आत्महत्या गरिने मुलुकको सूचीमा नेपाल विश्वमा सातौँ छ। महिलाको आत्महत्याको दर मात्र हेर्यो भने नेपाल विश्वमा तेस्रो स्थानमा आउँछ। नेपालमा १५ देखि ४९ वर्षका महिलामा प्रमुख मृत्युको कारण आत्महत्या हो। ९० प्रतिशतभन्दा बढी आत्महत्या गर्ने मानिसमा डिप्रेसन प्रमुख कारक देखिन्छ। यी सबै तथ्यांक नेपाल कस्तो मुलुक बन्दैछ भन्ने संकेत हुन्।
डिप्रेसनका बारेमा त हामी कुरा नै गर्दैनौँ तर पछिल्लो दुई दशकमा डिप्रेसन विश्वको सबैभन्दा ठूलो सामाजिक, आर्थिक तथा स्वास्थ्य समस्याका रूपमा देखापरेको छ। विश्वभर १० प्रतिशतभन्दा बढी मानिस डिप्रेसनबाट प्रत्यक्षरूपमा प्रभावित छन्। नेपालजस्ता मुलुकमा भने २० प्रतिशतभन्दा बढी जनसंख्या डिप्रेसनबाट प्रभावित भएको तथ्यांक भेटिन्छन्।
सामान्यतया, कसैलाई पनि दुई हप्ताभन्दा बढी निरन्तर निराशता देखापर्यो, आफूले रमाइलो मानेर गर्ने काममा पटक्कै रुचि लाग्न छाड्यो तथा दैनिक काम गर्नका लागि गाह्रो हुने वा मन लाग्न छाड्यो भने डिप्रेसनको प्रारम्भिक लक्षण हुन् सक्छन्।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र महाराजगन्जले भर्खरै सार्वजनिक गरेको एक अध्ययनअनुसार नेपालका झन्डै २४ प्रतिशत कलेज जाने विद्यार्थीमा डिप्रेसन समस्या पाइयो। यो तथ्यांकले हामीले बनाएको शिक्षा तथा राजनीतिक प्रणालीमाथि नै ठूलो प्रश्न चिह्न उठाउँछ। देशमा मौलाएको दण्डहीनता, अराजकता तथा अस्थिर राजनीतिक वातावरणले नयाँ पुस्तालाई कमजोर र रोगी बनाउने धेरै लक्षण देखा पर्न थालेका छन्। देशभर बढ्दो डिप्रेसन तथा आत्महत्याका घटना यसका बलिया लक्षण हुन्। भ्रष्टाचारी, नेता तथा उनका शाखा सन्तान बलिया हुँदै जानु आमसर्वसाधारणले देशभित्र र बाहिर निरासता, अपमान तथा दुःखमात्र झेल्न पर्नु हाम्रा जस्ता गरिब देशका युवामा बढ्दो डिप्रेसनको प्रमुख कारण हो।
लामो द्वन्द्व तथा राजनीतिक अस्थिरताबाट गुजि्ररहेको मुलुक नेपालमा मानिस डिप्रेसनमा पर्ने धेरै कारण छन्। दश वर्षे द्वन्द्वले बनाएको मानसिक घाउले एउटा सिंगो युवा पुस्तालाई असर गरेको छ। अपराधीहरू कानुनको दायरामा आउने नभई अपराधीले कानुनलाई नियन्त्रण गर्ने राजनीतिक वातावरण निर्माण भएको छ। वैदेशिक रोजगारीमा गएका लाखौँ परिवारमा पारिवारिक बिछोड, अप्रिय घटना तथा आर्थिक बोझ मानसिक विचलनको ठूलो कारण बनिरहेको छ। दुई वर्षअगाडि महाभूकम्पले ल्याएको वज्रपातबाट लाखौँ परिवार अझै पनि संघर्षरत नै छन्। आर्थिक असमानता तीबव गतिमा बढ्दैछ। सहरी जनजीवन पनि अति नै अस्तब्यस्त र कोलाहलपूर्ण छ जसका कारण मानिस अनावश्यक तनाव र डिप्रेसनमा फस्दैछन्।
द्वन्द्वग्रस्त, प्राकृतिक विपत, कम्युनिस्ट तथा द्रूत गतिमा सहरीकरण भएका देशमा डिप्रेसन र आत्महत्याको दर धेरै पाइएको छ। नेपालमा भूकम्पलगत्तै गरिएका केही सर्वेक्षणले भूकम्प प्रभावित जिल्लामा आधाभन्दा बढी जनसंख्या डिप्रेसनमा परेको देखाएको थियो। पछिल्लो समयमा स्वास्थ्यमन्त्री गगन थापाले नीतिगत तहमा मानसिक स्वास्थ्यलाई सम्बोधन गर्ने केही प्रयास गरे पनि यो समस्या सदियौदेखि उपेक्षित छ। नेपालमा एक दशक लामो द्वन्द्व, अस्तब्यस्त सहरीकरण र निराशलाग्दो लामो राजनीतिक संक्रमणका कारण धेरै ठूलो युवा पंक्ति तथा आमसर्वसाधारण डिप्रेसनबाट प्रभावित भएको निष्कर्ष निकाल्न सकिन्छ।
पछिल्लो दुई दशकमा डिप्रेसनको समस्या विश्वभरि ५ गुणाभन्दा बढेको छ। डिप्रेसन नै विश्वमा अपांगताको सबैभन्दा ठूलो कारण बनेको छ। नेपालमा शायद बिरलै परिवार होलान् जसले डिप्रेसनको समस्या सामना गर्न परेको छैन। यति ठूलो सामाजिक, आर्थिक तथा राजनीतिक समस्याका रूपमा देखा परेको डिप्रेसनबारे कहीँ कतै चर्चा नहनु, कुरा नगरिनु हामी सबैको कमजोरी हो।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि ३०० मिलियनभन्दा बढी मानिस डिप्रेसनको समस्यामा छन्। हरेक वर्ष डिप्रेसनकै कारण झन्डै १ मिलियन मान्छेले आत्महत्या गर्छन्। डिप्रेसनको समस्यामा परेका ८० प्रतिशतभन्दा बढी मानिस गरिब मुलुकमा बसोबास गर्छन्।
यही परिवेशमा विश्व स्वास्थ्य संगठनले अप्रिल ७, विश्व स्वास्थ्य दिवसलाई डिप्रेसन प्रवर्द्धनका लागि समर्पित गरेको छ। 'डिप्रेसन : लेट्स टक' (डिप्रेसनबारे कुरा गरौँ) भन्ने नाराका साथ यो वर्ष विश्व स्वास्थ्य दिवस मनाइँदैछ। यस सन्दर्भमा नेपालमा पनि डिप्रेसनबारेमा छलफल, चर्चा सुरु गर्न अपरिहार्य भइसकेको छ।
एउटा स्वस्थ र सक्षम समाज हामी सबैको साझा सपना नै हो। मानसिकरूपमा सवल र स्वस्थ नागरिक भएनन् भने यो सपना अधुरै रहन्छ। झन्डै २० प्रतिशतभन्दा बढी मानिस डिप्रेसनका कारण आफ्नो उत्पादकत्व र मोबिलिटी गुमाएको हाम्रो जस्तो समाजमा समस्या पन्छाएर आर्थिक तथा सामाजिक विकास सम्भव हँुदैन।
घर, परिवार, साथीभाइ, कार्यालय, सार्वजनिक स्थानमा डिप्रेसनबारे कुरा गर्न सक्ने वातावरण निर्माण गर्नु यो समस्या सम्बोधनको पहिलो सर्त हो। डिप्रेसनबारे कुरा गर्न सक्ने वातावरणमात्र बन्न सक्यो भने यसले सम्भावित ठूलो दुर्घटनाबाट व्यक्ति र परिवारलाई समयमै बचाउन सक्छ।
धेरै मानिसलाई डिप्रेसनको प्रकृति रहस्यमय जस्तो लाग्छ। धेरैजसो डिप्रेसनमा परेका मानिस शारीरिक समस्याको उपचारबाट यसको समाधान खोज्छन्। डिप्रेसनमा परिसकेपछि रक्सी, ड्रग्सलगायत अरु कुलतमा लाग्ने जोखिम पनि बढी हुन्छ। डिप्रेसनमा सबै उमेर समूह, वर्ग, क्षेत्रका मानिस पर्न सक्छन्।
सामान्यतया, कसैलाई पनि दुई हप्ताभन्दा बढी निरन्तर निराशता देखापर्यो, आफूले रमाइलो मानेर गर्ने काममा पटक्कै रुचि लाग्न छाड्यो तथा दैनिक काम गर्नका लागि गाह्रो हुने वा मन लाग्न छाड्यो भने डिप्रेसनको प्रारम्भिक लक्षण हुन् सक्छन्। डिप्रेसनको समस्या भएका व्यक्तिमा शारीरिकरूपमा जतिबेला पनि कमजोर महसुस हुने, खाना खान मन नहुने वा खाने बानीमा अकस्मात परिवर्तन आउने, नि›ामात्र लाग्ने वा नि›ा नै नलाग्ने, जति बेला पनि मनमा चिन्तामात्र हुने, कुनै पनि काममा एकाग्र बन्न नसक्ने, मनमा छटपटी र शंकामात्र भइरहने, निराशताका विचार आइरहने, आत्महत्या वा आफूलाई हानि गर्ने विचारले बारम्बार सताइरहने हुन सक्छ।
यीमध्ये कुनै पनि लक्षण देखापरेमा आफूले विश्वास गर्ने साथीभाइ र परिवारका सदस्यसँग कुरा गर्नुपर्छ। आफ्नो कार्यालयमा पनि साथीहरूसँग कुरा गर्दा समस्या समाधानका लागि सहयोग पुग्न सक्छ। डिप्रेसन पूर्णतया निको हुने समस्या हो। लुकाएर राख्यो भनेमात्र यसले अप्रिय घटना निम्त्याउन सक्छ।
म बलियो छु, मलाई डिप्रेसन हुन् सक्दैन भन्ने अहम् बोक्नु हँुदैन। डिप्रेसन कमजोरीको संकेत होइन। संसारमा धेरै प्रतिभाशाली व्यक्ति डिप्रेसनको समस्याबाट गुज्रेका पाइन्छ। भर्खरैमात्र भारतीय नम्बर १ नायिका दीपिका पादुकोणले आफू २०१५ मा नराम्रोसँग डिप्रेसनमा परेको र साथीभाइ, परिवार तथा चिकित्सकको सहयोगले यसबाट बाहिर आउन सफल भएको तथ्य सार्वजनिक गरेकी थिइन्। डिप्रेसनको दुःखदायी अनुभवपछि उनी अहिले भारतलगायत विश्वभरि डिप्रेसन जागरणका लागि सक्रिय छिन्। डिप्रेसनलाई स्वीकार गरेर अगाडि बढेमा समाधान खोज्न सकिन्छ भन्ने पादुकोणको सन्देश हो।
डिप्रेसनका लक्षण देखापरेको खण्डमा केही मन्त्र अटुटरूपमा पालन गर्नुपर्छ। जस्तै– दैनिक शारीरिक व्यायाम तथा ध्यान गर्ने, आठ घण्टाभन्दा बढी सुत्ने, आफू पनि खुशी रहने र अरुलाई पनि खुशी बन्न सहयोग गर्ने, रक्सी, चुरोट नपिउने, आफूलाई सक्रिय राख्ने, नकारात्मक सोचबाट आफूलाई मुक्त राख्न प्रयास गर्ने आदि।
डिप्रेसनमा परेका जोसुकैका लागि पनि सबैभन्दा महत्वपूर्ण कुरा, आफ्नो मनस्थितिबारे परिवारका सदस्य तथा आफूले विश्वास गर्ने साथीभाइसँग कुरा गर्नु हो। आफ्नो कुरा अरुलाई सुनाउँदा मात्र पनि डिप्रेसनको बोझ कम हुन्छ। त्यसैले, डिप्रेसनबारे खुला बहस, चर्चा गर्नु अति नै आवश्यक छ। आउनुहोस्, विश्व स्वास्थ्य दिवसको सन्दर्भसँगै घर, परिवार, समाज, साथीभाइ, सञ्चारमाध्यम, कार्यालय सबैतिर डिप्रेसनबारे कुरा गरौँ।
प्रकाशित: २५ चैत्र २०७३ ०३:२५ शुक्रबार