पछिल्ला ४ दशकमा चीनको उदय विश्वका लागि सबैभन्दा महत्वपूर्ण परिघटना भएको छ। सन् १९७८ देखि आफ्नो अर्थतन्त्रलाई सुधार र खुला गरेयता चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) चामत्कारिक हिसाबले हरेक वर्ष सरदरमा ९ प्रतिशत रहेको छ। विगत एक दशकदेखि नेतृत्व सम्हालेका वर्तमान राष्ट्रपति सी चिनफिङले विश्वको भूराजनीतिमा चीनलाई नयाँ रूपमा लैजान यो सफलतालाई प्रयोग गर्न चाहेका छन्।
अब आएर यो समग्र विकासक्रमको एक पाटो मात्र बनेको छ।अर्काे पाटो भनेको अहिले चीनको नाटकीय आर्थिक वृद्धि सुस्त बनेको छ। राष्ट्रपति सीले आगामी केही दशकमा चीनलाई कायाकल्प गर्ने उद्घोष गरेका त छन्, तर अर्थतन्त्र बृहत् हिसाबले परिपक्व बनेको भए तापनि सुस्त र निरस बनेको मानिएको छ। एक दशकअघि भविष्यवक्ताहरूले २१औं शताब्दीको मध्य अवधिमा अमेरिकाले हासिल गरेको जिडिपी वृद्धिदरलाई समेत चीनले उछिन्ने र नेतृत्वदायी अग्रतालाई जारी राख्ने आँकलन गरेका थिए। तर अनुमान गरेभन्दा कम हिसाबमा नाटकीय परिवर्तन भएको छ र यसले चीनलाई आर्थिक समता (इकोनोमिक प्यारिटी) नजिक पुर् याएको छ।
चीनलाई नजिकबाट नियाल्ने विज्ञहरूका लागि यो आर्थिक रुझान विवादको विषय बनेको छ। उनीहरूले चीनको वर्चस्व र अमेरिकासँग रहेको प्रतिद्वन्द्वितालाई फरक हिसाबले सोच्न लागेका छन्। एक पक्षको धारणा के छ भने प्रतिद्वन्द्वीका भन्दा चीनको शक्ति कम हुनेछ र यसले चीन झन् खतरनाक बन्नेछ। गत वर्ष प्रकाशित आफ्नो किताबमा लेखक हल व्रान्ड्स र माइकल वेकजेले ‘पिक चाइना’ नामक सिद्धान्तलाई लोकप्रिय बनाएका छन्। यी लेखकले विद्यमान विश्व व्यवस्थालाई प्रभावित पार्ने गरी चुचुरोमा पुगेको चीन क्रमशः क्षयीकरणतर्फ उन्मुख रहेको दाबी गरेका थिए। समय आफ्नो पक्षमा रहेको छ भन्ने आत्मविश्वासलाई चीनले गुमाउँदै गरेको तर्क उनीहरूको थियो। उनीहरूले आफ्नो अध्ययनका सुरुमा चीनले कथङ्कदाचित् ताइवान विरुद्ध युद्ध छेडेमा हुनसक्ने सम्भावित परिणामको चर्चा गरेका छन्।
पिक चाइन थेसिसको प्रमुख तर्क के रहेको छ भने हाल प्रतिकूल हावाले चीनमा आर्थिक वृद्धिका प्रतिकूल परिस्थिति सिर्जना गरेको छ। चीनको जनसांख्यिक संरचना पहिलो प्रतिकूल हावा बनेको छ। गत वर्ष चीनको जनसंख्या चुचुरोमा पुगेको थियो र अहिले भारतले चीनलाई उछिनेको छ। चिनियाँ जोडीलाई एकभन्दा बढी सन्तान जन्माउन चिनियाँ नेतृत्वले गरेको आह्वान असफल रहेको छ। यही कारण यो शताब्दीको मध्यसम्ममा चीनको आर्थिक रूपमा सक्रिय जनसंख्या एक चौथाइले घट्ने संयुक्त राष्ट्र संघको अनुमान छ। यो स्थितिमा विश्वको कारखाना मानिने चिनियाँ कारखानामा युवाहरूको चरम अभाव हुने देखिन्छ। अर्थतन्त्र वद्धिका लागि कामदार संख्या एक प्रमुख पाटो हो। अर्काे पाटो भनेको विद्यमान जनसंख्याको सही उपयोग हो। प्रतिकामदार उत्पादकत्व बढ्ने भनेर भविष्यवाणीकर्ताले गरेको अपेक्षा र आँकलन पनि कमजोर बनेको छ। नयाँ जनसांख्यिक संरचनामा चीनको अधिकांश संसाधन वृद्धवृद्धाको हेरचाहमा जाने देखिन्छ। यसले विगत दशकमा भवन, राजमार्ग तथा रेलमार्गलगायतका भौतिक संरचनामा गरिएको लगानीको प्रतिफल न्यून हुने प्रस्ट छ।
सीको तानाशाही रुझानले स्थानीय व्यवसायीहरूलाई चिन्ता थपेको छ र यसले दीर्घकालसम्म नवीनताको खोजी गर्ने चिनियाँ क्षमतालाई घटाउने देखिएको छ। अर्काेतर्फ भूराजनीतिक तनाबले विदेशी फर्महरूले आपूर्ति शृंखलालाई चीनबाट अन्यत्र मोड्न सक्ने देखिएको छ। यसैगरी चीनको आधारभूत प्रविधिगत क्षमतालाई कमजोर पार्न अमेरिका सक्रिय रहेको छ। विशेषगरी अमेरिकाले चिनियाँ फर्महरूलाई सेमिकम्डक्टर र मेसिन आपूर्ति गर्न प्रतिबन्ध लगाएका कारण चीनको कुल गार्हस्थ उत्पादन प्रभावित हुने देखिन्छ।
यी समग्र विकासक्रमले चीनको आर्थिक सम्भावनाको भविष्यवाणी गलत हुने देखिएका छन्। १२ वर्षअघि गोल्डम्यान स्याक्सले जिडिपीको हिसाबमा सन् २०२६ मा चीनले अमेरिकालाई उछिन्ने र वर्तमान शताब्दीको मध्यदेखि यो अमेरिकाको भन्दा ५० प्रतिशतले बढी हुने प्रक्षेपण गरेको थियो। गत वर्ष गोल्डम्यान स्याक्सले आफ्नो यसअघिको प्रक्षेपणलाई परिमार्जन गर्दैे सन् २०३५ मा मात्र अमेरिकालाई चीनले उछिन्ने र यो अमेरिकाको भन्दा १५ प्रतिशत मात्रले बढी हुने बताएको थियो। अन्य प्रक्षेपण झन् निराशाजनक छन्। क्यापिटल इकोनोमिक्स नामक रिसर्च फर्मका अनुसार चीनको अर्थतन्त्रले अमेरिकाको अर्थतन्त्रलाई उछिन्न सक्ने छैन बरु सन् २०३५ सम्ममा अमेरिकाको अर्थतन्त्रको ९० प्रतिशतको हाराहारी यो पुग्नेछ। त्यसो त यी भविष्यवाणीहरू अनिश्चित छन्। अर्काे दशक अथवा त्यसको हाराहारीमा अमेरिका र चीनको आर्थिक अवस्था झन्डै उस्तै रहनेछ र आगामी कैयन् दशकसम्म यो जारी रहनेछ।
अर्थतन्त्रको यो समथर पक्षलाई चीनले कसरी सम्बोधन गर्ने छ त? उत्पादकत्व वृद्धिका लागि राष्ट्रपति सीले केही परिवर्तन गर्नेछन्। प्रतिव्यक्ति आयमा अमेरिकाका भन्दा आधाले कम रहेको चीनका सर्वसाधारण आफ्नो जीवनस्तर उठाउन इच्छुक छन्। यो सन्दर्भमा राष्ट्रपति सीले नागरिकलाई स्वतन्त्र आवागमनलगायत अर्थव्यवस्था सुधार्ने दिशामा अन्य प्रोत्साहन दिन सक्नेछन्। विशेषगरी सरकारी स्वामित्वका बंैक र व्यवसायमा रहेको निर्भरतालाई चीनले अन्त गर्न सक्नेछ र सँगसँगै चीनमा व्यवसाय गर्न सहज छ भन्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन र भूराजनीतिक तनाबलाई कम गर्न थप कदमहरू चाल्न सक्नेछन्। यी सुधारले चीनलाई अन्ततः झन् शक्तिशाली पार्नेछ र सँगसँगै कम आक्रामक बनाउनेछ। तर ६९ वर्षका वर्तमान राष्ट्रपति सी आर्थिक तथा राजनीतिक उदारताको पक्षमा छैनन्।
निराशावादीहरूको चिन्ता के छ भने अर्थव्यवस्था कमजोर रहेको अवस्थामा चीन झन् आक्रामक हुन सक्नेछ। यो आँकलनलाई बल पुर् याउने अनेक कारण पनि छन्। राष्ट्रपति सीले खतरनाक हिसाबले राष्ट्रवादको नारालाई अगाडि बढाएका छन् र आफ्नो नेतृृत्वका आलोचकलाई चीनका आलोचक संज्ञा दिएका छन्। यो वर्ष चीनको सैनिक खर्च कुल गार्हस्थ उत्पादनकै अनुपातमा ७ प्रतिशतले बढ्ने अनुमान छ। अमेरिकी सैनिक खर्चभन्दा चीनको कम रहे तापनि त्यही हाराहारीमा पुग्ने क्रममा छ। सन् २०३० सम्ममा चीनको जलसेना अमेरिकाको भन्दा ५० प्रतिशतले ठुलो हुने र सन् २०३५ सम्ममा चीनले आणविक हतियार चारगुणाले बढाउने अनुमान छ।
‘चीनको आर्थिक शक्ति चुचुरोमा पुग्न सक्ला तर अमेरिकालाई विश्वव्यापी चुनौती दिन सक्षम अर्काे राष्ट्र छैन,’ आफ्नो किताबमा व्रान्ड्स र वेकलेले भनेका छन् ।
प्रकाशित: ३० वैशाख २०८० २३:५९ शनिबार