भारत र पाकिस्तानबीच तीनपटक प्रत्यक्ष भिडन्त भइसके। यी दुवै मुलुकमा राष्ट्रवादी बन्ने पहिलो सर्त नै एकअर्काप्रति आपसमा कसले/कति घृणाको आगो ओकल्न सक्छ भन्ने हो। आगो लगाउने र तेल थप्ने काम पुुग्ाांपण्डित र कठमुल्ला गर्छन् भने सत्ताप्यासा राजनीतिकर्मीहरु त्यसैमा हावा फुक्ने गर्छन्। यी दुुई देशबीच भिडन्त नभएको समय पनि शान्ति र अमनचैन भने कहिल्यै रहेन। शीतयुद्ध र छद्म युद्ध हुँदैरहे। अहिलेको टकराहट भने लामो छद्म युद्धबाट जलयुद्ध र आर्थिक युद्धतर्फ मोडिँदो छ। यो अवस्था आउनअघि भारतीय सेनामाथि वर्ष दिनभित्रै पंजावको पठानकोटमा जनवरी २ र कश्मीरको उरीमा २१ सेप्टेम्बरमा आत्माघाती आक्रमण भए। त्यो पाकिस्तानी राज्य प्रायोजित आतंक हो भन्ने भारतको ठहर छ भने पाकिस्तान त्यसलाई स्वीकार्दैन्ा। परमाणु हतियार सम्पन्न दुुई पक्षबीच प्रत्यक्ष टकराहट भएमा कसको, के कति क्षति हुुन्छ भनेर ख्यालै नगर्ने संसारमै युद्धपिपासुमात्र हुन्छन्। कश्मीर समस्या हेर्ने छुट्टाछुट्टै दृष्टिकोण छन्। कसैले राष्ट्रवादी आन्दोलन देख्छ भने कसैले विखण्डनवादी। जे होस्, अहिले कश्मीर जलिरहेको छ। दुुर्ई महिनादेखि दैनिक कर्फ्यु छ। धेरै सेना र प्रदर्शनकारीको ज्यान गइसकेको छ। यसै पनि यो उपमहाद्वीपकै कश्मीर बारुदको थुप्रो हो।
भारत-पाकबीच शीतयुद्ध, छद्मयुद्ध, प्रत्यक्षभिडन्त, जल–नाकाबन्दी, मनोयुद्ध र फैलाइँदो मनोत्रास आदिले गर्दा त्यसको असर संसारको दरिद्र क्लब भनिने सार्कमा फेरि पनि प्रत्यक्ष देखियो।
कुरा युद्धोन्मादका
१) भारतीय जनता पार्टीका शक्तिशाली नेता एवं विवादजनक राज्यसभा सदस्य डा.सुुव्र्रह्मन्यम स्वामी १० करोड भारतीय सहिद भएर पनि पाकिस्तानको नामोनिसान सखाप पारिदिनुपर्छ भन्छन्। यो विचार भारतीय–अन्धराष्ट्रवादीहरुको प्रतिनिधिमूलक अभिव्यक्ति भनेको उग्रपुँजीवाद र उग्रहिन्दुवादको मिलापले ल्याएको नयाँ रूपको फासीवादी चिन्तन हो। अझ पाकिस्तानी राजनीतिमा सेना र कविला–मुखियाको चर्को दबाब पर्ने गर्छ। युुद्धोन्मादी सामाजिक आवेग कर्पाेरेट मिडिया अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्छ तर शक्तिको त्रिकोणात्मक अवस्थाले भने प्रत्यक्ष युद्धको अनुमति दिँदैन।
प्रत्यक्ष भिडन्तबाट किन हच्किए? : भारत–पाक दुवै परमाणु हतियार सुुसज्जित मुलुक हुुन। महाशक्ति अमेरिका टाढा छ, महासैन्य चीन छिमेकमा। चीनले पहिला प्रशान्त महासागरीय क्षेत्रलाई मात्र सुरक्षा संवेदनशील क्षेत्रसोच्थ्यो र अमेरिकी चीन नीतिमा उसलाई घरेलु समस्यामा मात्र अल्झाइराख्ने थियो। अहिले भने चीनले तिब्बतलाई अतिसंवेदनशील क्षेत्र मान्न थालेको छ। विकसित इन्डो–अमेरिकी सामरिक ध्रुवीकरणको दीर्घकालिक असर र भारत–पाकको सम्बन्ध चिस्यानबारे चासो राख्नु उसलाई स्वाभाविकै हुन्छ। पाकिस्तानको संरचनात्मक विकास बन्दरगाह र सडकमा पनि उसको अहिले ठूलो लगानी छ। भारतको परम्परागत सैन्य गठबन्धन रुससँग रहेकामा अहिले आएर भने अमेरिका–इजरायलसँगको गठजोडले रुस, पाकिस्तान र चीनको सहकार्य नजिक्यायो। अमेरिका भने भारत र पाकिस्तान दुवैलाई अझै सैन्य सहयोग दिँदो छ। अमेरिकालाई भारतको महत्व चीनघेराउ अभियानमा तिब्बत र हिन्द महासागरको कारणले गर्दा हो। सामरिक सम्बन्धमा आएका फेरबदलले गर्दा नै युद्धोन्माद भारतीय नेतृत्व प्रत्यक्ष सैन्य आक्रमणबाट अहिले नै भने हच्केको हो।
२) लडाइँमा जितोस् या हारोस्, संसारकै हरेक युद्धपछाडि युद्धनायकको अवस्था खस्किँदै जाँदा जनमतले परास्त गरेर खलनायक बनाएका नजिर छन्। नेपोलियनदेखि बुस–ब्लेयरसम्मको अवस्था त्यस्तै रह्यो। युद्धको समग्र परिणामले मात्र जीत र हारको मूल्यांकन गर्न सकिन्छ। फारसको ठूलो सैन्यशक्तिलाई पनि युनानी सानो शक्तिले हराएको सिकन्दर–दाराको युद्ध जो कोही युद्धरत पक्षले सूक्ष्म अध्ययन गर्छ नै। इतिहासले दिएको शिक्षा पनि भारत–पाक युद्ध रोकिने अर्को कारण हो।
सहज छैन जल–नाकाबन्दी
नाकाबन्दी प्रधान मन्त्री नरेन्द्र मोदीको अतिप्रिय नीति नै हो। त्यसलाई उनले भूपरिवेष्ठित छिमेकी देश नेपालमाथि प्रयोग गरिसकेका छन्। प्रत्यक्ष युद्ध टरेपछि उनले जल–नाकाबन्दीलाई अर्को विकल्प सोचेे। हुन पनि आगामी विश्वयुद्ध जलयुद्ध नै हुनेछ। जीवात्मालाई डलर, सुन वा पेट्रोलियम पदार्थले प्यास मेटाउँदैन्, सबभन्दा महत्व पिउने पानीकै हो, अणुुबमको हैन। १९ सितम्बर १९६० मा जहावरलाल नेहरु र अयुव खानबीच कराँचीमा भएको सिन्ध नदीको पानी बाँडफाँट सम्झौता खारेज गरेर जल–नाकाबन्दी लगाउँदै पाकिस्तानलाई झुकाउने उनीमाथि अहिले आवेगी जनमतको तीव्र दबाब छ। यसै पनि उनले …पानी र रगत एकैपटक बग्नै सक्दैन' भनिसके। उच्चस्तरीय बैठकले चौतर्फी आकलन गरी त्यसलाई अहिले नै भने मुल्तबीमा राख्न पुुग्यो। त्यो प्रत्यक्ष भिडन्तबाट जोगिने एउटा उपाय थियो।
भारत, नेपाल भुटान र बर्मामा बग्ने अधिकांश नदीको मुहान तिब्बतमा पर्छ। त्यसको प्राकृतिक बहाव मोड्ने क्षमता, प्रविधि र हैसियत पनि चीनसँग छ। सुुरक्षा गर्न शक्ति, दीर्घकालिक दृष्टिकोण र व्यवस्थापकीय क्षमता पनि ऊसँग छ। त्यसैले पनि सिन्ध नदी जल–नाकाबन्दी गर्दा त्यही काम चीनले प्रतिक्रियामा गर्यो भने पर्ने के होला? यो पृष्ठभूमिमा नेपाललाई लगाएको नाकाबन्दी जस्तो पाकिस्तानमाथिको जल–नाकाबन्दी सहज छैन्। यो युद्धोन्माद आवेगमात्र हो।
युद्ध कसलाई प्यारो?
१) संसार नै अहिले उन्मादमा फस्दैछ। अमेरिकी चुनावका प्रत्यासी डोनाल ट्रम्प व्यक्तिमात्र नभई वर्णघृणाका अमेरिकी अतिरञ्जित पात्र पनि हुन्। उनीसँग भावनात्मक सम्बन्ध मोदी र अन्धधार्मिक हिन्द–अमेरिकी मतदाता जोडिनु र अमेरिकी, इजरायली र भारतीय सामरिक त्रिपक्षीय सम्बन्ध विकास हुनु सामान्य कुरा रहेन। यसै पनि आप्रवासी र मुस्लिमप्रति घृणाको राजनीति पश्चिम युरोप र अमेरिकी उन्मादीहरुमा अहिले फैलिँदो छ। इन्डो–अमेरिकी गठबन्धन र भारतमा फैलँदो सांस्कृतिक फासीवाद एकातर्फ त्यसको प्रतिपक्षमा चीन, रुस र पाकिस्तानको गठजोडले यो भूूभाग युद्धको केन्द्र बन्दै गएको हो। युद्धोन्माद शक्तिलाई भारतीय सैनिक छाउनीको आत्मघाती आक्रमण उरी र पठानकोट बहानामात्र बनेको हो।
२) पुँजीको चरित्र फेरिएको छ। औद्योगिक पुँजीबाट वित्तीय पँुजीमा फड्को मारेपछि उत्पादन क्षेत्र अनुपात्दक बन्छ भने बेरोजगारी बढ्न जान्छ। धनी र गरिबीको खाडल बढ्दा देशभित्र चरम असन्तोष पनि बढ्छ। त्यो असन्तोष विभिन्नरूपमा देखिन्छन्। त्यसलाई मेटाउन र पुँजीलाई निर्वाध काम गर्न छुटका लागि सरकारमाथि कर्पाेरेट पुँजीले युद्धको तीव्र दबाब सिर्जना गर्छ। तब जनअसन्तोषलाई अन्यन्त्र मोड्न जातीय उग्रता, धार्मिक उत्तेजना बढाएर अन्धराष्ट्रवाद फैलाइन्छन्।
३) शासकहरुलाई घरेलु समस्याबाट पार पाउन पनि युद्ध आवश्यक हुन्छ। प्रत्यक्ष युद्धभन्दा स्वाभिमान गिराउने अचुक अश्त्रका रूपमा शक्तिशाली मुलुकको शक्तिशाली सेनामाथि अदृश्य कमजोर शक्तिले छद्म आक्रमण गरेपछि त्यो अहंमा चोट पर्ने नै भयो। कतिपय अवस्थामा राष्ट्रिय आवेग तयार गर्न त्यस्ता नाटकीय मञ्चन पनि हुने गर्छन्। त्यसको कारक पक्ष खुट्याउनुभन्दा पनि परम्परागत सत्रुप्रति आक्रोश पोख्दै ध्यान अन्यन्त्र मोडेर साँच्चैको घरेलु समस्या विषयान्तर गर्न सकिन्छ भन्ने मान्यता शक्तिमद्द शासकलाई हुने गर्छ। अहिले भारतीय र पाकिस्तानी सरकारलाई आफ्ना आन्तरिक कमजोरी छिपाउने अचुक हतियार एकले अर्कोलाई दोष लगाउँदै उग्रराष्ट्रवादको आवेग तयार गर्नु हो।
सुुख्खाग्रस्त भारतीय किसानमध्ये २ लाख ९६ हजार ४ सय ३८ जनाले सन् १९९५ देखि २०१३ सम्म आत्महत्या गरे। दलित स्वाभिमान आन्दोलन सर्वण–भारतको अहिलेको अर्को टाउको दुखाइ हो। पटेलहरुको असन्तुुष्टिले राज्य सरकारको नेतृत्व नै फेर्नुपर्यो, महाराष्ट्रमा माराठा विद्रोह फैलिरहेको छ। माओवादी विद्रोहले १ सय जिल्लालाई असर पारिरहेको छ। गौरक्षा अराजकताले दलित विद्रोह बढाएको छ। अल्पसंख्यकमा असुरक्षा बढेको छ। अन्धधार्मिक उग्रताले स्वतन्त्रचिन्तक, कवि, साहित्यकार र बौद्धिकहरुले या हत्याको सामना गर्नुपरेको छ वा स्वसेन्सरसिप या माओवादी आरोप खेप्नुपरेको छ। पूूर्वोत्तर राज्यमा चर्केको विद्रोहले चैन लिएको छैन। जल, जमिन र जंगलको स्वाभिमानमा आदिवासीहरु कर्पाेरेट उद्यमीका विरोधी बन्न पुुगेका छन्। तब यी सबै समस्याको हल कृत्रिम सत्रु तयार गर्नुमा देख्नुु मोदीको बाध्यता बन्यो। भारत–पाक अहिलेको तनावपछाडिको मुख्य विषय यही हो। अझ उत्तर प्रदेशको चुनाव लक्षित।
मिडिया र युद्ध
कर्पाेरेट मिडियालाई बजार एवं मुनाफाका लागि पनि युद्ध आवश्यक हुन्छ। राजनीतिक नेतृत्वको पनि नेतृत्व बन्न युद्धको आवेग फैलाउँदा मात्र सकिन्छ। बेलायती …सन' र अमेरिकी …न्युयोर्क टाइम्स'को धारावाहिक अभियान, इराक नष्ट गर्ने बुस–ब्लेयरको हतियार बन्यो। न्युजपेपर अफ रिकर्डस भनिने न्युूयोर्क्स टाइम्स र त्यसकी स्तम्भकार जुडिथ मिलरले कसरी युद्ध वातावरण तयार गरे भन्ने अहिले छुप्न सकेन। कर्पाेरेट मिडिया उत्तेजना, भ्रमित, काल्पनिक सूचना र उग्रराष्ट्रवादी जनमतमै आफ्नो हित देख्छ। अधिकांश भारतीय मिडियाको स्वामित्व मिडिया उद्यममा मात्र नभई अरु सेक्टरमा पनि छ। मिडियाको सबभन्दा ठूलो स्वामित्व रिलायन्स कर्पाेरट हाउसको छ भने मुकेश अम्बानी मोदीका असल सहयोगी भनेर चिनिन्छन्। जसरी इराक युद्धको वातावरण तयार गर्न फर्जी समाचार र विचार पश्चिमा मिडियाले फैलाएर बुस–ब्लेयरको युद्धपिपासु भावलाई औचित्य दिने कोसिस गरे त्यस्तै अहिले अन्धराष्ट््रवादको खेती भारतीय र पाकिस्तानी मिडियाले गरिरहेका छन्। बाँदरको हातमा छुरा भनेजस्तै युद्ध बेच्न पनि कर्पाेरेट मिडियालाई उत्तेजना चाहिन्छ। उनीहरुका लागि जिउँदोमा ती सिपाही भुुइँमान्छे मात्र बन्छन् मरेपछि/मारिएपछि भने तिनै महान् शहीदको सौन्दर्यगाथा कहेर उन्मादी जनमत तयार गर्छन्।
औचित्यहीन सार्क
भारत-पाकबीच द्वन्द्व बढ्दै जाँदा सार्कको औचित्य पनि रहेन्। इस्लामावादमा हुने सार्क बैठकमा भारतले भाग लिने छैन्। भुटान, बंगलादेश र अफगानिस्तानले अपेक्षाअनुसार भारतलाई पछ्याए। अध्यक्ष नेपाल जे भने पनि वास्तविकरूपमा परीक्षाको घडीमा छ। कर्पाेरेटपति टाटाले यसलाई स्वागत गरे। भारत–पाकबीच शीतयुद्ध, छद्मयुद्ध, प्रत्यक्ष भिडन्त, जल–नाकाबन्दी, मनोयुद्ध र फैलाइँदो मनोत्रास आदिले गर्दा त्यसको असर संसारको दरिद्र क्लब भनिने सार्कमा फेरि पनि प्रत्यक्ष देखियो। क्षेत्रीय समृद्धि, विकास र सद्भाव विकास गर्ने सार्क, भारत–पाकको भिडन्त थलो बनेकाले अब त्यो सन्दर्भहीन बनेर विघटनको भिरमा उभिएको छ। अब यो दरिद्र क्लबको शान्ति र विकासका लागि कुनै क्षेत्रीय महत्व रहेन्। जब विश्वासको आधार नै सकिन्छ त्यहाँ गरिबीको समस्या हल गर्न सक्ने कुरा कथा बन्छन्। समस्या हल गर्नुको साटो अहंको टकराहट थलो बन्छ भने त्यसले क्षेत्रीय हित कसरी गर्न सक्छ र?
अन्त्यमा
युद्धका बहुुआयामिक पक्ष छन्। जुन शक्ति आफ्नो रक्षा गर्छु भनेर युद्धमा होमिन्छ, त्यो स्वयं चिहान खन्दै नयाँ शक्ति जन्माइरहेको हुन्छ। युद्धले सामाजिक र मानवीय पीडा त दिन्छ नै, पर्यावरणको पनि अपुरणीय क्षति हुन्छ। हरेक युद्धप्रेमीहरू युद्धले अरूलाई मात्र खान्छ, म भने सुरक्षित हुन्छु भन्ने सोच्छन् र सहिद बन्ने दरखास्त भने कहिल्यै दिँदैनन्। युद्ध लडाउँछन् तर कतै पनि युद्ध मैदानमा भने देखिँदैनन्। आज कर्पाेरेटी शासनमा पुँजी, प्रविधि, धर्म र आवेगको मिलापले राज्यको नयाँ फासीवादी चरित्र निर्माण भइरहेको छ। त्यो घृणाको कारखाना हो। उसलाई युद्ध नै औचित्य र अस्तित्व धान्ने माध्यम बन्छ। त्यसैले जहाँ पनि भइरहेका युद्धको मानवतावादीहरु विपक्षमा हुन्छन्। अहिले भारत–पाकबीचको द्वन्द्वको दुष्परिणाम भारतीय र पाकिस्तानी जनतालेमात्र बेहोर्नुपर्दैन, यो क्षेत्र नै प्रभावित हुनेछ। अब भने वाक्युद्ध, अर्थयुद्ध र छद्मयुद्धमा रहे पनि हाललाई जल–नाकाबन्दी र प्रत्यक्ष युद्ध भने टरेको छ।
प्रकाशित: १७ आश्विन २०७३ ०५:०० सोमबार