संक्रमित स्त्री लामखुटे्को टोकाइका कारण हुने मलेरिया रोग अझै पनि मानव जीवनका लागि खतरायुक्त रोग रहेको छ। यो रोग ५ थरीका प्लाज्मोडियम मलेरिया पारासाइटका कारण हुने गर्छ। विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको विश्व मलेरिया रिपोर्ट–२०२२ अनुसार हाल विश्वमा २४ करोड ७० लाख मलेरियाका रोगी छन् भने सन् २०२१ मा यो रोगका कारण ६ लाख १९ हजारको मृत्यु भएको थियो। प्रतिवेदनका अनुसार मृत्य हुनेमा अधिकांश अफि«की राष्ट्रका छन्।
संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रको कार्यालयअनुसार यो क्षेत्रमा सन् २०२१ मा यो रोग ८ दशमलब ४ प्रतिशतले बढेको थियो। उता विश्व स्वास्थ्य संगठनको पश्चिमी प्रशान्त क्षेत्रमा सन् २०१९ को तुलनामा सन् २०२१ मा यो रोगको उपस्थिति १४ प्रतिशतले घटेको छ। मेडिटेरियन क्षेत्र सन् २००० देखि सन् २०१५ सम्म यो रोगलाई ३८ प्रतिशतले घटाउन सफल भएको थियो तर यो क्षेत्रमा सन् २०१५ देखि २०२१ सम्म यो ४४ प्रतिशतले बढेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र एसिया प्रशान्त क्षेत्रमा रहेको मलेरिया एलायन्सले संयुक्तरूपमा सोमबार लिडर्स कन्क्लेभ अयोजना गरेका छन् र मलेरिया उन्मूलनका दिशामा भएका प्रगतिको समीक्षासहित सन् २०३० भित्रै मलेरिया उन्मूलन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसो त विगत केही दशकमा मलेरिया रोग विश्वको मानचित्रमा बिस्तारै हट्दै गएको छ। सन् १९५५ देखि २०२३ सम्म विश्वका ४१ देश र एक स्वशासित क्षेत्र (टेरिटोरी) ले विभिन्न माध्यममार्फत मलेरिया उन्मूलन गरिसकेका छन्। यही अवधिमा खासै प्रयास नगरी अन्य ६१ देशबाट मलेरिया उन्मूलन भैसकेको छ। एसिया तथा प्रशान्त क्षेत्रका ४८ देशमध्ये २० मा अझै पनि मलेरिया व्याप्त छ र विशेष र सुदृढ प्रयास भए मात्र यी देशबाट मलेरिया उन्मूलन हुन सक्छ। विश्वका जनस्वास्थ्य विषयका पेसेवार, सम्बद्ध देशका स्वास्थ्य मन्त्रालय तथा अन्य अन्तर्राष्ट्रिय निकायहरू संयुक्तरूपमा यो रोग अन्त गर्न प्रयासरत छन्।
हामीले एसिया तथा प्रशान्त क्षेत्रका कोही पनि सर्वसाधारण मलेरियाका कारण मृत्युवरण गर्नुपर्ने स्थिति अन्त गर्न आवश्यक छ। यो क्षेत्रका बालक मलेरियाका कारण विद्यालय जानबाट वन्चित हुनुहुँदैन। गर्भवती महिला यो रोगका कारण रोगी बच्चा जन्माउन बाध्य हुनुपर्ने र सर्वसाधारणले रोगका कारण जागिर गुमाउनुपर्ने स्थिति अन्त हुनै पर्छ। यसो गर्न सकेमा यो क्षेत्रका देशले मलेरिया नियन्त्रणका नाममा बर्सेनि कार्यक्रम सञ्चालन गर्न र रोग नियन्त्रणमा खर्च गर्नुपर्ने आवश्यकता अन्त हुनेछ।
पछिल्ला वर्षमा श्रीलंका, माल्दिभ्स र चीनले मलेरिया उन्मूलनको क्षेत्रमा ठूलो सफलता हासिल गरेका छन् र यसले यो क्षेत्रका अन्य देशले पनि यो सफलता हासिल गर्न सक्छन् भन्न्ने विश्वास सिर्जना भएको छ। यसो हुँदाहुँदै पनि यो क्षेत्रमा यो रोग उन्मूलनका लागि विभिन्न चुनौती विद्यमान छन्। नागरिक द्वन्द्व, राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप, कमजोर स्वास्थ्य प्रणाली तथा बाह्य सहयोगको उचित प्रयोग गर्न सक्ने क्षमताको अभावका कारण म्यानमार, पाकिस्तान, अफगानिस्तान, पपुवान्युगिनी र सोलोमान आइल्यान्डले विभिन्नखाले चुनौती बेहोरिइरहेका छन्। यसैगरी भारतको मध्य प्रदेशले मलेरिया उन्मूलनको क्षेत्रमा ठूलो परियोजना सञ्चालनमा ल्याएको छ। यो परियोजनाका अनुभवबाट भारतका अन्य राज्य, अन्य देश र क्षेत्रले सिक्न सक्छन्।
गर्भवती महिला यो रोगका कारण रोगी बच्चा जन्माउन बाध्य हुनुपर्ने र सर्वसाधारणले रोगका कारण जागिर गुमाउनुपर्ने स्थिति अन्त हुनै पर्छ। यसो गर्न सकेमा यो क्षेत्रका देशले मलेरिया नियन्त्रणका नाममा बर्सेनि कार्यक्रम सञ्चालन गर्न र रोग नियन्त्रणमा खर्च गर्नुपर्ने आवश्यकता अन्त हुनेछ।
यो परियोजनाका मुख्य सिकाइ निम्न छन्– व्यवस्थापन, प्रविधि, अपरेसन तथा वित्तीय क्षेत्रमा कार्यरत जनशक्ति र आपूर्ति प्रणालीमा निगरानी पहिलो सिकाइ हो भने स्वास्थ्य विज्ञले गर्ने स्वतन्त्र समीक्षा अर्काे महत्वपूर्ण पक्ष हो। यसैगरी रियल टाइम तथ्यांकको समीक्षा, नियमित ब्रिफिङ तथा तथ्यांकको साझेदारिता अन्य महत्वपूर्ण सिकाइ हुन। म दाबी गर्न सक्छु, भारत र एसिया प्रशान्त क्षेत्रका अन्य देश सन् २०३० सम्म मलेरिया मुक्त हुन सक्छन्।
यो क्षेत्रका राजनीतिक नेतृत्वले मलेरियामुक्त देशको अभियान आफैँबाट सुरु हुन्छ भन्ने धारणा आत्मसात गर्नुपर्छ। यस्ता अभियान सम्बद्ध देशका प्रधानमन्त्रीले उदघाट्न गर्ने र स्वास्थ्यमन्त्रीले नेतृत्व गर्नुपर्छ। यसैगरी विभिन्न राज्य तथा जिल्लाका प्रमुखहरूले यो अभियानलाई स्थानीय स्तरमा अगाडि बढाउन आवश्यक छ। समयमै मलेरिया उन्मूलन गर्न यो क्षेत्रले आपसी हातेमालो र सहकार्य गर्न आवश्यक छ। सन् २०३० सम्म मलेरियामुक्त एसिया प्रशान्त क्षेत्र बनाउन रोगको पहिचान, उपचार विधि र औषधिहरूको उपलब्धतामा विशेष ध्यान दिनुपर्दछ।
जबसम्म यो समग्र क्षेत्रमा मलेरिया उन्मूलन हुन सक्दैन, मलेरिया उन्मूलन गर्न सफल रहेका राष्ट्र पनि लगातार यसको जोखिममा रहने देखिन्छ। त्यसैले यो चुनौती सामना गर्न सीमापार समन्वय हुन आवश्यक छ। समग्र क्षेत्रलाई समेटेर समन्वय गर्न आवश्यक छ। त्यसैले, यो क्षेत्रका सबै राष्ट्रले एकापसमा हातेमालो गर्दे सहकार्यमार्फत यो अभियान अगाडि बढाउन आवश्यक छ। सँगसँगै, अन्तर्राष्ट्रिय दातृ निकायले दिने सहयोग र सम्बद्ध देशले गर्ने आफ्नै लगानीको यथोचित उपयोगले सही नतिजा दिन सक्छ।
(अल्ताफ अहमद ग्लोबल हेल्थ एन्ड इनोभेसन,
सन फर्माका वरिष्ठ सल्लाहकार हुन्।)
प्रकाशित: १३ वैशाख २०८० ००:३८ बुधबार