चुरे पहाड चुरे तथा तराईमा बसोबास गर्ने ६१ प्रतिशत जनताका लागि जीवन रेखा हो। बाहिरका मानिसहरूले चुरे पहाड ढुंगा, गिट्टी, माटोले बनेको तथा वन जंगलले ढाकेको निर्जीव क्षेत्र लाग्छ तर चुरे र तराईमा बसोबास गर्ने वासिन्दाका लागि चुरे आमा हो, जसले निरन्तर रूपमा जीवन दायिनी खानेपानी र खेतीपातीका लागि सिँचाइको पानी दिन्छ र अन्नबाली उत्पादन तथा बाँच्नका लागि आधार प्रदान गर्छ। यसलाई पूर्ण रूपमा संरक्षण गर्नुपर्छ। नेपाल सरकारले २०७१ सालमा यसलाई वातावरण संरक्षण क्षेत्र घोषणा गरेको छ। व्यावसायिक रूपमा उत्खनन गरी यसको ढुंगा, गिट्टी, बालुवा बाहिर निकासी गर्नु अनुचित हो।
नेपालको झापादेखि कञ्चनपुरसम्म चुरे तथा तराई क्षेत्रमा बसोबास गर्ने जनताको खानेपानी र सिँचाइका लागि पानीको एक मात्र स्रोत एवम् जलाधार क्षेत्र चुरे पहाड हो। गोलो ढुंगा, माटो र बालुवाबाट बनेको बनावटका हिसाबले चुरे पहाड नेपालको हिमालय शृंखलाको सबैभन्दा कान्छो, कमलो र वातावरणीय दृष्टिकोणले अति संवेदनशील पहाड हो। यस संवेदनशील क्षेत्रमा प्राकृतिक वा मानवले अलिकति पनि खलल पुग्नासाथ यसको पारिस्थितिकीय प्रणालीमा यसले बाढी, पहिरोका रूपमा आफ्नो विकराल रूप देखाइहाल्छ।
चुरेको मुख्य काम वर्षायाममा वनजंगलका रुखविरुवाको सहायताले यसले आफ्नो गर्भमा वर्षाको पानी सोसेर जमिनमुनिको पानी रिचार्ज गर्छ। तसर्थ चुरे र तराई क्षेत्रका जनताका लागि चुरे क्षेत्र सतत् रूपमा खानेपानी तथा सिँचाइका लागि पानी उपलब्ध गराउने आमा हो।
चितवनका बीसहजारी ताल लगायत १७ वटा ताल, कैलालीको घोडाघोडी ताल, दाङको जखिरा ताललगायत ९ वटा ताल, कञ्चनपुरको वेदकोट ताल र झिमिला ताल, सुर्खेतको जजुरा ताल, सिरहा बाबा ताललगायत चुरे क्षेत्रमा करिब ३५ भन्दा बढी ठुला तालतलैया रहेका छन्, जसको पानीको एक मात्र स्रोत चुरे पहाड हो। यी ताल तलैया सिँचाइमा उपयोग गरेर उत्पादनमा वृद्धि, पानीमा पाइने जीवजन्तु तथा पशुपंक्षीको वासस्थान र खानेपानीका स्रोत हुन्। यी तालले जमिनमुनिको पानी रिचार्ज गर्न पनि महत्वपूर्ण भूमिका खेल्छन्। यसबाहेक भावर र तराईमा रहेका कपिलवस्तु जिल्लाको जगदीशपुर ताल, सर्लाही जिल्लाको नारही मैन ताल, बारा जिल्लाको हलखोरिया दह, बाँके जिल्लाको खस्रे ताल, बर्दिया जिल्लाको ताराताल, धनुषा जिल्लाको जंगल दह, कैलाली जिल्लाको पुरैना र जोखर ताललगायत १२० भन्दा बढी तालहरूको पानीको स्रोत चुरे पहाड हो। यी ताल प्रोटिनका रूपमा माछा र घोगीको मुख्य स्रोत पनि हुन्।
चुरेलाई पूर्ण रूपमा संरक्षण गर्नुपर्छ । नेपाल सरकारले २०७१ सालमा यसलाई वातावरण संरक्षण क्षेत्र घोषणा गरेको छ । व्यावसायिक रूपमा उत्खनन गरी यसबाट ढुंगा, गिट्टी, बालुवा बाहिर निकासी गर्नु अनुचित हो ।
चुरे क्षेत्रमा रहेका गाईघाट, सिन्धुली बजार, हेटांैडा, चितवनका पर्सा, दाङ, देउखुरी, लम्ही, सुर्खेतजस्ता मुख्य सहर तथा अन्य साना ठुला बजारमा जनताको खानेपानीको मुख्य स्रोत चुरे पहाड हो। चुरे पहाडको घाँच अर्थात् भावर क्षेत्रमा पूर्वपश्चिम राजमार्गमा पर्ने काकडभिट्टा, दमक, बिर्तामोड, उर्लाबारी, झुम्का, धरान, इटहरी, कल्यानपुुर, मिरचैया, लहान, गोलबजार, ढल्केबजार, बर्दिवास, लालबन्दी, हरिऔन, चन्द्रपुर, निजगढ, पथलैया, अमलेखगन्ज, गैंडाकोट, कावासोती, दुम्कीवास, सुनवल, बुटवल, कोहलपुर, अत्तरियाजस्ता सहरबजारहरू पानीको मुख्य स्रोत चुरे पहाड हुन्। यसबाहेक चुरे क्षेत्रमा वा चुरेसँग जोडिएका १३६ वटा पालिकाहरूमा बसोबास गर्ने मानिसहरूकोे पानीको एक मात्र स्रोत चुरे पहाड मात्र हो।
धनुषा र सिरहा जिल्लामा कमला, चितवन जिल्लाको खगेरी, पूर्वी राप्ती सिँचाइ मकवानपुर र चितवन, लाल वकिया सिँचाइ रौतहट, रिहु खोला सिँचाइ बर्दिया, झिगरिया नाला सिँचाइ बाँकेलगायतका थुप्रै साना र मध्यम खालका सिँचाइ आयोजनाहरू छन्, जसको पानीको जलाधार क्षेत्र चुरे हो। यसबाट हजारौं बिघा खेत सिँचाइ हुने गर्छ र नेपालको कृषि उत्पादनमा प्रत्यक्ष टेवा पुरयाउँछ।
चुरे क्षेत्र नेपालको जैविक विविधताको धनी क्षेत्र हो। बाघ, गैंडालगायत महत्वपूर्ण वन्यजन्तुको वासस्थान यसै चुरे र भावर क्षेत्रमा पर्छन्। चुरे र तराई गरी नेपालको २६.८४ प्रतिशत क्षेत्रफल यसले ओगटेको छ। चुरेले नेपालको कुल क्षेत्रफलको १२.७८ क्षेत्रफल ओगटेको छ। चुरे पहाड नेपालको ७७ जिल्लामध्ये ३७ जिल्लाका १३६ गाउँ तथा नगरपालिकामा पूर्ण वा आशिंक रूपमा फैलिएको छ।
चुरे पहाडको उचाइ समुद्री सतहदेखि १२० मिटर (सप्तरी जिल्लाको कन्चनरूप नगरपालिकाको वरालगाउँ) देखि कैलाली जिल्लाको चुरे गाँउपालिकामा पर्ने १९७२ मिटर उचाइ (भासु पहाड) सम्म रहेको छ। चुरे पहाड नेपालको पूर्वदेखि पश्चिमसम्मको एक मात्र जैविक मार्ग रहेको छ। चुरेको कुल क्षेत्रफल १,८९८,२६३ हेक्टरमध्ये करिव १,३७३,७४३ हेक्टर (७२.३६ प्रतिशत) वनजंगलले ढाकिएको छ।
व्यावसायिक रूपमा उत्खनन् गरी यसको ढुंगा, गिट्टी, बालुवा बाहिर निकासी गर्नुको विकल्पका रूपमा चुरे क्षेत्रमा सघन रूपमा बाँस, अम्रिसो, बेल, हर्रो, बर्रो, अमला, तेजपात तथा अन्य जडीबुटीको व्यावसायिक खेती गरी स्थानीय व्यक्तिहरूलाई रोजगार सिर्जना गरी यसको निकासी गरौं।
चुरे क्षेत्रमा सघन रूपमा बाँस, अम्रिसो, बेल, हर्रो, बर्रो, अमला, तेजपातका लागि रैथाने प्रजातिहरू पनि हुन्। यसबाहेक चुरे क्षेत्रमा वर्षाको पानी जम्मा गरी धेरै संख्यामा तालतलैया बनाई माछापालन, सिँचाइ, पर्यापर्यटनको विकास गरी आम्दनीको स्रोत बढाउने कार्यक्रम गरौं। यसबाट पनि बर्सेनि खर्बांैको आम्दानी हुन्छ। एक पटक माटो, ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरेर निकासी गरेपछि सधैंका लागि हाम्रो पारिस्थितिकीय प्रणाली नास हुन जान्छ। तसर्थ सुनको अन्डा दिने कुखुरा काटेर पछुताउनुको सट्टा भावी सन्ततिको भविष्य विचार गरेर ढुंगा, गिट्टी निकासी गर्नेतर्फको सोच बदलौं।
प्रकाशित: १७ जेष्ठ २०८० ००:२५ बुधबार