१ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

३३ किलो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक ३३ किलो सुन भेटियो। तर आश्चर्य, सुनको मालिक भेटिएन। ३३ किलो भनेको सानो कुरा होइन। ३३ किलो त बाटोमा आलुमात्रै भेटिए पनि मानिस 'मेरो! मेरो!' भन्दै हारालुछ गर्न पुग्छन्। तर यति बेला ३३ किलो सुन भेट्दा पनि मेरो हो भन्न कोही पनि आएन।

अब यही विषयलाई लिएर देशमा पूरा हंगामा छ। बाटोमा ३३ किलो सुन भेटियो। तर मालिक नभेटेर प्रहरीलाई टेन्सन छ। सुन भेटेर पनि मालिक नभेटिनु झन् टेन्सन हुँदो रहेछ। त्यही भएर विमानस्थलका प्रहरीहरू अक्सर गरी त्यस्तो सुन भेटिहाल्यो भने पनि नदेखेझैँ गरिदिन्छन्। किनभने मालिक नभएको सुन भेट्टाउनु त बडो डरलाग्दो पो हुने रहेछ। सुन भेट्टायौ, अब मालिक पनि भेट्टाऊ भनेर हैरानै पार्ने रहेछ।

सरकारले सुन त भेट्टायो तर मालिक नभेट्टाएकाले उसको ठूलै बेइज्जत भएको छ। यस्तो अवस्थामा सुन मालिक पक्राउ पर्‍यो भन्ने खबर दिन सकियो भने सरकारको त ठूलै नाक जोगिएला।

३३ किलो सुनको मालिकबारे गृह मन्त्रालयमा उधुम मच्चिरहेको थियो। त्यही बेला बैठक कोठामा कसैले ढोका ढकढकाए। सुरुमा त कसैले ध्यान दिएको थिएन। तर लगातार तीन चार पटक नै ढक्ढकाएपछि पालेले ढोका खोले। बाहिर एउटा मरनच्याँसे जिउडाल भएको मानिस खडा थियो। फू गर्दा नि ढल्ला कि जस्तो। यस्तो गोप्य बैठक भइरहेको ठाउँसम्म कसरी पुगेको होला?

उनलाई देख्नेबित्तिकै पालेको नाक खुम्चियो। पालेले घृणापूर्वक सोधे, 'किन? कसलाई भेट्न आउनुभएको?'

मरनच्याँसेले भने, 'म कसैलाई भेट्न आ'को होइन।'

'अनि किन आ'को त?,' पालेको स्वरमा क्रोध पनि मिसियो, 'ल गइहाल।'

'किन जाने?' मरनच्याँसेले आँखा ठूलठूलो पारे, 'पहिले मेरो सुन देउ, अनि जान्छु।'

'सुन देउ रे?,' पाले छक्क परे, 'कुन सुन?'

'उही...' मरनच्याँसेले बैठक भित्रतिर इशारा गर्‍यो, 'अस्ति भेट्टाएको।'

'अस्ति भेट्टाएको?' पाले अहिले छक्क होइन तीन छक्क परे, 'त्यही ३३ किलो?'

'अनि के त?' मरनच्याँसेको आँखा चम्क्यो।

'त्यो ३३ किलो सुन तिम्रो हो?' पालेको आँखा झन् चम्क्यो।

'त्यही त..' पालेले कुरा बुझेजस्तो लागेर होला, मरनच्याँसेको मुहारमा खुशी छायो। दंग पर्दै भने, 'त्यो ३३ केजी सुन मेरै हो। अहिले त्यही लिन आएको। खोइ दिनोस्।'

'३३ किलो सुनको मालिक?' पालेले मरनच्याँसेलाई तलदेखि माथि, माथिदेखि तल यसरी हेरे मानौं उनी मानिस होइन त्यही ३३ किलो सुनले बनाइएको कुनै मूर्ति हो। पालेले सम्झाए, 'हेर दाजु, यति बेला यस्तो मजाक नगर तिमी। सुनको कारणले सरकार त्यसै पनि टेन्सनमा छ। नचाहिने मुद्दामा फसौला।'

'किन फस्छ? आफ्नो सुन माग्न आउँदा फसाउन मिल्छ मलाई? के आफ्नो सुनलाई आफ्नो पनि भन्न  पाउँदिन म?' मरनच्याँसे पनि फन्के।

अबचाहिँ प्ाालेले सम्झाउने शैलीमा भने, 'यो सुन मेरो हो भन्दैमा सरकारले तिमीलाई त्यसै दिएर पठाउँछ? प्रमाण खोइ? सुन किनेको बिल छ? राजश्व तिरेको कागज छ?'

'त्यो त छैन।'

'अनि कसरी तिम्रो भयो त? लगेर जेल हाल्ला, होस गर दाजु।' पालेले सम्झाउन छाडेन।

तर मरनच्याँसे सम्भि्कए पो! झन् उल्टो भने, 'हाले हालोस्। के फरक पर्छ?'

पाले झस्किए। यो सुन काण्डमा जेल पर्नुपर्ने त यसको मालिक हो। तर जेल जान त यो मरनच्याँसे पो तयार भएर आएछ। कतै यो सुन मालिकले नै पठाएको मान्छे त होइन? यसलाई जेल पठाएर आफू बच्न यस्तो उपाय गरेको पनि हुन्छ। तस्करको के भरोसा?

पालेले विस्तारै सम्झाए, 'हेर दाजु, तिमी यो सुनको मालिक त हुँदै होइनौ। त्यो हामीलाई राम्रै थाहा छ। तर तिमीले यो मेरै सुन हो भनेर कतै सुनको मालिकलाई बचाउन खोजेको त होइन?'

अबचाहिँ मरनच्याँसे पनि थोरै गम्भीर भए। शायद चोर पक्राउ हुनै लागे भन्ने ठानेर होला। उनले विस्तारै भने, 'म सुन मालिकलाई बचाउन आएको होइन।'

पालेले सोधिहाले, 'अनि कसलाई बचाउन आएको त?'

मरनच्याँसेले भने, 'म वास्तवमा सरकारलाई बचाउन आएको हुँ।'

'सरकारलाई? कसरी?' पाले दोस्रो तीन छक्कमा परे।

मरनच्याँसे बोले, 'सरकारले सुन त भेट्टायो तर मालिक नभेट्टाएकाले उसको ठूलै बेइज्जत भएको छ। सुन कसरी बाहिर गयो, कसले निकाल्यो, कसलाई निकाल्यो भन्ने सवालको जवाफ दिन नसकेर सरकारको बेहाल भएको छ। यस्तो अवस्थामा सुन मालिक पक्राउ पर्‍यो भन्ने खबर दिन सकियो भने सरकारको त ठूलै नाक जोगिएला। त्यही भएर आएको हुँ। सुन मालिकसँग मेरो कुनै लेनादेना छैन। तर एउटा गणतन्त्रवादी भएको नाताले गणतान्त्रिक सरकारलाई सहयोग गर्नु मेरो नागरिक कर्तव्य होइन र?'

सरकारलाई बचाउने यस्ता नागरिक भएपछि सरकारलाई अरु के चाहियो?    

प्रकाशित: २९ पुस २०७३ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App