८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

मात्र आकारमा मानव !

प्राकृतिक सुन्दरता  

पृथ्वी सूर्यदेखि निश्चित दुरीमा रहेको छ। यही दुरीका कारण पृथ्वी चुम्बकीय क्षेत्र, तातोपन र पृथकीकृत वातावरणीय समस्यामा सहज हुनाका साथै विषाक्त सूर्यका विकिरणबाट पनि सुरक्षित छ। जीवनका लागि चाहिने रासायनिक संघटक पानी, अक्सिजन, नाइट्रोजन कार्बन डाइअक्साइड आदिका कारण पृथ्वी जीवका लागि बासस्थानयोग्य बनेको छ। आज देखिएको जैविक विविधता हजारौं वर्षको उद्विकासात्मक यात्राको प्राप्ति हो। यही प्राकृतिक गतिमा मानव जीवनले वृद्धि हुने अन्तः प्रेरणा पाएको हो। यसर्थ हामी प्रकृतिको एकीकृत अंश हौं। यो संरचना विविधतामा आधारित छ र यसलाई व्यापक अर्थमा सूक्ष्मजीव, जनावर, रुखबिरुवाका विविध प्रकारबाट बोध गर्न सकिन्छ। यसका साथै पृथ्वीमा पर्यावरणीय विविधता रहेको छ। यसमा मरुभूमि, वनजङ्गल, सुख्खाभूमि, पहाडपर्वत, तालतलैया, नदी, कृषिभूमि आदिको विविधता देखिन्छ। प्रत्येक पर्यावरणीय अवस्थामा जीवजनावर मानवलगायत समाविष्ट छन्। जीवनका लागि हावा, पानी र माटो आवश्यक छ। यो प्राकृतिक अवस्थासँगै समुदायगत अन्तरक्रियाबाट चलेको जीवन प्रक्रियासँग जोडिएको छ। यो जीवनको संयोजन पनि हो। पृथ्वीमा असमान वातावरण भए पनि मानिसका लागि यो रैथाने भूमि हो र यही असमानतामा अन्तक्र्रियात्मक आधारमा पृथ्वीमा मानव जीवन सक्रिय छ। जैविक विविधताका कारण हाम्रो जीवन चल्नका लागि ठुलो मात्रामा खाद्यवस्तु प्राप्त छ। वनजङ्गल, वसन्त ऋतु, झरना, बगैंचा, हिउँले ढाकिएका पहाड, नदी, तालतलैया, ढकमक्क फुलेका फूल, घाँसे मैदान, आदि धर्तीका सुन्दरता हुन्। यी प्राकृतिक सौन्दर्यमा मानव निकै रोमाञ्चित हुँदै आनन्दको गर्वबोध गर्ने गर्छ। धेरै कविले यसको सुन्दरतामा कविता रचना गरेका छन्। यसबाट सत्यम्, शिवम्, सुन्दरम्को भावना विकास भएको छ। प्रकृतिका यी वस्तु आनन्दका स्रोत, धर्तीका अनुपम उपहार हुन्। त्यसैले प्राकृतिक सुन्दरतामा धर्ती गतिशील छ र रहिरहने छ।  

मानव र सामाजिक समस्या  

सत्य र असत्यबीचको सङ्घर्षमा असल जीवनयापनको चिनारी सिकाइबाट नै प्राप्त हुने गर्छ। मानवका नाताले धर्तीका सयौं समस्या सन्तुलन गर्नपर्ने हुन्छ। शरीर र मस्तिष्कको सन्तुलनमा नै शरीरमा ऊर्जा आउँछ। यो भाव भावनात्मक रूपले एकीकृत हुँदा नै नयाँ गुणात्मक ऊर्जा थपिन्छ। गुणात्मकता न त भावना हो न त कारण नै। यो केही सूक्ष्म, पूर्णता या सत्य हो। समग्र मानव गुणका आधार नै गुणत्मकता हो। यसभित्र इमान, एकत्व, साहस, आत्म सचेतता, विश्वबन्धुत्व आदि समावेश गर्न सकिन्छ। यी गुणका कारण नै हामी मानव हौं भन्ने चिनारी या गर्व थपिएको हो। आजका सामाजिक परिघटनामा मानवीय मूल्य क्षयीकरण भएको छ। धन, शक्ति, पदको समग्र परिघटनाका कारण मानवमा बहुलट्ठीपन विकास भएको र मानवताहीन स्थिति सिर्जना भएको पनि देखिन्छ। यसले गर्दा समाजमा हिंसा, लोभ, भ्रष्टाचार, लागुपदार्थ दुव्र्यसन आदि देखिएको हो। यसबाट समाजमा नैतिक र कानुनी मूल्य निरन्तर क्षय भएको विश्वास गर्न सकिन्छ। यसका कारण मानव पीडित मात्र नभई सङ्कीर्ण बन्दै गएको छ। यस किसिमका परिघटनाका विरुद्ध ज्ञानको विस्फोट हुनु जरुरी छ।  

सामाजिक समस्या विचारणीय रहेका छन्। यो अवस्थामा समाजको सदस्यका नाताले सामाजिक मान्यताको विचलन मननयोग्य विषय हो। गरिबी, बेरोजगारी, असमान अवसर, जातिवाद, कुपोषण, रोजगारीमा विभेद, बालविभेद, जातीय सङ्कीर्णता, पृथकीकरण, पार्थक्य, छुवाछुत सामाजिक समस्या र शोषणको मुख्य समस्या हो। यसरी नै महिला, बालबालिका र अल्पसङ्ख्यकप्रतिको विभेद, लागुपदार्ग दुव्र्यसनी, युवा असन्तोष, भ्रष्टाचार, बसाइँसराइँ, विस्थापन आदि पनि सामाजिक समस्या र शोषणका कारण हुन्। यसका विरुद्ध मानव चेतनाको आधार मुख्य विषय हो। पृथ्वीको स्रोतको उपभोग र शोषणमा चेतनाको खाँचो छ। यसमा सत्यबोध हुन आवश्यक छ र मानव मूल्यबोधको आवश्यकतामा स्पष्ट हुन जरुरी छ। विभिन्न क्षेत्रबाट सामाजिक समस्या दिन प्रतिदिन घोषित नै छन्। हाम्रो समाज विखण्डन र तनावमा नै रहेको छ। हाम्रो देशमा सम्बन्धविच्छेदको दर वृद्धि मात्र नभई सामाजिक समस्याको जड बनेको छ। पहिले सम्बन्धविच्छेदका मुद्दा धेरै कम हुने गरेको र अझ हिन्दु धर्मका ग्रन्थमा यो विषय या सम्बन्धविच्छेदको शब्द फेला पर्दैन। यो विषय नयाँ आधुनिक समाजमा प्रतिबिम्बित हुनैपर्ने देखिन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष विश्वव्यापी रूपमा ८ लाख व्यक्ति आत्महत्या गर्ने गरेको तथ्य प्रकाशमा आएको छ। नेपालमा पनि आत्महत्याको दर बढ्दो अवस्थामा छ। नेपाल प्रहरीले प्रकाशमा ल्याएको तथ्यअनुसार सन् २०२० मा वर्षभरि आत्महत्या गर्नेको सङ्ख्या ७,१४१ रहेको देखिन्छ। अघिल्लो वर्षको तुलनामा यो दर बढी नै हो। नेपाल प्रहरीकै तथ्यमा महिला विरुद्धको घरेलु हिंसाका १२,८३२ (सन् २०२०/२०२१) मुद्दा रहेको पनि जनाइएको छ। यसबाट सामाजिक सुरक्षा र नैतिक मुद्दाको विषय अहिलेको समाजमा झन् आवश्यक भएको स्पष्ट हुन्छ।

सेलिब्रेटी संस्कारमा वृद्धि भएको छ। यसले व्यक्तित्वको सट्टा चारित्रिक विशेषतालाई महŒव दिन्छ। असल चरित्र नै सत्यको आधार हो। अहम्, ईष्र्या र मूर्खतालाई बदल्न नयाँ आवाज निर्माण हुन आवश्यक छ।

वातावरणीय समस्या  

मानव बुद्धिको विकास नै मानव सभ्यता हो। मानव सभ्यतामा मानवको भूमिकासँगै समस्याको समाधान पनि छ। भौतिक वातावरणमा मानवीय भूमिका जनसङ्ख्या वृद्धि, प्रदूषण, प्रदूषित वायु, पानी, भूमि आदिमा सचेत हुनपर्ने देखिन्छ। जलवायु परिवर्तन, विश्व तापमान वृद्धि, बदलिँदो मौसम, वनविनास, जैविक विविधता, प्राकृतिक स्रोतको सङ्कट आदिलाई लिन सकिन्छ। पृथ्वीमा मानव दौडले पर्यावरणीय र जीवन बचाइमा अन्यायिक विनास निम्त्याएको छ। प्रकृतिमा प्रभुत्वशाली र पृथक् हुनभन्दा हामीमा लामो सोच हुनु जरुरी छ। सामान्यतया पैसा, पद र शक्तिले नै शासन गरेको छ। अर्को शब्दमा भन्दा यो सबै मानिसमा देखिएको नैतिक पतनकै पक्ष हो। आश्चर्य नमानी भन्दा अहिले हामी हाम्रो अस्तित्वको सङ्कटमा रहेका छौं। विश्व जनसङ्ख्या सन् १९०० मा १.६ र सन् १९५० मा २.५ विलियन रहेको देखिन्छ। यसमा सन् २०२२ मा ८ विलियनले वृद्धि भएको र शताब्दीको अन्तसम्म १०.४ विलियन पुग्ने देखिन्छ। सन् २०२१ मा जनसङ्ख्याको भारले गर्दा ९.८ प्रतिशत मानिस भोकद्वारा ग्रसित भएको पीडा बिर्सन मिल्दैन।  

पृथ्वीको ३१ प्रतिशत भूबनोट वनजङ्गलले ढाकिएको (लगभग ४.०६ विलियम हेक्टर) मध्ये केबल १८ प्रतिशत विश्वको जङ्गल वनविनासबाट संरक्षित छ। असंरक्षणका कारण सन् १९९० पछि ४२० विलियन हेक्टर भन्दा बढी जङ्गल विनास भइसकेको छ। सन् २०१५–२०२० बीचमा १० मिलियन हेक्टर जङ्गल प्रतिवर्षका दरले विनास भएको पाइन्छ। यसमा पनि २५.८ मिलियन हेक्टर वन विनास भएको र सन् २०२० मा २४०० रुख प्रतिमिनेटमा काटिएको तथ्य भेटिन्छ। यस्तै १३७ भिन्न प्रजातिका बिरुवा, जनावर र चराचुरुङ्गी एकदिनमा नासिएको मर्म विश्व वनविनाससँग जोडिएको छ। तितो सत्य नै भनौं, १४०० रुखका प्रजाति अहिले सङ्कटापन्न स्थितिमा लोपोन्मुख रहेको पनि देखिन्छ। मानव स्वास्थ्यमा प्रभाव पार्ने महŒवपूर्ण कारकमा वनविनास हो। यसमा पनि करिब ३१ प्रतिशत आधुनिक रोग वनविनासकै परिणामबाट देखापरेका छन्। यस्तै ९० प्रतिशत जनता गरिबीका चरम रेखामा परेका छन्। उनीहरूको जीवनयापन नै वनजङ्गलमा निर्भर रहेको थियो। पश्चिमी औषधीमध्ये २५ प्रतिशत वर्षातकै वनजङ्गलमा निर्भर रहेको र २५ प्रतिशत क्यान्सर विरुद्धको औषधी पनि रेन फरेस्टमा नै निर्भर रहेको यथार्थ बिर्सन मिल्दैन।  

निष्कर्ष  

हाम्रा पूर्वजहरूको संसारभन्दा हामीले सामना गरेको विश्वस्थिति भिन्न छ। यसो भए पनि हामी आजका समस्या बोध गर्न र समाधान गर्न सक्षम छौं किनकि यी धेरैजसो मानव निर्मित समस्या नै हुन्। पहिले हामीले हामी को हौं र विगत कसरी बनेको छ भन्ने बुझ्न जरुरी छ। हामीले अपरिवर्तनीय मानव स्वभाव बुझ्नैपर्छ। हामीले सचेततापूर्वक परिवर्तनशील विश्व र हाम्रो भविष्य अनि पृथ्वीको संरक्षणका विषयमा के गर्न सक्छौं भन्ने चिन्तन गर्नैपर्ने हुन्छ। मानव मस्तिष्क लचिलो छ। हामी सजिलै समूहगत संस्कृतिबाट निर्देशित र प्रभाव ग्रहण गर्न सक्छौं। हामी सामाजिक प्राणी भएका नाताले तत्कालै सचेत समूह निर्माण गर्न सक्छौं। हामी आफूमा मात्र केन्द्रित भएमा यो समस्या झन् विकराल बन्छ।  

प्लास्टिकको संस्कृति र बढ्दो तापक्रमले गर्दा महान् वैज्ञानिक स्टेफन हकिन्सका अनुसार सन् २६०० सम्म यो पृथ्वी मानव बस्न योग्य रहने छैन। हजारौं मानिसहरूको भिडमा यसरी टाउको उचालेर हेर्दा उदास अनुहार मात्रै देखिन्छन्। यसको प्रमुख कारण एकले अर्कालाई उदास बनाउनु हो। माथि उल्लिखित सामाजिक तथा वातावरणीय समस्याको मूल कारण मानवकै क्रियाकलाप हो। त्यसकारण हामी ‘आकारमा मानव’ मात्र होइन, गुणमा मानव बनौं, स्वर्ग यही धर्तीमा सिर्जना गर्न सकिन्छ। 

प्रकाशित: २३ पुस २०७९ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App