२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रामदेवसँग आर्शीवाद थाप्न नेताको लर्को

वीरगन्ज- वीरगन्जको सडकमा चलत्रित्रको पर्दाजस्तै तीव्रगतिमा दृष्यहरू फेरिँदैछन्। विभिन्न पार्टीका झण्डाधारी कार्यकर्ताहरू एकपछि अर्को गरी सडकमा झुम्मिएका छन्, यहाँ आउने आफ्ना ठूला नेताहरूलाई स्वागत गर्न। सडककमा फरक–फरक पार्टीका झन्डावाला गाडीमा नेताहरू ओहोरदोहोर गरिरहेका छने। मोटरसाइकलको पनि ताँती नै लागेको छ बिहीबारयता र। राजनीतिक दलका नेता र मन्त्रीहरू बिहीबारदेखि यहाँ सुरु भएको पाँचदिने योग विज्ञान शिविरको केन्द्रिविन्दु योगगुरु स्वामी रामदेव बाबाको सान्निध्य पाउन पालैपालो आइरहेका छन्।

 भारतीय जनता पार्टीमा रामदेवको राम्रै प्रभाव छ। बिहीबार यहाँ आएर २ दिन र एक रात बसेकी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वामी रामदेवसँग २ वटा मञ्चमा प्रमुख आतिथ्यता ग्रहण गरिन्। बिहान योग विज्ञान शिविरको प्रमुख आतिथि भएर उद्घाटन गरेकी उनले दिउँसो 'पतञ्जली' ब्रान्डको नेपालस्थित उद्योगको बाराको पर्सौनीमा उद्घाटन गरिन्। त्यहाँ पनि उनी पूजापाठमा सरिक भएकी थिइँन्।

राष्ट्रपतिसँगै मन्त्री र सांसदहरू पनि आएका थिए। राष्ट्रपतिको हेलिकप्टरले फिर्ती उडान गर्नुअघि वीरगन्जमा आइपुगेका थिए मधेसी दलका केन्द्रीय नेताहरू।

स्वामी रामदेवकोे शिविरमा शुक्रबार बिहान झिसमिसेमैं तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र यादव, राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरत्सिंह भण्डारी र नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झा पुगेका थिए। उनीहरूले पालैपालो बाबाको आशीर्वाद ग्रहण गरे। राष्ट्रपति भण्डारीलाई दिएको जस्तै माला स्वामी रामदेवले एकपछि अर्को गरी मधेसवादी दलका अध्यक्षलाई पनि लगाइदिए।

शनिबार भने रामदेवको हातबाट माला ग्रहण गर्ने नेतामा पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल र संघीय समाजवादी फोरम, नेपाल अध्यक्ष उपेन्द्र यादव परे। नेपाली राजनीतिमा यतिखेर दुई ध्रुवमा देखिएका यी दुई पार्टीका शीर्ष नेता केेहीबेर रामदेवको सान्निध्यमा मञ्चमा बसे। फोरम नेपालका अध्यक्ष यादवले आफूहरूको माग अनुसार संविधान सशसोधन नभए आन्दोलन गर्ने घोषण एक साताअघि वीरगन्जबाट गरेका थिए। त्यही ठाउँमा आएर एमाले वरिष्ठ नेता खनालले संविधानमा कुनै पनि संशोधन नचाहिएको शनिबार बिहान पत्रकार सम्मेलनमा बताए।

रामदेवको शिविरमा आइतबार सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार वीरगन्ज आइपुगेका छन्। आयोजकका अनुसार रामदेवको योग शिविरको समापनका दिन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल प्रमुख अतिथि हुनेछन्। आफूहरूले बढीभन्दा बढी राजनीतिक दलका नेताहरूलाई निम्तो गरेर आफ्नो अभियानसँग जोड्न खोजेको मूल आयोजक समिति संयोजक विजय सरावगी बताउँछन्। नेताहरूको आउनुको उद्देश्य भने फरकफरक रहेको राजनीतिक विश्लेषक अर्थ्याउछन्।

नेपालका नेताहरू लाम लागेर रामदेवको योग शिविरमा झुम्मिनु पछाडिको कारण योगभन्दा पनि राजनीतिक शक्तिको जोड रहेको ठाकुरराम बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका सहप्रध्यापक प्रमोदकुमार गुप्ता बताउँछन्। 'शिविरमा सर्वसाधारणको सहभागिताको अर्थ आयुर्वेद र योग विज्ञानप्रति बढ्दो लगाव र हिन्दु पद्धतिप्रतिको आस्था नै हो, नेताहरू लाम लागेर आउनुको भने केही फरक आधार देखिन्छ,' गुप्ताले भने, 'स्वामी रामदेव बाबा वर्तमान भारतीय सतापक्ष भाजपा नजिकका हुन्। उनको आर्शीवादले नेपालमा पनि केही राजनीतिक अर्थ राख्छ।'

प्रकाशित: १२ मंसिर २०७३ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App