२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री र सचिवहरुलाई प्रमको प्रश्नः काम नगर्ने ठेकेदारले किन ठेक्का पाउँछ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउने गरी योजनाबद्ध र समन्वयतात्मक रुपमा सक्रिय हुन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्। चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महिनाको समीक्षा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ बढी स्पष्ट र मूर्त बनाएर प्रस्तुत गर्ने पनि निर्देशन दिए।

‘विकास किन भएन, किन ढिलो हुन्छ? कारणहरु खोज्नुपर्छ। खरिद ऐन वा अरु कारणहरु के छन्? एउटै ठेकेदारले क्षमताभन्दा बढी ठेक्का किन लिन्छ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ’, उनले भने, ‘राजनीतिक प्रभावमा केही ठेकेदारलाई काखी च्यापेर, उनीहरुले जे गरे पनि आँखा चिम्लिएर जाने प्रवृत्ति रोकिनुपर्छ।’

‘अगाडि नबढेका आयोजनाहरु के कारण अगाडि नबढेको हो भन्ने देखिनुपर्छ। यस दुई महिनामा नभएका काम छन् भने आगामी दुई महिनामा दोब्बररुपमा काम गर्नुपर्छ। त्यसो हुन नसकेकामा वार्षिक लक्ष्य पूरा हुन नसक्ने स्थिति हुन्छ। यसमा साथीहरुको ध्यान जाओस्। काम बढी गर्न र प्रतिवेदन चुस्त, दुरुस्त राख्नुहोस्’, उनले भने। 

ओलीले महत्वपूर्ण र ठूला काम हुन नसकेमा साना साना काम सम्पन्न हुनुको अर्थ नरहने भन्दै विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रीत हुन पनि आग्रह गरे। प्रधानमन्त्री ओलीले त्यसो नगर्न भन्दै फाइल बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्काे मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गरे।

उनले सही समयमा सही काम गर्न र मन्त्रिपरिषद्बाट फिर्ता हुने खालका प्रस्ताव नल्याउन पनि ध्यानाकर्षण गरे। ‘हामी चल्ते चलाते ढंगले होइन, नवीनता र सहजताका साथ अगाडि जान चाहन्छौँ। जटिलता होइन, सहजता खोज्नुपर्छ’, उनले भने। 

प्रधानमन्त्री ओलीले विकास नहुनको कारण समेत खोज्नुपर्ने बताए। ‘विकास किन भएन, किन ढिलो हुन्छ? कारणहरु खोज्नुपर्छ। खरिद ऐन वा अरु कारणहरु के छन्? एउटै ठेकेदारले क्षमताभन्दा बढी ठेक्का किन लिन्छ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ’, उनले भने, ‘राजनीतिक प्रभावमा केही ठेकेदारलाई काखी च्यापेर, उनीहरुले जे गरे पनि आँखा चिम्लिएर जाने प्रवृत्ति रोकिनुपर्छ।’ देशलाई ध्यानमा राखेर स्वच्छता, पारदर्शीता र समुचित ढङ्गले विकासलाई अगाडि बढाएर  जनतामा सन्तुष्टि दिनुपर्नेमा उनको जोड छ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बजेट, कार्यक्रम र सम्बन्धित मन्त्रीहरुसँगको कार्यसम्पादन सम्झौताअनुसार प्राप्त प्रगति विवरण प्रस्तुत गरिएको थियो।

प्रकाशित: ९ आश्विन २०७६ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App