अन्ततः निर्वाचनपूर्वको गठबन्धन राष्ट्रपतिको निर्वाचनले पुनः जीवित गरायो। नेपाली कांग्रेसका नेताहरू एक महिना पहिलादेखि नै एमालेसँग गठबन्धन टुट्ने र कांग्रेससँगको गठबन्धन छिट्टै बन्नेमा आशावादी देखिएका थिए। नेताहरू कांग्रेस छिट्टै सरकारमा जाने भनी निकै प्रचारबाजीमा रहेका थिए। पार्टी सभापति बोल्नुभएको थिएन। उहाँपछिका दुवै गुटका पदाधिकारी, पूर्वपदाधिकारीहरू एमाले नेतृत्वको गठबन्धन छिट्टै तोडिँदैछ भन्ने सन्देश फैलाउँदै हुनुहुन्थ्यो। एकजना महामन्त्रीले त फागुन १० गते निर्वाचनपूर्वको पुरानो गठबन्धन पुनः बन्ने भनेर ठोकुवा नै गरिदिनुभएको थियो। उहाँहरूको भाषाबाट यस्तो लाग्थ्यो, माओवादीसँगको गठबन्धन टुटी कांग्रेस सत्ताबाट बाहिर भएपछि देश बर्बाद भैरहेको छ। यो गठबन्धन नतोड्ने हो भने लोकतन्त्र समाप्त हुन्छ, सर्वनाश निम्तन्छ। तसर्थ लोकतन्त्र बचाउन एमालेसँगको गठबन्धन टुटाइ कांग्रेस सत्तामा जानुपर्छ। अब नेताहरू देश बनाउने मौका पुनः आउन लागेकामा सन्तुष्ट बन्नुभएको होला।
एमालेका सर्वेसर्वा केपी ओलीले भन्नुभयो, राष्ट्रघाती, देशी विदेशी तत्व एमालेलाई सत्ता गठबन्धनबाट बाहिर फ्याँक्न कोसिस गरिरहेका छन्। उहाँकै भाषामा एमाले यो देशको रक्षा गर्ने पाले हो। पालेलाई नहटाइ भित्र गएर बदमासी गर्न पाइँदैन। त्यसैले देश लुट्न चाहनेले पहिला देशको पाले एमालेलाई नै आक्रमण गर्छ। तसर्थ देश बचाउनका निमित्त एमाले सत्तामा रहनुपर्छ। अब एमाले देशको मायाले प्रचण्ड सरकारमा नै रहने हो कि बिदेशी षडयन्त्र देखेर (एमालेको भाषामा) सत्ताबाट बाहिरिने हो, २५ गतेपछि थाहा होला। एमाले कामरेडहरूको भाषा हेर्दा सरकारबाट बाहिरिने सम्भावना धेरै देखिन्छ। तर प्रदेश सरकारको मोह तथा संघीय सरकारमा प्राप्त हिस्सा सुरक्षित गर्न एमालेसमेत सरकारमा रहेमा आश्चर्य नमान्दा हुन्छ। कानुनतः वर्जित भए तापनि यो देशमा बहुपत्नी र कतै कतै बहुपति प्रचलन अझै विद्यमान छ।
पञ्चायत ढलेपछि बनेको पूर्वपञ्चहरूको पार्टी छ राप्रपा। उसको भनाइ छ, यो देश राजा फालेकाले बिग्रेको हो। राजा हुँदा सबै ठीकठाक थियो। जब कांग्रेस कम्युनिस्ट मिलेर राजा हटाए, देश बिग्रन सुरु भयो। राष्ट्रियता कमजोर भयो, देशको प्रगति पनि अवरुद्ध भयो। यो देशका नायक राजा हुन। पृथ्वीनारायण शाहले कमाइदिएको देशलाई उनका सन्ततिले जति माया अरू कुनै नेपालीले गर्दैन, गर्न सक्दैन। पृथ्वीनारायणका वंशजले शासन नगरे यो देशको अस्तित्व रहँदैन। राजतन्त्र नरहँदा सनातन धर्म पनि मासियो। सनातन धर्म बचाउनसमेत राजतन्त्र पुनर्जीवित गर्नुपर्छ। यसका लागी राप्रपा सरकारमा रहनुपर्छ। राप्रपाको यो बोलीमा पूर्वराजाले पनि सहमति जनाउँदै वक्तव्य निकालेका छन्। १३ गतेको घटनापछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। राप्रपा र ओलीको सोच र चिन्तनमा धेरै सामीप्य रहेकाले यो पार्टीले ओली मार्गको अनुशरण गर्ने धेरै सम्भावना देखिन्छ।
माथि उल्लिखित तीन पार्टीहरू र माओवादीबाट देशको नवनिर्माण सम्भव छैन। यी चार पार्टीले देश बिगारेका हुन्। यी पार्टीलाई बिस्थापित गरी युवा पङ्तिले नेतृत्व गर्यो भने मात्र देशको द्रुत विकास हुन्छ। राष्ट्रको नवनिर्माणका बाधक यी पुरानालाई पुनः निर्वाचित गर्नै हुन्न (नो नट अगेन) भन्दै गिलोन बाबुनझैँ गर्भ धारणको १६० दिनमा नै तन्नेरी बनेर जन्मेको रास्वपा यसका जन्मदाताको अवैध नागरिकताले अहिले तिल्मिलाएको छ। उत्तेजनामा सरकारबाट बाहिर निस्कने निर्णय गरे तापनि समर्थन फिर्ता लिए देश बर्बाद हुन्छ भनेर हो वा कानुनविपरित राहदानी प्राप्त गरेको अपराधको भयले हो, सत्ताधारी नै बनेर बसेको छ। थकित, गलित, विचलित वृद्धहरूलाई बिस्थापित गर्न उदाएको रास्वपाको पनि गृह मन्त्रालयसहित सरकारमा हिस्सेदारी नपाउँदासम्म देशको नवनिर्माण नहुने ठहर छ। नयाँ समीकरणपछिका रास्वपाका सर्वेसर्वा नेताको भाषा पढ्दा समीकरणमा आफ्नो हिस्साको पर्खाइमा रहेको देखिन्छ।
माओवादीले अहिले विशिष्ठ स्थान ग्रहण गरेको छ। कुनै समय थियो माओवादीलाई अछूतको व्यवहार गरिन्थ्यो। अहिले माओवादीको हातको वरमाला पहिरिन कांग्रेस र एमालेको तीव्र प्रतिस्पर्धा छ। एमालेसँगको दुई महिनाको सहबासबाट माओवादी सन्तुष्ट हुन नसकेकाले कांग्रेससँग सामीप्यता बढ्दै गएको थियो। कांग्रेससँग पुनः असहजता उत्पन्न भयो भने ओलीजी स्वागत गर्न तयार नै छन्। संसद्मा पहिलो तथा दोस्रो स्थानमा रहेका पार्टीमध्ये कांग्रेस या एमाले नेतृत्वको गठबन्धन बन्नुपर्नेमा अहिले ३२ सिट रहेको माओवादी नेतृत्वको गठबन्धन बनिरहेको छ। यो भन्दा ठूलो राजनीतिक तमासा अरू के हुन सक्छ? तसर्थ अहिले सबैको आकर्षण रहेको यो पार्टीको बारेमा केही भनिहाल्नुपर्ने आवश्यकता रहेन।
उद्धृत गरिएका उद्धरण र यिनीहरूको व्यवहारले माथिका चारवटै पार्टीको प्रमुख विचार र लक्ष्य सत्ता प्राप्ति मात्र देखिन्छ। राजनीतिक संगठनमा सत्ता प्राप्ति सबै संगठनको उद्देश्य हुन्छ तर सत्ता कुन लक्ष्य प्राप्तिका निमित्त र कस्तो उद्देश्य प्राप्तिका लागि भन्ने प्रश्न महत्वपूर्ण हुन्छ। यी पार्टीहरूका आकर्षक चुनावी घोषणापत्र र कतिपयका उत्तराधिकारमा पाएका नीति तथा सिद्धान्त उल्लिखित विधान पनि छन्। तर ती कार्यान्वयन गर्नका लागि नभई जनतालाई भ्रमित गराइ भोट संकलन गर्ने औजार मात्र बनाइएका छन्। हरेक निर्वाचनपछि ती घोषणापत्र पाँच वर्षपछि हेर्नका लागि सोकेसमा सजाएर राखिन्छन्। पार्टीहरूले असल नियतले काम गर्दागर्दै निर्वाचनको समयमा गरेका प्रतिबद्धता सबै पूरा नहुन पनि सक्छन्। त्यस्तोमा अन्यथा लिइँदैन। तर हाम्रोमा घोषणापत्रका प्रतिज्ञा निर्वाचनसम्मका लागि मात्र रहिआएका छन्। निर्वाचनपश्चातको पार्टीहरूको ध्यान जुनसुकै तरिका, जस्तोसुकै गठबन्धन बनाएर भए पनि सत्तामा पुग्ने मात्र भएको छ। सत्ता प्राप्तिपछि, त्यो अवसर जनताको पक्षमा राष्ट्र निर्माणको पक्षमा काम गर्नेतर्फ गएको भए, त्यस्तो अनैतिक गठबन्धनको पनि केही औचित्य स्थापित हुन सक्थ्यो तर सत्ता प्राप्तिपछि आफ्ना दण्डनीय कमजोरी लुकाउन, राज्यस्रोतको अवैध दोहन गर्दै सत्तामा टिकिरहन मात्र सत्ताको प्रयोग हुँदै आएको छ।
एमालेसँगको गठबन्धनमा रहँदा प्रचण्ड अढाइ वर्ष प्रधानमन्त्री रहने र बाँकी अढाइ वर्ष ओली प्रधानमन्त्री बन्ने सहमति गरी सरकार गठन गरिएको थियो। अहिले प्रचण्ड अढाइ वर्ष, माधव नेपाल एक वर्ष र शेरबहादुर देउवा डेढ वर्ष प्रधानमन्त्री बन्ने समझदारीबाट गठबन्धन गरिएको छ। तीज, विवाहमा लगाउने आभूषण जस्तै एमालेसँगको गठबन्धनले पनि साझा कार्यक्रमको भुलभुलैयाको घोषणा गरेको थियो। अब पनि साझा कार्यक्रमको केही तमासा देखाइने होला। नेतृत्वहरूको चासो प्रधानमन्त्रीको कुर्सी हो। अन्य कुरा सार्वजनिक खपतका लागि मात्र हुन् भन्ने सबैले बुझेकै छन्।
हाम्रा राजनीतिक पार्टीहरूका व्यवहारले साधारण नेपालीलाई शासनसत्ता साधन हो कि साध्य भन्ने संशय उत्पन्न गराएको छ। अधिनायकवादी व्यवस्थामा सत्ता नै साध्य हो। शासनसत्ता नरहे अधिनायक रहँदैन। एकथरी कम्युनिस्टहरू शासनसत्ता सत्य हो अरू सब भ्रम हुन भन्छन्। प्रजातन्त्रमा शासनसत्ता, जनताको सुरक्षा गर्ने, अधिकारको रक्षा गर्ने र जनकल्याणका काम गर्ने साधन मात्र हो। हाम्रोमा जनकल्याणका काम नेताहरूका वक्तव्यबाजी र भाषणको जालोभित्र अल्मलिएका छन्।
यस्तो किन? राप्रपा र रास्वपाको कुरा छाडौँ। नेपाली कांग्रेस प्रजापरिषद्पछिको सबै भन्दा पुरानो पार्टी हो। यसको इतिहास पनि गौरवमय छ। विधानमा उल्लिखित सिद्धान्त, आदर्शहरू पनि राम्रा छन् र युगसापेक्ष रहँदै आएका छन्। त्यस्तै नेकपा एमालेको पनि लामो इतिहास छ। यसको केही कालखण्ड प्रजातन्त्र विरोधी उग्र तथा हिंस्रक रहेको भए तापनि २०४६ सालपछि सच्चिँदै आएको हो। नेपाली जनताले यी दुवै पार्टीलाई कहिले सत्तापक्ष कहिले प्रतिपक्षको रूपमा बारम्बार अवसर दिएका छन्। तर २०५२ सालदेखि यी दुवै पार्टी निरन्तर पतनोन्मुख छन्। यिनीहरूका निकट अतीतका भ्रष्टतन्त्रलाई बढावा दिने कुशासनबाट जनता विरक्त हुनाको कारण अहिले यी पार्टीहरू खास मुद्दालाई विषयान्तर गर्दै कृतिम मुद्दा निर्माणतर्फ अग्रसर छन्।
एउटाले प्रजातन्त्रको दुहाइ दिन्छ, अर्कोले राष्ट्रवादका चर्का कुरा गर्छ। वास्तवमा आज प्रजातन्त्र कांग्रेसको कारण कमजोर भएको छ भने राष्ट्रियता एमालेकै कारण कमजोर हँुदैछ। यी दुवै दल इमानदार हुने हो भने राष्ट्र र लोकतन्त्र दुवै सबल बन्छन्। दुवै पार्टी इमानदार भएर काम गर्ने हो भने राष्ट्र समृद्ध हुन्छ, जनता बलिया हुन्छन्। जनता बलियो बने लोकतन्त्र पनि विकसित हुँदै जान्छ, राष्ट्र पनि बलियो बन्छ। तर यी पार्टीका नेता जनतालाई कमजोर बनाएर आफू बलियो बन्ने गरेका छन्। यी दुवै पार्टीको राष्ट्र प्रेम र लोकतन्त्रप्रतिको निष्ठामा सन्देह गर्न सकिँदैन। तर सत्ताका लागि बाहिरी शक्तिको आडभरोसा लिन नहिच्किचाउने र सत्ता टिकाउन असम्वैधानिक काम गर्न तम्सिने यी पार्टीका नेताहरूको व्यवहारले लोकतान्त्रिक र राष्ट्रवादी छवि केबल सत्तामा जाने सिँढी मात्र सावित भएको छ। यी दुई पार्टी कति क्षयीकरण भएका छन् भन्ने माओवादीको पुच्छर बन्न नपाएकामा यिनीहरूमा देखिने छटपटीबाट नै छर्लङ्ग छ।
पुराना र ठूलो संगठनको जालो भएका पार्टीका नेताहरूबाट वितृष्णित जनता निकै ठूलो आशा र उत्साहसका साथ रास्वपातर्फ आकर्षित भएका थिए। स्थापनाको अत्यन्त छोटो समयमा, कुनै उल्लेखनीय काम तथा योगदान नगरेको पार्टीलाई संसद्मा चौथो दलको हैसियत दिलाउनु, पुराना पार्टीको कुशासनबाट उत्पन्न निराशा मात्र नभएर बहुप्रचारित युवा पङ्तिले नेतृत्व गरेको नयाँ पार्टीप्रतिको आशा र सुशासनको कामनाको उत्साह पनि थियो। तर निर्वाचन परिणामपछिको अत्यन्त छोटो अवधिमा यो पार्टीका नेताको सत्ताप्रतिको अत्यधिक आशक्ति, स्वार्थ गाँसिएका मन्त्रालयको रोजाइ, संसद् सदस्यबाट अयोग्य घोषित भैसकेपछि पनि अपवादका रूपमा प्रयोग हुने संविधानको छिद्र प्रयोग गरी पुनः गृहमन्त्री हुन पाउनुपर्ने असंगत दाबीले सुशासनको आशामा उत्साहित जनमतलाई निरास बनाएको छ। त्यसमाथि यसका नेताको कमजोरीमा प्रश्न उठाउने सञ्चार जगत्माथि यो पार्टीका नेता तथा समर्थकको अभद्र, अमर्यादित आक्रमणले यो नयाँ पार्टीलाई लोकतान्त्रिक संस्कारविहीन अराजक जमात सावित गरेको छ।
अहिले राष्ट्रपतिको निर्वाचन सन्निकट छ। हाम्रो संविधानअनुसार राष्ट्रपति आलंकारिक मात्र हो। संविधानको अक्षर र भावनाअनुसार चल्ने हो भने जो कोही राष्ट्रपति भए पनि केही फरक पर्ने होइन। वर्तमान राष्ट्रपतिको संविधानेत्तर भद्दा अभ्यासले सबैलाई झस्काएको छ। एमाले अध्यक्षले राष्ट्रपतिलाई आफ्नो सत्ताको भोक तृप्ती खातिर प्रयोग गर्दा सम्मानित संस्थाको गरिमामा आघात पुर्यायो। जनताले राजा र राष्ट्रपतिमा विभेद छुट्टाउन सकेनन्। फलस्वरूप गणतन्त्र नै बदनाम हुन पुग्यो।
यी सबै विकृति निर्वाचित नेताहरूका सत्ताप्रतिको अति आशक्तिबाट उत्पन्न भएका हुन। राजनीतिको केन्द्रमा जनता हुनुपर्नेमा राजनीतिलाई सत्ताकेन्द्रित बनाइयो। दलहरूका लागि आफ्ना कार्यक्रम लागु गर्न, शासनको दक्षता देखाउन सत्ता आवश्यक पर्दछ। हामीकहाँ दलका नेताहरूको इच्छा पूर्ति तथा स्वार्थकेन्द्रित काममा सत्ताको प्रयोग गर्ने गलत संस्कार विकास भयो। परिणामतः विपक्षी बेन्चमा बस्नु अक्षमता मानिन लाग्यो। विपक्षी दल नहुँदा जनताका आवाज मुखरित हुन पाउँदैनन्। नेपालमा स्थायी विपक्षको स्थान सञ्चार जगत्ले सम्हालेका छन्। २०४८ सालपछि विस्तारित भएका सञ्चार जगत् र प्रबुद्ध नागरिक समाजको खबरदारीका कारण मात्र लोकतन्त्र चलायमान छ। नेपाली सञ्चार जगत् चनाखो नभएको भए हाम्रा कर्ताहरूको अजिंगर प्रवृत्तिले लोकतन्त्रलाई नै निल्ने थियो। गोदी मिडिया नबनेकामा मठाधीशबाट प्रशिक्षित भई तृष्णा मेटाउन भर्खर कान चिरेको नयाँ जोगीले सञ्चार जगत्लाई पिशाचहुलसहित आक्रमण गर्ने चेतावनीको तमासा प्रदर्शन गरेको पनि देखियो। पिशाचहुल सिर्जना गर्ने क्षमता पनि स्वतन्त्र सञ्चार जगत्ले नै दिलाएका हुन। पिशाचहरू अन्धकारमा चलायमान हुने हुन। अझै लोकतन्त्रको धिपधिपे उज्यालो बाँकी नै छ। लोकतन्त्रका कारण फस्टाएको सञ्चार जगत् लोकतन्त्रको रक्षा गर्न पक्कै चुक्ने छैन।
प्रकाशित: १५ फाल्गुन २०७९ ००:४१ सोमबार