७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

राज्यको प्रहसन

बहादुर शाहले राष्ट्रिय एकता बलियो बनाएर नेपालको सिमाना गंगोत्री, यमुनोत्री, बद्री र केदारसम्म पुर्‍याएका थिए। यमुना नदीसम्म नेपाल फैलियो। बाइसी–चौबीसीदेखि कुमाउँ र गढवालसम्म नेपाल विस्तार भएपछि जनता उत्साही भए। किल्ला–काँगडासम्म नेपालको प्रभाव फैलियो। अहिलेको उत्तर प्रदेश र उत्तराखण्ड जस्ता भारतीय प्रान्तका लाखौँ बिगाह जमिन नेपालअन्तर्गत थियो भन्ने सुन्दा विद्यार्थी मात्र होइन, इतिहासको सामान्य ज्ञान नभएका धेरैजना चकित हुने गर्छन्।

पृथ्वीनारायण शाहले ससुरालीको राज्य मकवानपुर जितेपछि भाइ महोद्दामकीर्ति शाहलाई प्रमुख प्रशासक बनाए। भाइले त्यस क्षेत्रको राजा हुन राष्ट्र टुक्र्याउने षडयन्त्र गरेको गुप्त खबर पाएपछि पृथ्वीनारायणले राष्ट्रघाती ठहर गर्दै उनलाई देश निकाला गरे। यसअघि पाटनका प्रमुख प्रशासक बनाइएका भाइ दलमर्दन शाहले राष्ट्र टुक्र्याएर पाटनको राजा हुन चाहेका थिए। उनलाई पनि राष्ट्रद्रोही घोषणा गरेर देश निकाला गरियो। देश टुक्र्याउन खोज्ने दुस्साहसको अर्थ हुन्छ, सर्वोपरि हुनुपर्ने देश वा राष्ट्रको विखण्डन। त्यस्तो प्रवृत्ति रोक्न पृथ्वीनाराणले भाइहरूलाई समेत कठोर कारबाही गरे। ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्नेहरूले पृथ्वीनारायणलाई आदर्श मान्नुपर्ने मुख्य कारण उनको अठोट हो।

इलामलाई नेपालको मानचित्रमा समेटेको केही महिनापछि १८३१ माघ १ गते नुवाकोटमा पृथ्वीनारायणको निधन भयो। त्यो बेला उनका भाइ सुरप्रताप शाह र कान्छा छोरा बहादुर शाह त्यहाँ थिए। दुर्भाग्यको कुरा, पृथ्वीनारायण जेठा छोरा प्रतापसिंह र प्रतापका भाइ बहादुर शाहबीच मतभिन्नता भएपछि राष्ट्र कमजोर हुँदै गयो। त्यसपछि शत्रुले हेप्न थाले। घर होस् वा राष्ट्र, एकता हुन सकेन भने इज्जत रहँदैन। अस्तित्व संकटमा पर्छ। नेपालमा आज विदेशीले हेप्ने कारण त्यही हो।

लमजुङका राजा यशोब्रह्म शाहका सुपुत्र द्रव्य शाह १६१६ भदौ २५ मा गोरखाको राजा भएपछि भगीरथ पन्थ (पन्त होइन) प्रधानसेनापति भए। गणेश पाँडे (पाण्डे होइन) प्रधानमन्त्रीको काम गर्ने ‘मूलकाजी’ भए। मूर्ति खवास, केशव बोहरा, गंगाराम रानामगर, सर्वेश्वर खनाल आदिको सहयोगमा द्रव्य शाहले राज्य चलाए। १६१६ देखि १८२५ सालसम्ममा नेपाल एकीकरणको प्रथम चरणमा बंगाली फौज र अंग्रेजसँगको युद्धमा नेपाली सेनाले कसको नेतृत्वमा कसरी राष्ट्रको रक्षा गरेको थियो भन्ने कुरा नेपाली सेनाले राम्रोसँग आत्मसात नगरेको इतिहासविद्हरू बताउँछन्। उनीहरू भन्छन् “सतही अध्ययन पर्याप्त हुँदैन।”

सैनिक इतिहासका ज्ञाता डा. प्रेमसिंह बस्न्यातले सेनाको इतिहास द्रव्य शाहकै पालाबाट सुरु भएको तर्क गर्दै इतिहासको अवमूल्य गर्न नहुने बताउनुभएको छ। उहाँको कथन छ–राष्ट्रको इतिहास सेनासँग गाँसिन्छ। आजको विश्वमा राष्ट्रिय सुरक्षा र आर्थिक स्वार्थ परस्परमा गाँसिएका छन्। कुनै पनि राष्ट्र समस्याबिहीन छैन। लामो दुस्मनीपछि इरान र साउदी अरेबियाको सम्बन्ध सुध्रेको छ। चीनले मुसलमान राष्ट्रहरूमा अर्बौ डलरको कारोबार गर्ने र अमेरिकासँग बिग्रिएको सम्बन्धमा मुस्लिम राष्ट्रहरूको समर्थन जुटाउने अभिप्रायले दीर्घकालसम्मको कूटनीतिक मार्गचित्र बनाएर तेहरान र रियादबीच ‘दोस्ती’ गराएको छ। सुरक्षात्मक रणनीतिमा भारत र चीनको अन्तराल बढे पनि आर्थिक हितका सवालमा दुवै राष्ट्र नजिक हुँदै गएका छन्।

नेपालमा बसेर पश्चिमा शक्तिले चीनलाई चिराचिरा पार्न खोजेको हुँदा भारत पनि सतर्क हुनुपर्ने दिल्लीका कतिपय प्रबुद्धहरूको विश्लेषण छ। नेपालमा राजनीतिक अस्थिरता भइरहेको खण्डमा दिल्ली र बेइजिङका लागि घातक बन्ने उनीहरूको मीमांसा गलत छैन। यही कारण उनीहरू तटस्थ, स्थायी, परिपक्व र मित्रवत् शक्तिको आवश्यकता देखिरहेका छन्। बितेका बाह्र तेह्र वर्षमा देखिएका परिदृश्य कूटनीतिक दृष्टिले अत्यन्तै अप्रिय देख्ने स्वदेशी र विदेशी प्रबुद्धहरू भन्छन्-“राष्ट्रको लक्ष्य अल्मलिएको छ। कहाँ पुग्ने, कसरी पुग्ने, कस्तो राजनीतिक प्रणालीलाई भरोसा गर्ने र जनताका अपेक्षाहरूको सम्बोधन गर्नुपर्ने गहन विषयमा छलफल हुँदैन। त्यसकारण राजनीतिक दलहरू सत्ताकै वरिपरि प्रदक्षिणा गरिरहन्छन् भन्ने आरोप मिथ्या देखिँदैन।”

समस्या मात्र छैनन्, समाधानका प्रशस्त उपाय छन्। सरकारले स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा जोड दिने हो भने राष्ट्राध्यक्षदेखि वडाध्यक्षसम्मले स्वदेशी वस्तु मात्रै प्रयोग गर्नुपर्छ। विज्ञान प्रविधि र अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुमा परनिर्भरता नहटाउने हो भने आर्थिक दृष्टिले राष्ट्र जर्जर बन्दै जाने सम्भावना रहन्छ। राष्ट्रको रक्षा गर्ने गुणात्मक शिक्षा नहुँदा उच्चशिक्षाको स्तर परिणाममुखी बन्न सकिरहेको छैन।

त्रिभुवन विश्वविद्यालयदेखि लिएर लाखौँ विद्यार्थीको भविष्य प्रश्नचिह्नको घेरामा परेको देखिन्छ। राज्यसंयन्त्र अनुत्तरदायी भएकै कारण न्याय पाउनसमेत सडकमा प्रदर्शन गर्नुपर्ने लज्जास्पद अवस्थाले ‘डेमोक्रेसी’ नै हास्यव्यङ्ग्य बनिरहेको छ। प्रधानमन्त्री लगायत कुनै ‘जिम्मेवार’ व्यक्तिले राष्ट्रोत्थान गर्छौं, जनताको स्तर उकास्छौँ, शान्ति, स्थिरता र विकासका लागि सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्छौँ भनेको खण्डमा अधिकांश जनताले त्यस्तो कथनलाई राज्यको प्रहसन ठान्ने गरेका छन्।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १६ खर्ब, ८८ अर्ब, ४० करोड रुपियाँ आवश्यक पर्ने सुझाव दिएको छ तर स्रोतहरू सुकिरहेका छन्। हजारौँ राजनीतिकर्मी पाल्नुपर्ने संघीय प्रणाली नै आर्थिक बोझ र प्रशासनिक झन्झटका कारण आलोच्य बनेको छ। प्रतिष्ठाको विषय बनाएर यही पद्धतिलाई मलजल गरिरहँदा आर्थिक संकट बढ्ने अर्थशास्त्रीहरूको तर्क छ। महालेखा परीक्षकको कार्यालयले राजस्व घटेर फागुनसम्म ५ खर्ब ७१ अर्ब रुपियाँ मात्र जम्मा भएको तर कर्मचारीलाई तलव भत्तामा मात्र यो अवधिमा ६ खर्ब चार अर्ब रुपियाँ पुगेको जनाएको छ। ‘चार आनाको कुखुरा पकाउँदा बाह्र आनाको मसला’ खर्च भएझैँ राष्ट्रिय आम्दानी र खर्चबीच तारतम्य देखिँदैन।

रोग, भोक, अभाव र युद्धमा पाँच करोड मानिस मरे, दोस्रो महायुद्ध र त्यसपछिका केही वर्षमा। कतिपय राष्ट्रले साम्राज्यवाद र विस्तारवादबाट उन्मुक्ति पाए पनि वैचारिक दासत्व निर्मूल भएन। उदाहरणका लागि ८३९ वटा भाषा भएको पपुवा न्युगिनीमा टाठाबाठा, नीतिनिर्माता र हुनेखानेले अंग्रेजी नै चलाउँछन्।

भारतीय संविधानको आठौँ अनुसूचीमा प्रमुख आठ भाषालाई मान्यता दिए पनि कन्याकुमारीदेखि काश्मीर क्षेत्रका करोडौँको सम्पर्क भाषा अंग्रेजी हो। ‘खाना खानुअघि हात धुनू’ भनेर सिकाउने दुर्गम गाउँका केटाकेटीलाई ‘इङ्लिस’ स्कुलहरूले टाइ झुड्याउनै पर्ने बाध्यतापूर्ण व्यवस्था गरेका छन्। नेपालका प्राचीन धर्म, संस्कृति र परम्परा मासिँदै गए पनि जन्म दिन मनाउँदा बत्ती निभाएर केक काट्नुपर्छ भन्ने ‘सभ्यता’ सिकाइन्छ। वैचारिक दासत्वका यस्ता उदाहरण धेरै छन्।

राष्ट्रको मूलनीतिमै राष्ट्रवाद र देशभक्ति भएन भने त्यो राष्ट्र विस्तारै निर्जीव हुन्छ। दलहरूको राजनीति सत्ताका लागि, स्कुल–कलेजको शिक्षा जागिरका लागि, मायाप्रेम मनोरञ्जनकाका लागि, सामाजिक सम्बन्ध स्वार्थका लागि र व्यापार–व्यवसाय अनैतिकरूपमा उपभोक्ता ठग्नका लागि केन्द्रित रहने हो भने त्यो राष्ट्रको विश्वसनीयतामा पहिरो जान्छ। संख्यात्मक हिसावले १७६ राष्ट्रसँग नेपालको कूटनीतिक साइनो भए पनि तीमध्ये कतिवटा राष्ट्रले हामीलाई पत्याउँछन्? विश्वास गरेको भए धेरै राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखले नेपालसँग हृदय खोलेर सम्वाद गर्ने थिए तर सरकारी प्रहसन हेरिरहेका धेरैवटा राष्ट्रले राजनीतिक अस्थिरता र कूटनीतिक ‘भाँडाकुटी’ देखेर खित्का छाडिरहेका छन्।

सच्चिने कि सिद्धिने? भन्ने गम्भीर प्रश्नको उत्तर खोज्नुपर्छ भन्ने सुझावलाई निराशाको उत्कर्ष ठान्नु हुँदैन। सिंहदरवारको बार्दलीबाट देखिने रमझम र पानी चुहिने छाप्राहरूबीच ठूलो अन्तराल छ। यो विवादपूर्ण अवस्था रहिरहने भने भोलि के हुन्छ, हामी अनुमान पनि गर्न सक्दैनौँ।

प्रकाशित: ३ चैत्र २०७९ ००:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App