२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

४५ लाखको सहमतिपछि नगरसभा गर्ने निर्णय

मुगु– वडाहरुमा ४५ लाख बराबरको बजेट सिलिङ्गमा सहमति भएपछि नगरसभा हुने निश्चित भएको छ। मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकामा अनिश्चितजस्तो देखिएको नगरसभा शनिबार बसेको नगर कार्यपालिकाको बैठकमा वडा स्तरका योजनाहरुको कुल ४५ लाखको सेरोफेरोमा योजनाहरु बनाउने सहमति भएपछि नगरसभा हुने सुनिश्चित भएको हो।

नीतिगत रुपमा गत १० गतेभित्र स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याई सक्नुपर्ने भए पनि यहाँका वडा अध्यक्षहरुले वडामा १ करोड माग गर्दै बस्ती स्तरबाट आएका योजनाहरुको प्राथमिकता नगरपालिकामा पेश गर्नु पर्नेमा वडा कार्यालयहरुले पेश नगरेपछि नगर प्रमुखको आदेशले २१ गते सारिएको थियो। २१ गते नगरसभा हुनु पर्नेमा त्यो बेला पनि वडाबाट योजना पेश नभएपछि सो दिन नगर कार्यपालिकाको बैठक बसी वडा स्तरमा ४५ लाखको बजेट सिलिङ्ग दिने सहमति पछि आगामी २८ गते नगर सभा हुने निर्णय भएको नगर प्रमुख हरिजंग शाहीले बताए।

वडाको बजेट सिलिङ्ग दामासायी नभएर जनसंख्या, भुगोल, शिक्षा, पछाडी परेको समुदायलाई आधार मानी बजेट सिलिङ्ग वडा कार्यालयहरुलाई पठाइने र सोही सिलिङ्गको आधारमा बस्ती स्तरबाट आएका योजनाहरु प्राथमिकताको आधारमा बजेट बाँडफाँड हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए। यसरी बाँडफाँड गर्दा नगरका १४ वडामध्ये सबैभन्दा बढी वडा नं १३ ले ४७ लाख र सबैभन्दा कम वडा नं ९ ले ४० लाखको सिलिङ्ग पाएको शाहीले जानकारी दिए। यो बर्ष नीतिमा टेकेर स्थानीय तह योजना तर्जुमा दिग्दर्शन २०७५ को दफा ५.५.५ मा गरिएको नीतिगत विधि अनुसार बजेट बाँडफाँड गरिएको पनि नगरपालिकाले जनाएको छ।

वडामा बजेटको सिलिङ्ग कम हुँदा जनताका आवश्यकताका योजनाहरु कम छनौट हुने भएकाले बजेटको सीमा बढाउन नगर प्रमुखसँग आग्रह गरेको र स्रोत सुनिश्चताको खोजीले गर्दा नगर सभाको अवधि लम्बिएको र शनिबार भएको सहमति र कार्यपालिकाको निर्णय अनुसार आगामी २८ गते छायाँनाथ रारा नगरपालिकाको पाँचौं नगरसभा हुने निर्णय भएको वडा नं २ का अध्यक्ष परेगराज चौलागाईले बताए।

जिल्लाका अन्य स्थानीय तहमध्ये सोरु गाउँपालिकाले गत १० गते नै गाउँसभा उद्घाटन गरी शनिबारबाट सम्पन्न गरेको छ। आगामी आर्थिक वर्षका लागि २३ करोड ५० लाख बजेट ल्याएको छ भने ११ वटा वडापालिकालाई वडास्तरमा नै छलफल गरि योजना सञ्चालन गर्ने गरी ४१ लाख ५० हजार प्रति वडाले खर्च गर्ने भएका छन्। खत्याड र मुगुम कार्मारोङ्ग गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट ल्याइसकेका छन्। तर सञ्चार सेवा प्रभावकारी नहुँदा विस्तृत जानकारी भने आउन सकेको छैन।

प्रकाशित: २२ असार २०७६ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App