२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पाथीभरा गोल्डकप साउन ३० बाट

चौथो पाथीभरा गोल्डकपबारे पत्रकार सम्मेलनमा आयोजक लाखेजात्रा खेल सञ्चालन समितिका पदाधिकारी। तस्बिरःखगेन्द्र/नागरिक

ताप्लेजुङ– लाखेजात्राको अवसरमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा खेलाइने पाथीभरा गोल्डकपको चौथो संस्करण यही साउन ३० गतेबाट सञ्चालन हुने भएको छ। 

आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले शुक्रबार पत्रकार सम्मेलनमार्फत पाथीभरा गोल्डकपको चौथो संस्करण साउन ३० गतेबाट भदौ ६ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष नारायण थापाले ताप्लेजुङका २ सहित १० टिमको सहभागितामा गोल्डकप हुने जानकारी दिए। 

लाखेजात्रा खेल सञ्चालन समितिले ४० लाख ५० हजार बराबरको अनुमानित आय–व्यय विवरणसमेत सार्वजनिक गरेको छ। गोल्डकपमा पहिलो हुनेले २ सय ४० तोला चाँदीमा ३ तोला सुन जडित कपसहित नगद ३ लाख ११ हजार रुपैयाँ पुरस्कारर पाउने छ। उपविजेता नगद १ लाख ५१ हजार रुपैयाँको हकदार हुने छ। 

खेल सञ्चालन समिति अध्यक्ष थापाका अनुसार गोल्डकपको चौथो संस्करणमा फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडहर्ष क्लब इलाम, गोर्खा स्पोर्टिङ क्लब दमक झापा, रेडस्टार क्लब झापा, डाँटीहाट फुटबल क्लब मोरङ, एलाभेन एरोज क्लब दुहवी सुनसरी, बेलवारी फुटबल क्लब मोरङ र रोयल फुटबल क्लब सिलगुढी(भारत) खेलमा सहभागी हुनेछन्। सिलगुढीको टिमको सहभागिता निश्चित भई नसकेकोले उसको अनुपस्थिति रहने भएमा चर्च ब्वाइज क्लब काठमाडाैं खेलमा सहभागी हुनेगरी वैकल्पिक तयारीसमेत गरिएको थापाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।

ताप्लेजुङबाट सहभागी हुनेमध्ये एउटा टिम आयोजक आफैंले तयार गर्ने भएको छ भने अर्को टिमका लागि कर्णसिंह सोनाम फुटबल क्लबलाई प्राथमिकतामा राखिएको छ। ‘अहिलेसम्म कर्णसिंहलाई नै प्राथमिकतामा राखिएको छ’,खेल सञ्चालन समिति अध्यक्ष थापाल भने, ‘यदि कर्णसिंहको सहभागिता नहुने परिस्थितिमा जिल्लाबाट अर्को फुटबल क्लब सहभागी हुनेछ।’

लाखेजात्रा खेल सञ्चालन समितिका सचिव लक्ष्मीप्रसाद काफ्लेले खेलकुदका माध्यमबाट पाथीभरा देवीको गरिमा र महिमा श्रीवृद्धिका लागि २०६३ सालबाट सुरु भएको गोल्डकपको चौथो संस्करण भव्य र सभ्य बनाउने तयारी भएको जानकारी दिए। खेल सञ्चालन समितिले पत्रकार सम्मेलनमार्फत दर्शकहरूको सुविधाका लागि खेलस्थल भानुजन मावि अम्बिटारको खेल मैदानमा अस्थायी प्यारापिट बनाउने जानकारी दिएको छ। 

पूर्वी पहाडी क्षेत्रमै सबैभन्दा बढी दर्शक उपस्थित हुने ठानिएको खेलका लागि अस्थायी र स्थायी प्यारापिटमा करिब १५ हजार दर्शक अट्न सक्ने छन्। ‘विगतका खेलहरूमा समेत दर्शकको उपस्थितिलाई नियाल्दा यो क्षमताको तयारी गर्न आवश्यक छ’,खेल सञ्चालन समिति अध्यक्ष थापाले भने। दर्शकले सेमिफाइनल चरणसम्मका खेलका लागि प्रतिदिन जनही १ सय, सेमिफाइनल चरणका लागि १ सय ५० र फाइनल खेलको अवलोकनका लागि जनही २ सय रुपैयाँ तिर्नुपर्ने गरी आयोजकले प्रवेश शुल्क तोकेको छ। टिकट बिक्रीबाट मात्रै आयोजकले करिब १२ लाख रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। 

फाइनलबाहेक गोल्डकपका प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद ५ हजार पुरस्कार तथा ट्रफी प्रदान गरिने छ। फाइनल खेलका म्यान अफ द म्याचलाई भने नगद १० हजार र ट्रफीले सम्मान गरिने छ। बेष्ट बिधातर्फका  खेलाडी नगद ६ हजार राशिबाट पुरस्कृत हुनेछन्। 

 

प्रकाशित: १८ श्रावण २०७६ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App