२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्ध्य दिइने

हरेक वर्ष छठमा बेहुलीझैं सिँगारिने वीरगन्जको घडीअर्वा पोखरी। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – मधेस–तराईको प्रमुख पर्व छठको ‘नहाय खाय के’ विधिसँगै बिहीबार सुरु भएको छ। कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिका दिन महिलाहरू व्रतअघि शुद्ध भएर आहार ग्रहण गर्छन्, जसलाई ‘नहाय खाय के’ भनिन्छ। आँपको दतिउनले मुखधुने, नङ काटेर, नुहाएर, हातखुट्टा रंगाएर मात्र शुद्ध सात्विक भोजन ग्रहण गर्छन्। ब्रतालुले अगहनी चामलको भात, रहरको दाल, लौकाको तरकारी खाने गरेका छन्। ब्रतालु महिलाहरू नहाय खाय के विधिसँगै मन, शरीर र वातावरण शुद्ध राख्छन् र ब्रह्मचार्यको पालना गर्दछन्। छठ सम्पन्न नभएसम्म छठ मान्ने आमहिन्दु परिवारमा शुद्ध शाकाहारी भोजन मात्र गरिन्छ।

शुक्रबार अर्थात् पञ्चमी तिथिमा ‘रसियाव रोटी’को विधि गरिन्छ। शुक्रबार दिनभरि निराहार व्रत बसेर साँझपख माटाले बनाएको शुद्ध चुलोमा आँपको दाउरा बाली बनाइएको खिर र माटाको भाडामा पकाइएको गहुँको रोटी प्रसादका रूपमा छठ माता र सूर्य देउतालाई अह्वान गरेर ब्रतालुले खाने गर्छन्। यसलाई प्रसादस्वरूप परिवारका अरू सदस्यले समेत खान्छन्। टोलछिमेकमा कसैको घरमा छठपूजा आयोजन नहुने भए त्यस व्यक्तिको घरमा रसियाव रोटीको प्रसाद पु¥याइदिने र उक्त व्यक्तिले त्यसलाई श्रद्धापूर्वक ग्रहण गर्ने गरेको पाइन्छ। रसियाव रोटीसँगै सुरु हुन्छ ब्रतालुहरूको ३६ घण्टे निर्जल उपवास।

रसियाव रोटीको भोलिपल्ट षष्ठी तिथिमा सँझिया घाटको अर्थात् नदी वा जलाशय किनारमा गएर सामूहिक रूपमा छठ पूजा गर्ने गरिन्छ। यसपालि शनिबार सँझिया घाट परेको छ। ब्रतालुले निर्जल उपवास रही बेलुकी अस्ताउँदो सूर्यलाई जलाशयमा अघ्र्य दिने र छठी माताको प्रतिमा मानेर ‘पिरामिड’ आकारको साना स्तूप अर्थात् श्रीस्वप्ताको पूजा गर्ने गरेका छन्। सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि आइतबार यसपालिको छठ सकिन्छ। अस्ताउँदो र उदाउँदो सूर्य नमन गर्ने यो पर्व पछिल्लो समयमा मधेस तराईमा सद्भावको सेतुका रूपमा समेत देखिएको छ। भोजपुरी क्षेत्रको यो पर्वलाई मैथिली र नेपालीभाषी क्षेत्रमा समेत आस्थापूर्वक अपनाइएको पाइन्छ। छठको तयारीमा विभिन्न नदी तथा जलाशयका किनारमा ठाउँठाउँमा सफा पारेर सजाउन सुरु भएको छ। वीरगन्जको घडीअर्वा, मुर्ली, रानीघाट, पौडीपोखरी, रामगढवा, नगवालगायत छठघाटहरू बेहुलीजस्तै सिँगारिएको छ।

प्रकाशित: १५ कार्तिक २०७६ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App