९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

सात सालको जनक्रान्ति र सुवर्ण जयन्ती

नेपालमा एक शताब्दीको निरंकुश जहाँनिया राणा शासनको समाप्ति र प्रजातन्त्र स्थापनार्थ बनारसमा बिपी कोइरालाको नेतृत्वमा २००३ साल कात्तिक १५ गतेका दिन एउटा पार्टीको आधारशीला खडा गर्न एउटा तदर्थ तयारी समिति गठन गरियो। त्यसको नाम अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस राखियो। त्यसको संयोजकमा बिपी कोइराला रहे भने त्यसको अध्यक्षमा सुब्बा देवीप्रसाद सापकोटा, उपाध्यक्षमा बालचन्द्र शर्मा, महामन्त्रीमा कृष्णप्रसाद भट्टराई तथा प्रचारमन्त्रीमा गोपालप्रसाद भट्टराई। यसैगरी सदस्यहरूमा दीनानाथ सापकोटा, लक्ष्मी प्र. सापकोटा तथा कार्यालय सचिवमा ईश्वर बराल रहे।

त्यही तयारी समितिले त्यही सालको २००३ साल माघ १२ गते कलकत्तामा प्रथम अधिवेशन बोलाउने निर्णय गर्‍यो। उक्त अधिवेशनबाट बिपी कोइरालालाई सर्वसम्मतिबाट सभापतिमा निर्वाचित गरियो। उनकै सभापतित्वमा पार्टीको नामको सम्बन्धमा व्यापक छलफल भई ‘नेपाली राष्ट्रिय कांग्रेस’ सर्वसम्मतिबाट स्वीकृत गरियो। पार्टीको कार्यसमितिको गठनबारे पनि पछि छलफल भयो। गणेशमान सिंहले यसको सभापति पदमा नेपालको जेलमा बन्दी जीवनयापन गरिरहेका नेपाल प्रजा परिषद्का सभापति टंकप्रसाद आचार्यको नाम प्रस्तावित गरे। धेरै प्रतिनिधिको बिपी कोइरालाले नै सभापति पद सम्हाल्नुपर्छ भन्ने धारणा व्यक्त गरे।

तर बिपी कोइरालाले उदारता देखाई भविष्यमा कांग्रेसलाई सबै पक्षबाट समर्थन पुगोस् भन्ने उद्देश्य राखी टंकप्रसाद आचार्यकै नाममा समर्थन गरे। बिपी कार्यबाहक सभापति, बालचन्द्र शर्मा महामन्त्री, डा. डिल्लीरमण रेग्मी प्रकाशन विभागको प्रमुख, कृष्णप्रसाद भट्टराई संगठन मन्त्री, सदस्यहरूमा क्रमश: गोपालप्रसाद भट्टराई, देवव्रत परियार, डिएन प्रधान, ल्हाक्पा छिरिङ शेर्पा र रुद्रप्रसाद गिरी तथा ईश्वर बराल कार्यालय अध्यक्षमा छानिए। यसरी विधिवत्रूपमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भयो। पछि कलकत्तामा नै २००६ साल चैत २७ गतेका दिन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरण भई नेपाली कांग्रेस नामकरण गरियो।

यसको सभापतिमा मातृकाप्रसाद कोइरालालाई सर्वसम्मतिबाट निर्वाचित गरियो। नेपाल प्रजातन्त्र कांग्रेसका सभापति महेन्द्रविक्रम शाहलाई महामन्त्री, सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेर र कुँवर कल्लु सिंह चयन गरियो भने नेपाली राष्ट्रिय कांग्रेसबाट बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा दयाशंकर मुन्सीलाई चयन गरियो।

यसरी नेपाली राष्ट्रिय कांग्रेस तथा नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणपश्चात बनेको नेपाली कांग्रेसले निरंकुश, एकतन्त्रीय राणा शासकविरुद्ध एकजुट भएर सशस्त्र क्रान्ति गर्ने योजना बनाए। नेपाल प्रजातन्त्र कांग्रेसबाट आएका सुवर्ण शमशेर, महावीर शमशेरजस्ता धनाढ्य राणा परिवारका व्यक्तिहरू आएपछि नेपाली कांग्रेस झन् बलियो भयो। सशस्त्र क्रान्ति सञ्चालन गर्न आर्थिक स्रोत र हतियारको कुनै कमी भएन।

सशस्त्र क्रान्तिका लागि चाहिने सम्पूर्ण आर्थिक सहयोग सुवर्ण शमशेरले दिए भने बर्मा तथा अन्य स्थानबाट हतियार खरिद गरी ल्याउने काम महावीर शमशेरले गरे। महावीरले त आफ्नै प्लेनबाट बर्माबाट हतियार ल्याएर पटनामा खसालेका थिए।

सशस्त्र क्रान्तिको पूर्वतयारीका लागि ठाउँ ठाउँमा विचारविमर्श हुन थाल्यो। राणातन्त्रविरुद्ध देशभित्रैबाट क्रान्ति गर्नुपर्छ भन्ने बिपी कोइरालाको धारणा थियो। कलकत्तामा बसेको बैठकले यथाशीघ्र जनक्रान्ति प्रारम्भ गर्ने र त्यो क्रान्ति देशभित्रैबाट सञ्चालन गर्ने नीति स्वीकृत गर्‍यो। तदनुसार उक्त बैठकले राजा त्रिभुवनसित सम्पर्क गर्ने तथा उनलाई नारायणहिटी राजदरबारबाट भगाएर नेपालको कुनै सुरक्षित स्थानमा पुर्‍याउने त्यो स्थानलाई मुक्त क्षेत्र घोषित गर्ने र त्यहीँबाट देशव्यापी रूपमा जनक्रान्ति सञ्चालन गर्ने कार्यक्रम तय भयो।

यसका निमित्त राजा त्रिभुवनसित सम्पर्क गर्न अत्यन्त साहसिक कामका लागि गणेशमान सिंहले आफै जिम्मा लिए। कलकत्ताबाट उनले सुन्दरराज चालिसेलाई पनि सँगै ल्याए। उनीहरू सर्लाहीपारि भारतीय रेलवे स्टेसनमा उत्री मलंगवा हुँदै नेपाल प्रवेश गरे। सिन्धुली, बनेपा हुँदै काठमाडौं आइपुगे। काठमाडौंमा गणेशमान आफ्ना काका सहिद भोगेन्द्रमानका पिता सुब्बा गोविन्दमानको घर रक्तकालीमा बसे। केही दिनपछि साँझ गोप्यरूपमा ताहाचलको नजिक छावनीमा राजा त्रिभुवनका सचिव दयारामभक्त माथेमासँग गणेशमान सिंहको भेट भयो। सबै कुरा बुझेपछि माथेमाले राजा त्रिभुवनकहाँ जाहेरी गरे।

राजा त्रिभुवन केही समयदेखि बाथ रोगले अस्वस्थ रहेकाले पैदल हिँडेर काठमाडौंबाट अन्यत्र कतै जान असमर्थ भएको कुरा माथेमाले सिंहलाई भने। यहीँ हेलिकोप्टरको प्रबन्ध हुन सके नेपाली कांग्रेसले व्यवस्था गरेको जुनसुकै स्थानमा जान तयार छु भने। राजा त्रिभुवन राजदरबार परित्याग गर्न तयार भए कि भएनन् भन्ने जानकारी कलकत्तामा बिपी र सुवर्ण शमशेरलाई दिने योजना थियो। त्यसैको निमित्त गणेशमान र सुन्दरराज चालिसेले शक्तिशाली वायरलेस सेट लिएर काठमाडौं आएका थिए। तर सँगै आएका अपरेटर लामा काठमाडौं आइपुगेको चार पाँच दिनपछि यहाँबाट भागे।

वायरलेसबाट बिपी, सुवर्ण र गणेशमानबीच संवाद हुन सकेन। तर ढिलो गरी सिंहले एकजना भरपर्दो मानिससँगै हेलिकोप्टरको व्यवस्था हुन सके राजा त्रिभुवन जान तयार रहेको खबर पठाए। त्रिभुवनलाई नारायणहिटी राजदरबारबाट भगाएर पाल्पा पुर्‍याउने योजनामा केही दिनसम्म बिपी र सुवर्णले हेलिकोप्टरको व्यवस्था मिलाउन निकै प्रयत्न गरे तर भएन। त्यसै कारण त्रिभुवनलाई भगाउने योजना पूरा भएन। त्यसबेला भारतीय दूतावासमा रहेको हुलाकबाट मात्रै भारतसित नेपालको चिठी पत्रिकाहरू आदानप्रदान हुन्थ्यो।

कलकत्ता चिठी पठाउन भारतीय राजदूतावास जाँदा भारतीय राजदूत सिपिएन सिन्हासित गणेशमान र चालिसेको भेट भयो। त्यसबाट उनीहरू काठमाडौं आएको कुरा प्रस्ट भयो। यो कुरा राणा शासकलाई पनि थाहा भएपछि कडाइ गर्न थाले। सिंह र चालिसे कसैगरी काठमाडौंबाट उम्के। उता भारतीय राजदूत सिन्हाले राजा त्रिभुवनलाई सुरक्षित रूपमा दिल्ली पठाउन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलाई खबर पठाए। त्यतिबेला नेपाली कांग्रेस राणाविरुद्धको आफ्नो सशस्त्र क्रान्ति प्रारम्भ गर्ने अन्तिम तयारीमा पुगिसकेको थियो।

राजा त्रिभुवन राजनीतिक कारणले देश छोडेर भारत आएमा भारत सरकारले पूरा सुरक्षा प्रदान गर्ने भन्ने भारतीय प्रधानमन्त्रीको सन्देश प्राप्त भयो। अन्ततोगत्वा सिकार खेल्न नागार्जुनको रानीवनमा जाने बहानामा २००७ साल कात्तिक २१ गतेका दिन बिहान सपरिवार नारायणहिटी राजदरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिन पुगे। राजदरबार परित्याग गर्नु राजा त्रिभुवनको एक साहसिक निर्णय थियो।

यो निर्णय अवश्य पनि राजा त्रिभुवनको नेपाली कांग्रेसप्रतिको अटुट विश्वास थियो कि जनक्रान्तिद्वारा राणातन्त्र फाली संवैधानिक राजतन्त्र र प्रजातन्त्र स्थापना गर्ने छ। यसरी राजदरबार परित्याग गरी भारत सरकारको विशेष वायुयानद्वारा राजा त्रिभुवनको दिल्ली सवारी भयो। भारत सरकारका तत्कालीन राष्ट्रपति डा. राजेन्द्रप्रसाद तथा प्रधानमन्त्री जवाहरलाल नेहरूले एयरपोर्टमा भव्य स्वागत गरी हैदरावाद हाउसमा विशिष्ट पाहुनाका रूपमा राखी भव्य सत्कार गरे।

यता नेपाली कांग्रेसले सशस्त्र क्रान्तिका लागि मुक्ति सेनाको गठन, हातहतियार, गोलीगट्ठा लगायत सबै व्यवस्था गरिसकेको थियो। सशस्त्र क्रान्ति प्रारम्भ आवश्यक थियो। त्यसैकारण २००७ साल आश्विन १० र ११ गतेका दिन उत्तर विहारको वैरगनियाँमा पार्टीको सम्मेलन बोलाउने निर्णय गरियो। वैरगनियाँ सीमावर्ती रौतहट जिल्लाको पारि भएकाले नेपालका जनतालाई पनि जान सजिलो भयो। यस सम्मेलनले यथाशीघ्र सशस्त्र क्रान्ति सञ्चालन गर्ने भन्दै कार्यान्वयनको सम्पूर्ण अधिकार नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालालाई सुम्पिएको थियो।

सशस्त्र क्रान्ति गर्न २००७ साल कात्तिक २४ गते कलकत्तामा नेपाली कांग्रेसको आकस्मिक बैठक बसी त्यही दिन आजाद हिन्द फौजका मेजर पुरनसिंह खवास, जिवी याकथुम्वा र थिरबम मल्लको नेतृत्वमा सय जनाजतिको जनमुक्ति सेना वीरगन्जतर्फ प्रस्थान गर्‍यो।

कात्तिक २६ गते शनिबार भाइटीकाका दिन जनमुक्ति सेनाले वीरगन्ज सहर कब्जा गरी नेपाली कांग्रेसको झन्डा गाडियो। त्यो दिन नेपाली कांग्रेसको निमित्त मात्र होइन, सम्पूर्ण नेपाली जनताको निमित्त एक महत्त्वपूर्ण र ऐतिहासिक दिन थियो। त्यही दिन राणा शासकको विरोधमा जनक्रान्ति प्रारम्भ भएको थियो। त्यही दिन साँझमा विमानले राणा शासनविरुद्ध पर्चा छर्केको थियो।

रातको सुनसानमा थिरवम मल्ल नेतृत्वको टोली बडा हाकिमको गोश्वारानिर आइपुग्यो। अर्को टोली पर सैनिक ब्यारेकनिर पुग्यो। ब्यारेकका सबै सैनिक निदाएका थिए। त्यसलाई मुक्ति सेनाले आफ्नो कब्जामा लिएर बन्दी बनायो। त्यहाँका सबै हतियार जनमुक्ति सेनाले आफ्नो हातमा लिए। बडा हाकिम निवासको ढोकामा पालो बसिरहेका सिपाहीको राइफल खोसेर त्यसलाई आफ्नो कब्जामा लिन थिरवम मल्ल सफल पनि भए। वीरगन्जका नेपाली कांग्रेसका नेता तेजबहादुर अमात्यले बडाहाकिमलाई आत्मसमर्पण गर्न दिएको पत्र, विमानबाट छरिएको पर्चा र मुक्ति सेनाले पाइरहेको सफलताप्रति बडाहाकिम डराउन थाले।

यसैबीच मुक्ति सेनाले बडाहाकिम सोम शमशेरलाई सजिलै बिनारक्तपात बन्दी बनायो। यसरी वीरगन्जलाई कब्जामा लिए पनि दुर्भाग्यवस थीरवम मल्ल सहिद भए। बडाहाकिम लगायत अन्य कर्मचारीलाई बन्दी बनाइएकाले राणाका सेना र मुक्ति सेनाबीच गोली हानाहान भयो। दुवैतिरबाट घमासान भिडन्त हुँदा स्थानीय मानिस जम्मा भई भयभीत भएर कुरा गरिरहेका थिए। तिनीहरूलाई थीरवम मल्लले सम्झाउँदै भने-यो कुनै शत्रु पक्षले नेपालमाथि आक्रमण गरेको होइन। कसैले जनताको सम्पत्ति लुटपाट गर्न वा एउटा वर्गलाई सत्ताच्युत गरेर अर्को वर्गलाई त्यसरी नै सत्तामा ल्याउन गरेको क्रान्ति पनि होइन। जनताको हितका निमित्त जनतालाई शोषण र दमनबाट मुक्त गर्न नेपाली कांग्रेसले गरेको जनक्रान्ति हो।

थिरवमले यसरी वीरगन्जवासीलाई सम्झाइरहेकै बेला अर्कोतिरबाट रेलवे लाइन हुँदै आइरहेका दुई जना सेनाले उनलाई गोली हाने। गोली पेट र टाउकोमा लागेर ढले। त्यहीं उनको मृत्यु भयो। यसरी थिरवम मल्ल सात साल जनक्रान्तिका पहिलो सहिद भए। उता विराटनगर, राजविराज, झापादेखि पश्चिमका भैरहवा, नेपालगन्ज, धनगढी सबैतिर जनक्रान्ति फैलियो। सबै ठाउँमा नेपाली कांग्रेसले विजयी हासिल गर्‍यो। सात सालको जनक्रान्ति कात्तिक २६ गते सुरु भएको दिनलाई क्रान्ति दिवसका रूपमा मनाउने गरिन्छ। जनक्रान्तिका सञ्चालक तथा महादानी सुवर्ण शमशेरको निधन २०३४ साल कात्तिक २४ गते भएको हुनाले त्यो दिनलाई सुवर्ण जयन्तीका रूपमा मनाउने गरिन्छ।

तर कात्तिक २६ गतेका दिन पारेर क्रान्ति दिवस तथा सुवर्ण जयन्ती दुइवटै एकै दिन मनाउने गरिन्छ। राजविराजमा पनि दुईवटै जयन्ती एकै दिन मनाउने गरिन्थ्यो। राजविराजमा नेपाली कांग्रेसका पुराना नेता गजेन्द्रनारायण सिंहले बाँचुन्जेल यो दिवस मनाए। जनक्रान्तिका नायक सुवर्ण शमशेरप्रति शब्द श्रद्धाञ्जलि प्रकट गर्दछु।

प्रकाशित: १० मंसिर २०७९ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App