८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

कांग्रेसका चुनौती

नेपाली कांग्रेस लोकतन्त्रका लागि लडेको, लोकतान्त्रिक मूल्यहरु आफंैभित्र स्थापित गर्न निरन्तर संघर्ष गदै आएको, समग्रमा नेपाली समाजको लोकतान्त्रिकीकरणमा संकल्परत् दल हो। नेपालमा राजनीतिकरूपमा लोकतान्त्रिक पद्धति स्थिर नभएसम्म तथा दलभित्र आन्तरिक लोकतन्त्र परिपक्व र उन्नत नभएसम्म पूर्णरूपमा नेपाली समाजको लोकतान्त्रिकीकरण कठिन नै रहन्छ। एउटा प्रतिबद्ध अभियन्ताहरुको समूह स्वयम् आफूभित्र आफूसँग जोडिएको संस्था र समाजभित्र सदैव संघर्षशील योद्धाका रूपमा क्रियाशील रहने नै भए। त्यसैले त्यस्ता दृढ अभियन्ताहरुका लागि कुनै सन्दर्भविशेषको जय र पराजयको खासै तात्विक अर्थ हँुदैन। नेपाली कांग्रेस एउटा दलका रूपमा अहिले यस्तै मनोविज्ञानबाट गुजि्ररहेको छ। यो ऐतिहासिक दललाई उपरोक्त उल्लेख भएका तीनवटै मोर्चामा सफल र सार्थक देखिनुपर्नेछ।

६ महिने कार्यकाल हेर्दा देउवालाई स्वार्थीहरुको जमातले इतिहास निर्माण गर्नबाट वञ्चित गर्न खोजेका आभास हुन्छ। उनले पौडेलको आग्रहलाई प्रतिस्पर्धीको रोदनभन्दा पनि सहयात्रीको अमूल्य सहयोगका रूपमा आत्मसात गर्नुपर्छ।

नेपाली कांग्रेस एउटा अन्तर्राष्ट्रिय पहिचान भएको नेपाली राजनीतिक दलमध्ये प्रथम हो। विगतमा यसले अन्य ठाउँको लोकतन्त्रको संघर्षमा आफ्नो नैतिक र भौतिक सहयोग गरेको परम्परा छ। त्यसैले नेपाली कांग्रेसको संघर्ष केवल नेपाली मानचित्रमा मात्र सीमित छैन। यसले लोकतन्त्र र मानव अधिकारको विश्वव्यापी मान्यताअनुसार आफूलाई सधैं अग्रपंक्तिको पहलकर्ताका रूपमा उभ्याउँदै आएको छ। यतिबेला नेपालको सन्दर्भमा नेपाली कांग्रेसको अगुवाईमा संविधान ल्याइएको अवस्था छ। संविधान सभाबाट ल्याइएको संविधानको उदाहरणीय कार्यान्वयन गर्नु र गराउनु नेपाली कांग्रेसकै काँधमा आइपरेको छ। २००७ सालदेखि नै नेपाली कांग्रेसले गर्दै आएको स्वप्नदृष्टिको एउटा विशेष उत्पादन हो– वर्तमानको संविधान। नेपाली कांग्रेसले जहिले पनि मेलमिलाप, संवाद र राष्ट्रिय सहमतिको कार्यविधि लिँदै आएको हो। वर्तमान संविधानका संम्बन्धमा पनि कांग्रेसले मधेसी, आदिवासी जनजातिलगायत अन्य पक्षसँग समन्वय र सहमति गर्दै अगाडि बढ्न अधिकतम प्रयत्न गरेकै हो । आज पनि सबै असहमत पक्षलाई जोडेर लग्ने कांग्रेसको विशेष प्रयत्न रहँदै आएको छ।

कतिपय भन्ने गर्छन्– नेपाली कांग्रेसको चुकाइका कारण नेपालमा वामपन्थीहरुको बढोत्तरी भएको हो। कसैको गुनासो छ– नेपाली कांग्रेसले समुचित संवाद गराउन नसक्दा मुलुकमा अतिवाद फस्टाएको हो। कतिपय सन्दर्भमा यो दल कैयांै ज्वलन्त सवालमा ढुलमुल देखिँदा यसमाथि यथास्थितिवादीको आक्षेप लाग्ने गरेको पनि पाइएको छ। तर नेपाली कांग्रेसको मौलिक चरित्र सदैव अग्रगामी र क्रान्तिकारी रहँंदै आएको छ। प्रत्येक युगलाई परिवर्तनको हाँक र हौसला यसैले दिन सक्छ। यसको खुला, उदार, उच्चतम मानव अधिकार, सामाजिक न्याय, प्रगतिशील समाजवादको दार्शनिक दृष्टिले गर्दा कार्यकर्ताहरुको निसर्त सक्रियताले यसलाई सदैव आफ्नो लक्ष्यमा गतिशील पार्दै आएको छ। यसले आफँैभित्रको प्रयत्नले गर्दा आफूमाथि लाग्ने गरेको प्रत्येक आक्षेपको खण्डन गरी लोकमत आर्जन गर्दै आएको छ। यसैमा नै नेपाली राजनीतिमा कांग्रेस र कांग्रेसी हुनुको अहंं अर्थ छ।

कांग्रेस सबै पक्षलाई सहमत गराउन र संविधान कार्यान्वयन गराउन के गर्दैछ? यसभित्र आन्तरिक लोकतन्त्रको अवस्था कस्तो छ? यसले समाजमा कस्ता मूल्य र मान्यताको उदाहरण आफैँभित्रबाट प्रकट गर्दै आएको छ? नेपाली समाज लोकतन्त्रको भविष्यप्रति कत्तिको आश्वस्त बन्न सकेको छ? दलभन्दा पनि लोकतन्त्रप्रति निष्ठाका साथ लागिपरेका नयाँ पुराना सबै कार्यकर्ताको मनमा आजभोलि यस्तै प्रश्न उठ्दै आएका छन्। कसैले जिस्क्याउँछ– यो दलले त अब प्रजापरिषद्को नियति भोग्नेछ। कसैले भन्छ– यसलाई त वामपन्थीहरुले कोमिन्ताङ बनाउने भए। कांग्रेसलाई कार्यकर्ता यो देशको भरोसाको शक्ति भएको हेर्न चाहन्छन्। यो न त दक्षिण ढल्कन्छ न उत्तर नै। सन्तुलन र समाझदारी नै यसको मार्गचित्र हो। हो, यिनै कुरा यसबेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उठाइरहनुभएको छ। उहाँले उठाउने गरेका सवाल पदीय भागबन्डा वा तात्कालीक लाभ–हानिमा सीमित छैनन्। मूलतः २०१७ सालपछिको संघर्षकालमा सामेल भएका पात्र र पंक्तिहरुको अगुवाइमा अहिले नेपाली कांग्रेसको भविश्य सन्निहित छ। सिपाही र सेनापति एउटै पुस्ता छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यी यावत् विषयसँग बेखबर हुने कुरा पक्कै होइन। तर पछिल्ला ६ महिनाको कार्यकाल हेर्दा उहाँलाई एउटा स्वार्थीहरुको जमातले इतिहास निर्माण गर्नबाट वञ्चित गर्न खोजेको आभास हुन्छ। सभापति देउवाले नेता रामचन्द्रको आग्रहलाई प्रतिस्पर्धीको रोदनभन्दा पनि सहयात्रीको अमूल्य सहयोगका रूपमा आत्मसात गर्नुपर्छ। यसो भएमात्र संकीर्ण स्वार्थका कतिपय नवनिर्मित किल्ला आफँै भत्किएर जान सक्छन्। र, नेपाली कांग्रेसले आफूमाथि लागेको प्रत्येक आरोपको जवाफ दिन सक्छ। यो नै नेपाली जनताको भरोसाको शक्ति र समयको हाँकलाई जिम्मेवारीका साथ निर्वाह गर्न सक्ने राष्ट्रिय शक्तिका रूपमा विगतझैँ प्रमाणित गर्न सक्छ।

यो समय नेपाली कांग्रेसको हो। यो शेरबहादुर देउवा र रामचन्द्र पौडलको युग हो । उहाँहरुको विशेष मार्गदर्शन, उच्चतम समझदारी र दुरदृष्टिले नेपाली कांग्रेसको वर्तमानका गति अभिरखांकित हुन्छन्। र, यसले दलभित्रको  बृहत्तर हितलाई संरक्षित र आश्वस्त बनाउँछ। एकबद्ध कांग्रेसले नै राष्ट्रिय मेलमिलापलाई अहिलेको सन्दर्भमा परिभाषित गर्न सक्छ, उग्रवामपन्थी र कुटिल दक्षिणपन्थीहरुको प्रकोपबाट मुलुकलाई जोगाउन सक्छ। संविधान सभाबाट प्राप्त हुन आएको संविधानको कुनै विकल्प छैन्। यसको अवसान भयो भने त्यसपछिको अँध्यारोपनको परिकल्पना कसैले पनि गर्न सक्दैन। त्यसैले संविधानको भविष्यप्रति आश्वस्त बनाउँदै असन्तुष्ट पक्षलाई जोड्दै मुलुकलाई ताजा जनादेशमा लाने काम सैहार्द्धपूर्णरूपमा कांग्रेसले नै गर्न सक्छ।

नेपाली कांग्रेस वनवासमा जान निर्माण भएको दल होइन। यो त बाटामा देखिने तमाम अवांञ्छित पक्षहरुलाई छिचोल्दै झन् अगाडि बढ्ने चरित्र बोकेको दल हो । अग्निपथमा हिँड्नु यसको मौलिक स्वभाव हो। आउने समय फेरि कांग्रेसका लागि विजय पर्व प्रमाणित हुन सकोस्। त्यसका लागि मुलुक, दल, कार्यकर्तालाई आश्वस्त बनाउने प्रमुख कार्यभार सभापति शेरबहादुर देउवाको नै हो। अन्तराष्ट्रिय शक्तिहरु पनि नेपालमा को आवधिक प्रधान मन्त्री बनेको छ? वा को पालो पर्खेर बसेको छ? भन्दा पनि नेपाली लोकतन्त्र कत्तिको सहज वा कन्टकापूर्ण छ? त्यो हेरेर बसिरहेका छन्। यहाँ शान्तिपूर्ण प्रतिस्पर्धी राजनीति कसरी अगाडि बढिरहेको छ र नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन कत्तिको कारगर उपायहरु अवलम्बन भएको छ भन्नेप्रति दृष्टि दिएको छ जस्तो लाग्छ।

अहिले कांंग्रेसले परिवर्तनको प्रतीक गणतन्त्रलाई लोकप्रिय बनाउन, संघीयतालाई व्यावहारिक प्रयोगमा लान लागिपरेको देखाउन, संविधानलाई जीवन्त दस्तावेजका रूपमा प्रस्तुत गर्न, विभिन्न प्रकारका सामुदायिक तनाव न्यूनीकरणका लागि अगाडि बढेको प्रमाणित गर्नसमेत दलीय स्पि्रट एकबद्ध भएको, दलीय विधानको मर्मअनुसार कार्य भएको, बृहत्तर हितका लागि पार्टी एकजुट भएको तथा दलका कमान्डर अर्थात् सभापति शेरबहादुर देउवाले वाचा गरेका कार्य कार्यान्वयन हँुदै गएको देखिनु जरुरी छ। अहिले स्थानीय संरचना हेरफेर सम्बन्धमा जुन प्रकारको छलफल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, संसदीय दललगायतमा घनिभूततवरले हुन जरुरी थियो त्यो भएको छैन। जनताले प्राप्त गर्ने सुविधा र अधिकारको प्रत्याभूति तल्लो तहमा पुग्ने महत्वपूर्ण विषयबारे सभापति देउवा उदासिन रहनु उपयुक्त हुँदैन। यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले निरन्तर कायम गरेको घच्घच्याउने कार्य उपयुक्त छ। यसले नै नेपाली कांग्रेसलाई साँच्चिकै विजय पर्वको मौका दिन्छ। 

प्रकाशित: १६ आश्विन २०७३ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App