२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रकोप न्यूनीकरण गर्न तटबन्धन

माडी नगरपालिकाको बाँदरमुढे खोलामा तटबन्धन गरिँदै। तस्बिरः नागरिक

चितवन - माडी नगरिपालिकामा चुरे पर्वतबाट बग्ने सानाठूला १८ खोला छन्। ती खोलाका कारण वर्षात्को समय माडीमा सधैं बाढीको उच्च जोखिम हुन्छ। माडी नगरपालिका–६ का लालबहादुर विकको परिवारलाई पनि खोलाले धेरै दुःख दिएको छ। बाढीका कारण उनले घरबारी र खेतीयोग्य जमिन गुमाए। पटकपटकको बाढीले दुःख दिएको उनी बताउँछन्। बाढीले दुःख दिने खोलामा ड्याम बनेपछि भने बाढीले दुःख नदेला भन्ने उनलाई लागेको छ।

६४ वर्षीय पूर्णबहादुर सुनारको परिवार २०३६ सालदेखि माडीको रामराज्यपुरको सिरानमा बसोबास गर्दै आएका छन्। बाढीको पानी घरभित्र बसेर वर्षभरि पुग्ने अन्न नष्ट गरिदिँदा छाक टार्नै मुस्किल हुने गरेको उनी सम्झन्छन्। ‘खोलाले अति दुःख दियो, बच्चाबच्ची स्कुल पठायो, खोलाले लग्यो कि भन्ने पिर,’ उनी भन्छन्, ‘बाढी आएपछि सुरक्षित ठाउँमा गएर बस्यो, खोलो घटेपछि मात्र घर जान गइन्थ्यो।’ माडीवासीलाई धेरै दुःख दिनेमा बाँदरमुढे खोला पनि एक हो। साँगुरो भएकाले हरेक बर्खामा भेल आउँदा मानव बस्तीमा पसेर त्यसले धनजनको क्षति गराउँछ। बाढीका कारण नदी तटीय क्षेत्रका सयौं बिघा जमिन बगर बनेका छन्। केहीमा खोला नै बगिरेहको छ। यसले धेरै मानिस घरबारविहीन भएका छन्। नदीले दिएको दुःखले ठाउँ नै छाडेर हिँडेका पनि छन्। घरखेत, खानेकुरा लत्ताकपडा सबै खोलाले लगेपछि छोराछोरी काखमा च्यापेर भोकभोकै बसेको मनु मिया सम्झन्छन्। अब भने यस्तो घटना नहोला भन्ने उनलाई लागेको छ। घर नजिक भएर बग्ने बाँदरमुढेमा तटबन्धन गरिएको छ।

पानीजन्य जोखिमका हिसाबले अति नै जोखिम क्षेत्र पर्ने माडी नगरपालिकामा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) र जापानी संस्था साप्ला निरको सहयोगमा दुई वर्षदेखि जल उत्पन्न प्रकोप न्यूनीकरण परियोजना सञ्चालन गरिएको छ। परियोजना प्रमुख व्यवस्थापक मदिना पौडेलका अनुसार एक नदी एक समुदायको अवधारणामा काम गरिएको छ। एउटा नदीलाई लक्षित गरेर काम गर्दा उक्त नदीबाट प्रभावित हुने सबै टोल समुदायलाई समेटेर काम गर्न सकिने भएकाले यो अवधारणामा रहेर काम गरिएको उनी बताउँछिन्। जोखिम क्षेत्रभित्र बसोबास गर्ने समुदायको प्रारम्भिक तथ्यांक संकलन गरेर परियोजना क्षेत्रका विभिन्न आठ टोलमा विपद् व्यवस्थापन समिति गठन गरिएको उनले जानकारी दिइन्। प्रकोप र विपद्बारे समुदायलाई सचेत गराउंदै बाँदरमुढे खोलाले निम्त्याउने प्रकोपलाई व्यवस्थापन गर्न छलफल गरेर तटबन्धन निर्माण कार्य सुरु गरिएको उनले बताइन्। बाँदरमुढे खोलाको माथिल्लो तटीय क्षेत्र, बीच तटीय क्षेत्र र तल्लो तटीय क्षेत्रसम्म तटबन्धन गरिएको छ।

मिलन चोक, ब्रह्मपुरी, मजुवा र रामराज्यपुर जोड्ने बाटोमा पर्ने चार नदीको पानी पार गराउन भुइँपुल (रिभर क्रसिङ) बनाउने काम भइरहेको परियोजना प्रमुख व्यवस्थापक पौडेलले बताइन्। चितवनको माडी नगरपालिका र राप्ती नगरपालिका–१२ र १३ मा परियोजनाअन्र्तगत काम भइरहेको छ। परियोजनाअन्तर्गत आठ करोड २१ लाख ८३ हजार दुई ६६ रुपैयाँ बजेटमा प्रकोप न्यूनीकरणको काम भइरहेको उनी बताउँछिन्। परियोजनाको काम आगामी सेप्टेम्बरसम्म सकिने उनले बताइन्।

प्रकाशित: २२ वैशाख २०७६ ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App