँदा ग्रेलिनको मात्रा बढ्नु अनि टन्न हुँदा लेप्टिनको मात्रा उकासिनु स्वाभाविक हुन्छ। लेप्टिन र ग्रेलिन हार्मोनको विरोधाभाष चरित्र हुन्छ। एउटा क्रियाशील हुँदा अर्को सुषुप्त बन्न पुग्छ।  

ग्रेलिन हार्मोनको उत्पादन अस्वाभाविकरूपले उकासिँदा मानिसले सधँै भोको महसुस गर्छ। पेट भरे पनि मन भरिँदैन, व्यक्तिले अतृप्त महसुस गर्छ। खाइरहनु उसको बाध्यता बन्छ। अत्यधिक खानाका कारण व्यक्ति मोटो हुन्छ। बढ्दो वजनले ल्याउने शारीरिक समस्याको सिकार बन्न पुग्छ। त्यस्तै अघाएको महसुस गराउने हार्मोन लेप्टिनको मात्रा बढ्दा व्यक्ति तृप्त महसुस गर्छ। पेट खाली भए पनि यो हार्मोनका कारण व्यक्तिले भोक अनुभव गर्दैन। पेट टन्न भएको भान पर्नाले व्यक्तिलाई भोजनप्रति रुचि हुँदैन। खाना नखाएपछि व्यक्ति दुब्लो बन्छ।  

भोको र अघाएको महसुस हुनुमा हाम्रो शरीरमा उत्पादन हुने हार्मोनले भूमिका खेल्छन्। भोजनपछि तृप्त हुनुमा लेप्टिन हार्मोनले भूमिका खेल्छ भने पेट खाली भएपछि भोको अनुभव हुनुमा ग्रेलिन हार्मोनको भूमिका हुन्छ।

भोको र अघाएको महसुस गराउने इन्जाइमको मात्रालाई औषधिमार्फत व्यवस्थापन गरी व्यक्तिलाई वजन नियन्त्रण गर्न मद्दत गर्ने चिकित्सा विधि प्रयोगमा आयो। पेट खाली भए पनि ओखतीमार्फत तृप्त महसुस गराउने हार्मोन उत्पादन गरी खानाप्रति रुचि नजाग्ने बनाइ वजन घटाउने डाक्टरी मेडिसिन प्रचलनमा आयो। धेरै किसिमका वजन घटाउने ओखती बजारमा उपलब्ध छ। जनावरमा गरिएको पूर्वक्लिनिकल परीक्षण अनि सानो आकारको स्वास्थ्य स्वयंसेवकमा गरिएको परीक्षणमा प्रष्ट खराबीको संकेत नदेखिएपछि कुनै पनि रासायनिक पदार्थले नयाँ ओखतीका रूपमा बजारमा बिक्रीको अनुमति पाउँछ। स्वीकृतिको प्रथम खुडकिलो पार गरेकाले ओखतीमार्फत तौल घटाउने विधि संसारभर प्रचलनमा आयो। के त्यस्तो ओखती मानवीय दीर्घकालीन हितमा छ ?  

कतिपय रासायनिक पदार्थको नकारात्मक स्वास्थ्य परिणाम आउन वर्षौँ कुर्नुपर्ने हुन्छ। उदाहरणका लागि प्रारम्भिक परीक्षणपछि मधुमेहका रोगीका लागि उपयोगी हुने ठहर गरी चिनीको विकल्पका रूपमा कृत्रिम गुलियो बजारमा आयो। दशकौँपछि मात्र कृत्रिम गुलियोले विविध किसिमको रोग भित्र्याउने कुरा पत्ता लाग्यो। त्यस्तै वितरण भएको दशकौँपछि मात्र क्यालोरीमुक्त डाएट कोक क्यान्सरको कारक भएको पत्ता लाग्यो। तसर्थ, कुनै पनि नवीन रासायनिक पदार्थ अथवा नयाँ ओखती प्रयोगअघि अन्य विकल्पको खोजी गर्नु जरुरी छ। भर्खर प्रचलनमा आएको ओखती अनुगमन निकायले प्रयोगका लागि स्वीकृति दिए पनि सुरक्षित छ भनी ठोकुवा गर्न सक्ने अवस्था हुन्न।  

खानामा रहेको पोषण पदार्थ पूर्णरूपले शरीरमा सिँचित हुन पाचन प्रणालीको झण्डै ५ मिटर लामो पाइप अपरिहार्य हुन्छ। मानिसको पेटको लम्बाइ शल्यक्रियामार्फत कम गरी थोरै खानाले अघाएको महसुस हुने तथा खाएको खानामा रहेको पोषण पदार्थ आंशिकरूपमा मात्र शरीरले पाउने चिकित्सा विधि स्वीकृत भयो, प्रयोगमा पनि आयो। तर सर्जरीमार्फत वजन व्यवस्थापन गर्न खोज्दा अन्य रोग भित्रन्छन् कि भन्नेमा ख्याल राख्न जरुरी छ। जीवन–मरणको सवालदेखि बाहेकको अवस्थामा ठूलो जमातमा परीक्षण भइ अब्बल साबित नभएको ओखती तथा चिकित्सकीय विधि अंगाल्नु उचित देखिएन।  

खाना कम गरी शारीरिक परिश्रम गर्दा व्यक्तिको वजन घट्छ भन्ने सोच अन्यथा होइन। तर क्यालोरी व्यवस्थापन गरी जिम धाउँदा पनि व्यक्तिको तौल लामो समयसम्म ओरालो लाग्न मुस्किल पर्छ। कडा मेहनतपछि पनि बिएमआइ स्केलमा सुधार नहँुदा धेरै मानिस निरास भई आफ्नो प्रतिबध्दता तोड्न पुग्छन्। आखिर खाना र कसरतलाई सँगै लाँदा पनि किन त्यस्तो नतिजा आउँछ त भन्ने प्रश्नको उत्तर खोजे वैज्ञानिकहरूले। उक्त सिद्धान्तलाई सेट प्वाइन्ट थ्यौरीको नाम दिएका छन्।  

वजन एक्कासि घट्ने अवस्था आएको परिदृश्यलाई शरीरले खतराको संकेत मान्छ। अनिकालको संकेत महसुस गर्दा वजन घट्न नदिन शरीरले सबै शारीरिक संयन्त्रलाई प्रयोग गर्छ। खडेरी पर्ने संकेत देख्नेबित्तिकै किसानले खानाको उच्चतम सदुपयोग गरी खर्च कटौतीको रणनीति ल्याएझैँ शरीरले समेत अनावश्यक ऊर्जालाई न्यून गर्छ। पर्याप्त खान्की नदेख्दा अघि-पछि सधैँ भोजन फाल्नेले समेत टपरी चाटेझै हाम्रो पाचन प्रणालीले पनि उपलब्ध भोजनबाट अत्यधिक मात्रामा क्यालोरी दोहन गर्ने कोसिस गर्छ। सामान्य अवस्थामा भन्दा खान्कीको आपूर्ति कम हँुदाको अवस्थामा त्यही भोजनबाट शरीरले बढी क्यालोरी पाउँछ भन्छन् अमेरिकास्थित क्लिभल्यान्ड क्लिनिकका इन्डोक्राइनोलोजिस्ट मार्सियो ग्रिब्लर। प्रा. ग्रिब्लरको विचारमा खान्कीको आपूर्ति कम हुनुलाई शरीरले अनिकालका रूपमा बुझ्ने भएकाले इन्जाइम उत्पादनको ढाँचा फेरिन्छ। प्रतिकूल अवस्थामा बायोलोजिक संयन्त्र बचत ढाँचामा चल्ने भएकाले नियमित भोजनमा कमी हँुदासमेत शरीरको वजन घट्दैन। शरीरले प्रतिकूल अवस्थामा समेत भरिसक्य वजन नघटाउन गर्ने आन्तरिक संघर्ष नै सेट प्वाइन्ट थ्यौरीको सार हो। शरीरमा बोसोको भण्डारण अनिकालबाट बचाउन सहायक सिद्ध हुने भएकाले वजन बढ्नु सदैव इभोल्युसनको हिसाबले अनुकूल हुन्छ। तैल घटाउन कठिन अनि वजन बढ्न सजिलो हुनुमा विकासवादी सिद्धान्तको भूमिका छ। प्रा. हबफोलको कन्जर्भेसन अफ् रिसोर्सेज थ्यौरीलाई प्रकृतिले लामो समयदेखि अंगीकार गरेको देखियो।  

डाक्टरी उपचार र सेट प्वाइन्ट थ्यौरीका सीमालाई नियाल्दा कसरी वजन व्यवस्थापन गर्ने भन्ने विषय चुनौतीपूर्ण देखियो। चाहिने भन्दा एकदमै कम खाएर छोटो समयमा निकै वजन घटाउने क्रयास डाएट थ्यौरीले सुरुमा सफलता पाए पनि नियमित खान्कीको दिनचर्यामा फर्कनेबित्तिकै व्यक्ति झन भारी भएको देखियो। क्रयास डायटमा बसेकाहरूको हार्मोनल व्यवस्थापन बेथितिपूर्ण हुन गइ भोको महसुस गराउने ग्रेलिन हार्मोन सधैँ क्रियाशील हुन पुग्छ। जतिखेर पनि भोको महसुस गर्नाले व्यक्तिको ध्यान सधँै खानामा केन्द्रित हुन्छ अनि मानिस निकै मोटो बन्न पुग्छ। तसर्थ, निरन्तर क्रमगत गतिले दौडा जित्छ (स्लो एन्ड स्टिडी बिन्स द रेश) भन्ने मान्यता वजन व्यवस्थापनको हकमा समेत लाभप्रद् देखिएको छ।  

एक्कासि वजन घटाउने रणनीतिले दीर्घकालीन फाइदा नपुग्ने हुँदा शारीरिक संयन्त्रले आपतकालीन खाद्य संकट महसुस नगर्ने गरी तौल घटाउने ढाँचा अंगाल्नुपर्ने देखिन्छ। संयुक्त राज्य अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले हप्तामा आधा किलोको हाराहारीमा वजन कम गर्ने रणनीति मानिसका लागि लाभप्रद् हुन्छ भन्यो। शरीरले भोकमरी अनुभव नगर्ने गरी खानाको मात्रा थोरै थोरै गरी घटाउन आवश्यक देखिएको छ। छाकैपिच्छे एक दुई गाँस कम खाए शारीरिक संयन्त्रलाई छक्याइ सेट प्वाइन्ट थ्यौरी कम गर्न सकिन्छ। मानसिक तथा बायोलोजिक हिसाबले वजन घट्दा पनि आफू सुरक्षित र स्वस्थ भएको स्वयंलाई विश्वास दिलाउन आवश्यक देख्छन् विज्ञहरू। तरकारी, फलफूल तथा दालको मात्रा बढाउँदै भातको परिणाम कम गर्ने, दैनिक तालिकामा राखी शारीरिक कसरत गर्ने, निद्राको अनियमितताले वजन बढाउने भएकाले कम्तीमा ६ देखि ८ घण्टा सुत्ने अनि तनाव व्यवस्थापन गर्न सके मोटोपन घटाइ स्वस्थ जीवन व्यतित गर्न सकिन्छ। बोसो भन्दा मांसपेशीले अत्यधिक क्यालोरी दहन गर्छ। त्यसकारण वजन घटाउन नसके पनि कसरतमार्फत शरीरमा रहेको बोसो घटाइ मांशपेसी बनाउनुसमेत स्वास्थ्यका लागि फाइदा हुन्छ। औषधि सेवनको बदला दीर्घकालीन लक्ष्यका साथ स्वस्थ खान्की र परिश्रममार्फत वजन घटाउने योजनालाई यथार्थमा परिणत गरौँ । 

प्रकाशित: २६ असार २०८० ००:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App