७ वैशाख २०८१ शुक्रबार
विचार

युवा नेतृत्वमा संरचनागत क्षमता

आजका युवा भोलिको नेता हुन भन्ने भनाइलाई अनुशरण गर्ने हो भने नेता बन्न केही समय लाग्छ। तर समाजमा युवाले नेतृत्व लिनुपर्छ भन्ने सामाजिक मनोविज्ञान धेरै पहिलेदेखि छ। यही सोच अहिले नेपाली समाजमा व्याप्त छ। हो, युवा नेतृत्व अहिलको आवश्यकता हो। युवामा जोश, जाँगर र दृढ इच्छाशक्ति हुन्छ। एकचोटी गहनरूपमा सोचौँ त के जोश र जाँगर भएर मात्र नेतुत्व गर्न सकिन्छ ? नेतृत्व गर्न कठिन छ। तर फेरि नेतृत्व भनेको मानिस हुर्कँदैदेखि नै सामाजिक क्रियाकलापमा सहभागी हुँदै नेतृत्वको विकास हुन्छ भन्ने विज्ञको मत छ।  

नेतृत्व विकासमा समाजको अहम् भूमिका हुन्छ जसका कारण कुनै पनि व्यक्ति जन्मँदै ऊ नेता भएर जन्मिएको हुँदैन। उसलाई नेता समाजले बनाउँछ। यसमा हामी आफैँ पनि देखे-भोगेका छौँ। समाज र राष्ट्रलाई सही मार्गदर्शन गर्ने र अन्तर्राष्ट्रिय देशहरूसँगको सामाजिक, सांस्कृतिक, आर्थिक, भूराजनीतिक समस्यालाई मिलाउने, सामाजिक सद्भावलाई अझ समुधर सम्बन्ध कायम गर्ने नेतृत्व वर्गको काम हो। कुनै पनि समाज, देशलाई सक्षम बनाउनका लागि नेतृत्वको भूमिका हुन्छ। जर्ज टेरीले भनेका छन्– नेतृत्व भनेको सामूहिक उद्देश्य प्राप्तिका लागि भित्रैदेखि इच्छा जगाउन मानिसलाई प्रभावित गर्ने कार्य हो। यसरी सामूहिक उद्देश्य प्राप्तिका लागि परिस्थितिअनुसार अनुयायीहरूलाई प्रभावित गर्न सक्ने क्षमता वा गुणलाई नेतृत्व जनाउँछ। उनको भनाइलाई अनुशरण गर्ने हो भने पनि अबको युवा नेतृत्वमा कसरी सामूहिक विकास गर्न सकिन्छ भन्ने भावना हुनुपर्छ। सामूहिक विकास गर्न, सामाजिक खोज अनुसन्धान गर्नका लागि पनि संरचनागत क्षमता विकास हुनुपर्छ।  

संरचनागत क्षमताको विकास  

मानिस जन्मँदा एउटा काँचो माटो हो भन्ने विभिन्न समाजशास्त्री र विज्ञको मत छ। जब हुर्कँदै जान्छ सामाजिक संरचनाअनुसार उसको व्यक्तित्व विकास हुन्छ। हाम्रो नेपाल विभन्नि जातजाति, भाषासँगै भौगोलिक विविधता भएको समाजमा विभिन्न सामाजिक, सांस्कृतिक परम्परा र आआफ्नै सामाजिक मनोविज्ञान छ। कुनै व्यक्तिको क्षमता विकासमा त्यो समाजको सामाजिक, सांस्कृतिक, धार्मिक तथा भौगोलिक विविधताअनुसार उसको व्यक्तित्व विकास हुन्छ। फलस्वरूप त्यो व्यक्तिको क्षमताको विकास हेर्नका लागि उसको सामाजिक संरचना कस्तो थियो, त्यसले उसको व्यक्तित्वको विकास भएको छ या छैन हेर्नुपर्छ। समाजमा भएका विभिन्न सामाजिक संरचना, उसको शिक्षा, उसको पारिवारिक पृष्ठभूमि, आर्थिक, सामाजिक सांस्कृतिक परम्पराले प्रभाव पारेको हुन्छ। यो नै उसको संरचनागत व्यक्तित्वको विकास हो जसले समाज, क्षेत्र र राष्ट्रको विकास गर्न सक्छ।  

व्यक्तित्व विकासमा व्यक्ति, संगठन र समाजको समग्र संरचनाले प्रभाव पारेको हुन्छ। यो धुवसत्य हो।

क्षमता विकास यस्तो प्रक्रिया हो जसमा व्यक्ति, संस्था र समाजले समग्ररूपमा विकासको नतिजाहरू प्राप्त गर्न समयसँगै क्षमतालाई बाहिर निकाल्ने, सुदृढ गर्ने, सिर्जना गर्ने, अनुकूलन गर्ने गर्दछ। कुनै पनि व्यक्तित्वमा क्षमता विकासका सूचकको रूपमा हामीले उसको क्षमता विकास भएको छ कि छैन भन्न सक्छौँ। उसको व्यक्तिगतरूमा प्रशिक्षण, अनुभव, प्रेरणा र प्रोत्साहन गर्न सक्ने क्षमता उसको व्यक्तिगत सिप, ज्ञान र कार्यसम्पादनमा सुधार गर्ने सक्ने क्षमता पर्दछ।  

अब उसको संगठनात्मकरूपमा क्षमता कस्तो छ त भनी हामी उसका संगठन सञ्चालन गर्ने रणनीति, योजना, नियम र विनयम, साझेदारी नेतृत्व, संगठनात्मक राजनीति र शक्ति संरचना र संगठनात्मक प्रणाली, त्यसको भूमिका र जिम्मेवारीलाई कसरी सुदृढ गर्न सक्छ या सक्दैन भन्ने हेर्न सक्छौँ। त्यसैगरी बाह्य वातावरणीय प्रभावलाई सफल बनाउनका लागि उसले आर्थिक वृद्धि, वित्तीय, श्रम बजार, राजनीतिक प्रतिस्पर्धा, वर्ग संरचना र सांस्कृतिक पक्षसहित समग्ररूपमा आर्थिक, राजनीतिक, वातावरणीय र सामाजिक कारकलाई सुसंगत र पारस्परिकरूपमा सुदृढ गर्ने शैलीमा छ या छैन यसलाई सम्बोधन गर्ने नीतिका वैचारिक र व्यावहारिक खाका निर्धारण गर्न सक्नुपर्छ।  

यसलाई अध्ययन गर्दा यो अनुशरण गर्न सकिन्छ कि युवा नेतृत्वको क्षमता विकासले समावेशी, सहभागितामूलक र दिगो संरचनागत आधारमा, देश विकासका उद्देश्य प्राप्त गर्न व्यक्ति, समूह, संस्था र समाजसँग सामाजिक अन्तरक्रिया र प्रक्रिया अगाडि बढाउनुपर्छ। समाजमा युवा नेतुत्व देशको आवश्यकता हो भन्ने सामाजिक मनोविज्ञान छ। यो राम्रो हो। नेतृत्व युवाले लिने हो तर युवा नेतृत्वमा संरचनागत क्षमताको विकास भएन भने हामीले सोचेको विकास र समृद्धिको देश बन्न सक्दैन। यसका लागि पनि हामी युवा जमात र समाजले अबको युवा नेतृत्वमा माथिका संरचनागत परिपक्वता र क्षमता छ या छैन पहिचान गर्न सक्नुपर्छ।  

कुनै पनि नेतृत्वमा भावनात्मक क्षमता चाहिन्छ। नेतृत्वसँग समाजले के महसुस गरिरहेको छ ? त्यो महसुस गर्न सक्ने हृदय र वास्तविक सामाजिक समस्यासँग समाज जोड्न सक्ने दृढ इच्छा भएको हुनुपर्छ। अबको नेतृत्वमा बौद्धिक र भौतिक क्षमता भएको, समय व्यवस्थापन गर्ने हुनुपर्छ। नेतृत्व क्षमतामा विभिन्नखाले सामुदायिक गठबन्धन एकदम आवश्यक छ। यो राष्ट्रको विकास गर्ने सामुदायिक गठबन्धन कार्यसिद्धान्त हो। यससम्बन्धी युवा नेतृत्वको ज्ञान हुनुपर्दछ।  

सामुदायिक गठबन्धन कार्यसिद्धान्त

क्षमता विकासका लागि राजनीतिक मुद्दाहरूप्रति धेरै सचेतता र संवेदनशीलता चाहिन्छ। क्षमता विकासमा समाजमा भएका विभिन्न शक्ति संरचनाहरूले धेरै प्रभाव पार्छ। समाज अनेकौँ संरचनाले जेलिएको हुन्छ। तिनै संरचनाले व्यक्तिको क्षमता विकास गर्ने हो। जसले एक सामाजिक प्रतीकका रूपमा स्थापित गर्छ। यस्ता सामाजिक संरचनाभित्र भएका शक्ति र स्वार्थका लागि समाजमा समुदाय, संगठनभित्र द्वन्द्व त भैरहन्छ। यसलाई सम्बोधन गर्ने सामुदायिक गठबन्धन कार्यको सिद्धान्तले पनि धेरै प्रभाव पार्छ। यसको मिहीनरूपमा अनुशरण गर्नुपर्छ। यहाँ सामुदायिक गठबन्धन कार्यसिद्धान्त विभिन्न संगठनबीचको सामूहिक संरचनागत कार्य गर्ने एक स्वरूप हो। सामुदायिक गठबन्धन एक संरचित व्यवस्था हो जहाँ सबै सदस्यले साझा लक्ष्य र उद्देश्यमा मिलेर काम गर्ने मान्यता बोकेको हुन्छ। यो एक औपचारिकरूपमा बहुउद्देश्यीय र दीर्घकालीन गठबन्धन मान्यता बोकेको कार्यसिद्धान्त हो। जसले स्थानीय वा क्षेत्रीयरूपमा काम गर्छ। सामुदायिक गठबन्धनमा व्यक्ति र संगठनहरूद्वारा प्रतिनिधित्व गरिएका सामूहिक संगठन हो जसले लक्ष्य हासिल गरेपछि पनि लामो समयसम्म एकजुट हुने मान्यता बोकेको हुन्छ। यसका धेरै सिद्धान्तको अनुगमन गर्ने नै युवा नेतृत्वको क्षमता विकास गर्नु हो।  

सामाजिक उत्तरदायित्व र विकासको खाका

डेभिस तथा ब्लमस्टोर्मका शब्दमा सामाजिक उत्तरदायित्वले यस्तो जनाउँछ कि जुन दायित्व भनेको आफ्नो हितको साथसाथै सम्पूर्ण समाजकै सुरक्षा एवं कल्याणमा सुधार गर्नका लागि कार्यहरू गर्नु हो। यहाँ आफ्नो हित भनेको आत्मरक्षा हो। अबको युवा नेतृत्वको संरचनागत क्षमताको विकासमा सामाजको सांस्कृतिक, धार्मिक संस्कार र परम्पराका आधारमा सामाजिक उत्तरदायित्व हुनुपर्छ भने भौगोलिक, भाषिक विविधता र सामाजिक मनोविज्ञानको विविधता भएको समाजमा त्यहाँको सामाजिक मनोविज्ञानअनुसार विकासी खाकासहित समृद्ध समाजको परिकल्पना गर्नुपर्छ।

प्रकाशित: ६ माघ २०७९ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App