वैशाख पहिलो साता। सिरहाको धनगढीस्थित नैनपुर टोलको मुसहर बस्तीमा भेटिइन् ५६ वर्षीया रमनी। दुःखलाई सुखमा परिणत गर्ने उद्देश्यले जेठो छोरो विदेशिएको दस वर्ष पुगेछ। सोच्नेहरूले सोच्दै गर्लान् कि यस अवधिमा उनको छोराले कमाएर पठाएको पैसाले रमनीको दुःख लग्यो। तर यो सोच्नेहरूलाई के थाहा कि उनको छोराले पठाएको पैसा ब्याज तिर्नै पनि पुग्दैन। पुगोस् पनि कसरी? उनी ६० प्रतिशत ब्याज तिर्ने सर्तमा ऋण लिएर त्यता लागेका थिए गाउँकै 'महाजनसँग'।
अत्यावश्यक कुरा पूर्ति गर्न पनि ऋण लिनैपर्ने बाध्यता, अनि ऋण तिर्नका लागि पनि थप ऋण गर्नुपर्ने र यही क्रमको निरन्तरता मुसहर समुदाय गरिबीको चक्रमा फस्नुको मुख्य कारणमध्ये रहेकोमा दुई मतै भएन।
१४ वर्षमै विवाह भएकी रमनीले एक दशक नबित्दै श्रीमान् गुमाइन्। जतिबेला चार सन्तान भइसकेका थिए। यसबीचमा उनका छोराछोरीले पढ्न जान पाउनु त धेरै टाढाको कुरा, विडम्बना त यो छ कि अहिले उनका नातिनातिनासमेत पढ्न जान पाउँदैनन्। नैनपुरकै ऐलानी जग्गामा बसोबास गर्ने रमनीको ससुराका नाममा एक कठ्ठा जग्गा त छ तर पतिका तीन दाजुभाइलाई बाँड्नुपर्ने यही जग्गा पनि अहिलेसम्म अंशबन्डा हुन सकेको छैन।
दुःखले पनि दुःखीकै घरबास रोज्दोरहेछ। यसबीचमा केमात्र भएन रमनीको परिवारमा? कहिले कान्छो छोरालाई गाडीले किचेर थला पार्नु त कहिले जेठी बुहारीको पेटमा ट्युमोर देखिनु, कहिले बाटोमा हिँड्दै गर्दा एक्कासि आफ्नै दाहिने खुट्टा लुलो हुनाले अपरेसन गर्न पर्नु त कहिले मौसमी/बेमौसमी समस्याले सताएर हैरान। परिणाम– छोरालाई विदेश पठाउँदा लिएको ऋणमाथि ऋण थप्नुको विकल्प नै थिएन। मज्जैले थपिन्, अझ बढाएर। ७२ प्रतिशत ब्याज तिर्ने सर्तमा।
मुसहर समुदायमा व्याप्त गरिबीको कारण खोतल्ने उद्देश्यका लागि दुई दिन समुदायमै बस्ने योजना यो घटना सुन्दासाथ लाग्यो– बढी हुन्छ। किनकि मुख्य कारण त एकाध घन्टामै आइसक्यो। अनि उनीहरू किन यति चरम गरिबीबीच बाँच्न विवश छन् भन्नेबारे थप गहिराईमा जाने निष्कर्षमा पुगियो। अत्यावश्यक कुरा पूर्ति गर्न पनि ऋण लिनैपर्ने बाध्यता, अनि ऋण तिर्नका लागि पनि थप ऋण गर्नुपर्ने र यही क्रमको निरन्तरता मुसहर समुदाय गरिबीको चक्रमा फस्नुको मुख्य कारणमध्ये रहेकोमा दुई मतै भएन।
सोच्यौं यो व्यथा रमनीको मात्र होला। हाम्रो यो अनुमान तत्कालै फेल खायो, जतिबेला अर्की पात्रसँग हाम्रो भुलाकुसारी भयो। नैनपुर टोलमा ६७ घर छन्। जसमा २५ घर मुसहर, २ घर डोम, ३ घर मगर र बाँकीचाहिँ अरु थिए। मुसहरका घर छुट्टै देखिन्छ– झुरुप्प। मुसहरमध्ये १८ घरबाट कामका लागि विदेशिएका छन्। कमाउनकै लागि विदेश गएपछि त उकासिनुपर्ने हो नि! तर परिवारमा आर्थिक उन्नतिको संकेत त परै जाओस्, घर फर्कने वातावरणसमेत मिलेको छैन। 'उतै बसौँ, कमाएको पैसा जति ब्याजमै स्वाहा, फर्कौं ऋण नतिरी घरबाट फर्कने अनुमति नै नपाइने'– मरुभूमिका दुःखी जीवन बिताइरहेका मुसहर समुदायका युवाको वास्तविक पीडा यही हो।
करिब ५२ वर्षअगाडि नैनपुरकै एक स्थानीय जमिन्दारले आफ्नो खेतबारीमा ज्यालामजदूरी गराउन सहज होस् भने १५ परिवार मुसहरको बस्ती बसालेका थिए यहाँ। त्यसयता ती जमिनदारको मात्र हैन, वरपरका अन्य जमिनदारको समेत खेतीपाती राम्रैसँग चल्यो। यिनैले गरिदिएका खेतीका उब्जनी बेचेर तिनका छोराछोरीले राम्रोसँग लेखपढ गरे। अहिले कति नेता छन्, कतिपय सरकारी जागिरमा छन्, कतिले व्यवसाय गरेका छन्। तर तिनीहरूलाई परिवर्तन गराइदिने यी मुसहर भने झन् झन् खस्कँदो अवस्थाबाट गुजि्ररहेका छन्। रमनी र उनका छिमेकी यसका ज्वलन्त उदाहरण हुन्।
समाजमा माथि रहेका भनिने वर्गको स्वीकार्यता पनि त्यहाँ गरिबीको कारक बनेको छ। स्वीकार्यतामा हिंसा लुकेको हुँदोरहेछ, एउटा अनौठो शक्ति। अनि यस्तो स्वीकार्यता आउनुमा हामी सबैको धेरथोर भूमिका हुँदोरहेछ। हामी शिक्षित भनाउदाहरू पनि कुनै विशेष वर्ग/समूह वा व्यक्तिलाई पिछडिएको घेरामा राख्दा खुशी हुने रहेछौँ। जानी नजानी आफूलाई माथि बनाइ कसैलाई तल बनाउँदा हामीलाई स्वीकार्य भइरहेको हुन्छ। कसैको गर्ने/बु‰ने क्षमता हामी सीमित बनाइदिन्छौं। अर्को कारण यो पनि छताछुल्ल भयो कुराकानीकै क्रममा।
अझै पनि स्वीकार्यता के छ भने फलानो दलित हो, त्यसले त्यति नै गर्न सक्छ, त्यहाँभन्दा माथि त्यो उठ्नै सक्दैन। यसका विविध उदाहरण हेर्न अन्त जानै परेन। जत्ति पनि रहेछन् नैनपुरमै। अरु टोलमै रहेको विद्यालय जाने तर डोम र मुसहरका बच्चा भने नजाने, झुक्किएर भर्ना भएका एकाध पनि नियमित नहुने। गैरडोमका बच्चा भने गाउँकै त्यो स्कुल पनि हैन, अर्को टोलको बोर्डिङ जाँदा रहेछन्। अरु समुदायका मानिस यसको कारण देखाउँछन्– उनीहरूमा चेतना नै छैन। तर उनीहरू चेतनाबाट वञ्चित हुनुमा पनि गरिबी नै मुख्य कारण हो भन्ने कसले बुझ्ने? अनि गरिबी उनीहरू आफैँले निम्त्याएको समस्या हैन, थोपरिएको भनेर बताइदिने कसले?
छुवाछूत र माथि–तलको भावना ज्युको त्युँ छ। कार्की थर भएका एक स्थानीयको घरमा कुरा गर्दै थियौँ। हामीलाई सत्कार गरेर चिया दिइयो। हाम्रै छलफलमा सहभागी केहीलाई भने दिइएन। कारण– उनीहरू मुसहर थिए। हामीले जिज्ञासा व्यक्ति गर्नुअघि नै ती कार्की महासयको रेडिमेड उत्तर थियो– उनीहरू चिया खाँदैनन्। मुसहरले पनि होमा हो मिलाए। आखिर प्रतिरक्षाका लागि यसको विकल्प पनि त थिएन।
गाउँको सार्वजनिक इनार निकै फोहोर थियो। दुई डोम परिवारले मात्र त्यहाँको पानी पिउन प्रयोग गर्दारहेछन्। हुनेखाने अरु परिवारले मोटर जडान गरेर इनारको पानी खेतमा लगाउने गरेका रहेछन्। फोहोर किन त? उत्तर सबैको समान थियो– जाबो दुई घर डोमले खाने त हो। किन सफा चाहियो र? अहिलेसम्म पनि यस्तो कडा छुवाछूत कायम छ भने उनीहरूले कसरी स्रोतसाधनमा समान हैसियत राख्न सक्छन्? यस्तो अवस्थामा दलितलाई मात्र दोष दिएर हुन्छ? तर गैरदलित यो प्रश्नको सामना गर्न तयार भएनन्। बरु उल्टै उनीहरू यसको सम्पूर्ण दोष मुसहर समुदायमाथि थुपारेर 'पानीमाथिको ओभानो' हुने हरसम्भव प्रयासमा देखिए।
यस्ता विषयबारे चेतना, हामी जहाँ काम गर्छाैं, त्यहाँवरपरका समुदायलाई पनि सिकाउनुपर्ने रहेछ। गरिबीका कारक समाधानको खोजीतर्फ लाग्दा प्राप्त ज्ञान धेरै महत्वाकांक्षी नभई आफ्नै आचरणमा लागु गर्न सक्नु पनि आफ्ना लागि शान्तिपूर्ण उपलब्धि हुने नयाँ बुझाइ हासिल भएको छ। यो अत्यावश्यक पनि रहेछ किनकि संरचनात्मक समस्याका समाधान नै आचरण र व्यावहारिक परिवर्तनबाट सुरु हुने रहेछन्।
प्रकाशित: २९ वैशाख २०७४ ०३:४९ शुक्रबार