फोहोरको बढ्दो मात्रा र जटिलताले वातावरण र जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउँदै छ। हाल सहरी क्षेत्रमा संकलन हुने फोहोरको वार्षिक वृद्धि लगभग ८–१० प्रतिशतको अनुमान गरिएको छ र २०३० सम्ममा ३२३ मिलियन मेट्रिक टनसम्म पुग्ने अनुमान छ।
सर्वेक्षणबाट सङ्कलित माध्यमिक तथ्यांकको आधारमा यो प्रगतिलाई आलोचनात्मक रूपमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ। एउटा शोधपत्रलाई उल्लेख गर्दै एकजना प्राध्यापकले व्याख्या गर्नुभयो। गत मे २४ देखि जुन ६ सम्म जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयको सहयोगमा सुचोउ विश्वविद्यालयको संयोजकत्वमा वातावरण प्रदूषणको रोकथाम र ठोस फोहोर व्यवस्थापन विषयक कार्यशाला गोष्ठीमा करिब १० विकासोन्मुख देशका सहभागीले भाग लिएका थिए।
फोहोर व्यवस्थापन एवं वातावरणीय सुरक्षा
काठमाडौंलगायतका सहरी क्षेत्रमा देखिएको फोहोर व्यवस्थापनको अवस्था र दैनिक रूपमा बढिरहेको समस्यालाई हेर्दा एकातिर घरको भान्छालगायत, होटेल, कारखाना र विभिन्न क्षेत्रबाट निस्किने फोहोरको वर्गीकरण र यसको व्यवस्थापनको दीर्घकालीन योजना एवम् त्यसको कार्यान्वयनमा निरन्तरता दिनुपर्ने देखिन्छ। त्यसो त, नेपाल सरकारको ‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८’ को परिच्छेद–२ फोहोरमैला उत्पादन, सङ्कलन, न्यूनीकरण तथा निष्काशन सम्बन्धी व्यवस्थाको दफा ३ पेज ५ अनुसार फोहोरमैलाको व्यवस्थापन गर्न विभिन्न व्यवस्था गरिएको छ। यसमा स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन), ल्यान्डफिल साइट, प्रशोधन प्लान्ट, कम्पोस्ट प्लान्ट, बायो ग्यास प्लान्ट लगायत फोहोरमैलाको सङ्कलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण एवम् सञ्चालन गर्ने व्यवस्था छ। तथापि, समयसमयमा फोहोरमैला व्यवस्थापनमा देखिने विविध प्राविधिक एवं प्रशासनिक कठिनाइ, फोहोरमैला सम्बन्धी जनचेतना र यसको व्यवस्थापनबारेको अनविज्ञता र सिकाइको अभावले गर्दा यो समस्या एउटा विकराल समस्याका रूपमा लिने गरिएको छ।
फोहोरको बढ्दो मात्रा र जटिलताले वातावरण र जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउँदै छ। हाल सहरी क्षेत्रमा संकलन हुने फोहोरको वार्षिक वृद्धि लगभग ८–१० प्रतिशतको अनुमान गरिएको छ र २०३० सम्ममा ३२३ मिलियन मेट्रिक टनसम्म पुग्ने अनुमान छ।
चीनजस्तो सम्पन्न मुलुकले समेत पछिल्लो दशकमा सहरीकरणका कारण तीव्र आर्थिक विकास गरेको भए पनि प्रदूषण वृद्धि र फोहोर व्यवस्थापनमा नकारात्मक असर गरेको कुरालाई आत्मसात गर्दै आएको छ। बढ्दो कूल घरेलु उत्पादन (जिडिपी) ले चीनको आर्थिक विकासको गति र मापन विश्वव्यापी रूपमा अभूतपूर्व छ। देशको जीवनस्तरमा उल्लेख्य सुधार भएको छ र यसको बलियो आर्थिक वृद्धिले विश्वव्यापी आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ तर यसको शान्तिपूर्ण वृद्धिले प्रमुख वातावरणीय चुनौतीहरूको सामना गरेको छ।
चीनले एकातिर व्यवस्थापन र अर्कोतिर अध्ययन अनुसन्धानलाई निरन्तरता दिँदै आएको छ भने नेपालले प्रशासनिक र प्राविधिक उपाय अपनाएर छिटो छरितो तरिकाले व्यवस्थापनमा लाग्नु कठिन छैन। चीनका ८० प्रतिशतभन्दा बढी सहरहरू जैविक फोहोरले बनेका छन्। थप रूपमा, बढ्दो जनसंख्या वृद्धि र सहरीकरणले सहरी प्रदूषणले पुर्याउने असरले अन्य विकासशील देशलाई पनि पीडा दिने कुरामा सचेत रहेको पाइन्छ।
सन् २०२० मा कुल वार्षिक सहरी फोहोर उत्पादन २३५.१२ मिलियन मेट्रिक टन पुगेको र विश्वव्यापी औसत वार्षिक वृद्धि दर ८.४ पुगेकोमा चिन्तित हुँदै सहरी फोहोर उत्पादन वार्षिक रूपमा बढ्दै जाँदा, २५ प्रतिशतभन्दा बढी सहरहरूमा फोहोर व्यवस्थापनका लागि उपयुक्त ठाउँ नभएको र ६० प्रतिशतभन्दा बढी सहरहरूले फोहोरको सामना गर्नुपरेको उनीहरूको अनुसन्धानले देखाउँछ। नेपालको सन्दर्भमा पनि यसरी सोच्दै आउने भविष्यमा वातावरण प्रदूषण र फोहोर व्यवस्थापनको समस्याले मानव जीवन र स्वास्थ्यमा पर्ने असरबारे सचेत रहनुपर्नेदेखिन्छ।
प्रभावकारी कानुन
वातावरण संरक्षणका निम्ति कानुन र नियमहरू पनि त्यत्तिकै सशक्त र प्रभावकारी हुनु जरुरी छ। चीनले प्रदूषणलाई सम्बोधन गर्न व्यापक कानुन र नियमहरू स्थापना गरेको छ। सन् २०१५ मा लागु गरिएको पर्यावरण संरक्षण कानुनले प्रदूषण रोकथाम, नियन्त्रण र पारिस्थितिक संरक्षणमा जोड दिन्छ। नेपालले पनि आफूले जारी गरेको कानुनको कार्यान्वयनमा निरन्तरता दिनु जरुरी छ। ती कानुनले निम्न पक्षलाई समेटेको हुनुपर्छ:
वातावरण संरक्षणका निम्ति कानुन र नियमहरू पनि त्यत्तिकै सशक्त र प्रभावकारी हुनु जरुरी छ। चीनले प्रदूषणलाई सम्बोधन गर्न व्यापक कानुन र नियमहरू स्थापना गरेको छ।
वायु प्रदूषण नियन्त्रण: सक्रिय रूपमा वायु प्रदूषण विरुद्ध सचेत भएर प्रमुख सहरहरूमा यसको असर र प्रभावबारे जानकारी लिनुपर्छ। कोइलाको खपत घटाउने, स्वच्छ ऊर्जा स्रोतहरूको प्रवर्धन गर्ने र उत्सर्जन घटाउन औद्योगिक सुविधाहरूको स्तरोन्नति गर्नेजस्ता उपायहरू लागु गरेमा मात्र वायु प्रदूषण नियन्त्रण हुन सक्छ। उद्योगहरूका लागि कडा उत्सर्जन मापदण्डहरू तोक्ने साथै सवारी साधनहरूको उत्सर्जन नियन्त्रण उपायहरू लागु गर्नु जरूरी छ।
जल प्रदूषण नियन्त्रण: फोहोर पानी प्रशोधन र व्यवस्थापन प्रणालीमा सुधार गरेर पानी प्रदूषणलाई सम्बोधन गर्न जरुरी रहन्छ। औद्योगिक डिस्चार्जलाई नियन्त्रण गर्न र पानीको गुणस्तरका लागि कडा मापदण्डहरू लागु गर्न नियमहरू सुदृढ गर्दै प्रदूषित जलस्रोत र इकोसिस्टमको पुनस्र्थापनाका प्रयासहरू हुन सकेमा जल प्रदूषण नियन्त्रण सहज हुनेछ।
माटो प्रदूषण रोकथाम: माटो प्रदूषणको गम्भीरतालाई बुझ्दै यसलाई रोक्न र नियन्त्रण गर्न प्रयासहरू जरुरी छ। माटोको गुणस्तर अनुगमन, हानिकारक कृषि रसायनहरूको प्रयोग कम गर्दै, दिगो कृषि अभ्यासलाई प्रवर्धन गर्ने उपायहरू खोजियो भने माटो प्रदूषण रोकथाम सहज हुने देखिन्छ।
नवीकरणीय ऊर्जा विकास: सौर्य, वायु र जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूमा लगानी गरेर नवीकरणीय ऊर्जा स्थापनाका लागि लक्ष्य तय गर्न सकेमा, कम कार्बन अर्थतन्त्रको संक्रमणलाई सक्रिय रूपमा बढावा दिन सकिन्छ।
हरित पहल: दिगो विकासलाई प्रवर्धन गर्न विभिन्न हरित पहलहरू सुरु गर्नु जरुरी छ। वृक्षरोपण कार्यक्रम विस्तार गर्ने, विद्युतीय सवारी साधनको प्रयोग बढाउने, ऊर्जा–दक्ष प्रविधिको प्रवर्धन गर्ने र वातावरण संरक्षणमा जनसहभागितालाई प्रोत्साहन गर्नु नै हरित पहलका लागि सहज मध्यम हो।
अन्तर्राष्ट्रिय सहयोग: प्रदूषण र जलवायु परिवर्तनलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग र सम्झौताहरूमा सक्रिय रूपमा संलग्न हुन सकिने अवस्था पनि छ। यसले हरितगृह ग्यास उत्सर्जन घटाउने र दिगो विकासलाई प्रवर्धन गर्ने लक्ष्य राखेर पेरिस सम्झौताजस्ता विश्वव्यापी पहलहरूमा जसरी नेपालले थप सचेतना र कार्य योजना अघि बढाउन सक्छ। बढ्दै गएको जनसंख्या र फोहोरमैलाको स्थितिलाई न्यूनीकरण गर्न अब भने प्रविधिको प्रयोग पनि जरुरी देखिएको छ। सोलिड वेस्ट ट्रिटमेन्ट प्लान्ट, वाटर वेस्ट ट्रिटमेन्ट प्लान्टलगायतका प्रविधिको माध्यमबाट चीनजस्तो अधिक जनसंख्याबाट उत्पादन हुने फोहोरमैला र नदीनाला स्वच्छतालाई सुधार गरेको छ। यसमा अन्तर्राष्ट्रिय सहयोग लिएर नेपालले वातावरण स्वच्छता र फोहोर प्रदूषण व्यवस्थापन गर्नसक्ने सम्भावना छ।
प्रदूषण र जलवायु परिवर्तनलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग र सम्झौताहरूमा सक्रिय रूपमा संलग्न हुन सकिने अवस्था पनि छ।
समग्रमा हरेक देशका लागि वातावरण संरक्षण एक सामूहिक प्रयास हो, जसमा व्यक्ति, समुदाय, व्यवसाय र सरकारसहित विभिन्न स्तरबाट कार्य आवश्यक पर्छ। कुनै पनि सामानको प्रयोगलाई घटाउने, पुनः प्रयोग गर्ने र परिमार्जन गरेर पुनः प्रयोग गर्ने अर्थात् फोहोर घटाएर, सम्भव भएमा वस्तुहरू पुनः प्रयोग गरेर र सामग्रीहरू पुनः प्रयोग गर्ने प्रयास वातावरण संरक्षण र प्रदूषणको न्यूनीकरणका माध्यम हुन्।
एकल–प्रयोग वस्तुहरूको न्यूनतम प्रयोग र दिगो विकल्पहरू रोज्ने साथै दक्ष उपकरणहरू प्रयोग गर्ने, प्रयोगमा नभएका बेला बत्ती र इलेक्ट्रोनिक्सहरू बन्द गर्ने र घरलाई इन्सुलेट गरेर ऊर्जा बचत गर्ने अनि चुहावट हुन नदिई ऊर्जा र पानीको प्रयोगमा ध्यान दिने हो भने स्वतः वातावरण सुरक्षाप्रतिको सचेतना विकसित हुँदै जानेछ।
प्रकाशित: ३२ जेष्ठ २०८० ००:३१ बिहीबार