२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१० वर्षमा पनि बनेन त्रियुगाको शिवाई पुल

उदयपुर- उदयपुरको सुन्दरपुर शिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बनाउन थालेको आउँदो असारमा १० वर्ष पुग्दैछ। तर, अहिलेसम्म पुलको १३ मध्ये ९ वटा स्मान मात्र ठडिदैछ। जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगामा मोटरेबल पुल ३ वर्षमा सक्नेगरी ०६७ असार २३ गते सम्झौता भएको हो। ०७० असार २२ गतेभित्र पुल बनाईसकेर हस्तान्तरण गरिसक्नुपर्नेमा ४ पटक म्याद थप्दासम्म सम्पन्न हुन सकिरहेको छैन।

धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा जोड्ने वैकल्पिक लोकमार्गसँग चौदण्डीगढी केन्द्र बेलटारसँग दक्षिणी भेगका वडाहरु सुन्दरपुर, हडिया र जोगीदह तथा छिमेकी जिल्ला सप्तरीका फत्तेपुर–कन्चनपुरलाई जोड्ने १३ स्पानको उक्त पुल २ सय ८४ दशमलव ६ मिटर लामो र ५ मिटर चौडाईको प्राविधिक इस्टीमेट छ। स्थानीय सडक सञ्जाल (एलआरएन) प्रविधिमा गाईघाट–दिक्तेल सडक आयोजना कार्यालय गाईघाटद्वारा निर्माणाधीन पुल बनाउने मुख्य जिम्मा महालक्ष्मी/लोकप्रिय जेवी कलंकी काठमाडौंले लिएको छ।

आयोजना कार्यालयका इन्जिनियर प्रविण चौधरीका अनुसार अहिलेसम्म पुलको काम ७५ प्रतिशत हाराहारी सकिएको छ। ६ वर्षअघि नै बनाईसक्नुपर्ने सम्झौताको पुल सुरुमै गलत इस्टीमेट भएका कारण काममा ढिलाई हुन पुगेको इन्जिनियर चौधरी बताउँछन्। उनका अनुसार पुल बनाउन जग खन्ने क्रममा वर्षौं अघि पुरिएका ठूलठूला काठमा मुढा भेटिएपछि रि–इस्टीमेट गर्नु परेकाले २ वर्ष काम हुन सकेन। दुईपटक प्राविधिक इस्टीमेट गर्नुपर्दा सुरुमै काम ढिला भएको र आवश्यक वजेट अभावले थप काममा बाधा थपिएको उनको भनाई छ।

गत वर्षसम्म ९ वटा स्मानको काम सकिएको पुलको काम यो वर्ष २ वटा सुपरस्ट्रक्चर र एउटा सबस्ट्रक्चर फाउण्डेसनको काम भएको छ। निर्धारित समयमा काम नसकिएपछि पटक पटक म्याद थपिएको पुलको पछिल्लो म्याद ०७६ असारसम्म थपिएको छ। यो वर्ष पनि काम सकिने छाँटकाँट नदेखिएको कार्यालयले जनाएको छ। पुल ढिला हुनुको अर्को मुख्य कारण बजेट अभाव हो। सडक आयोजना कार्यालय प्रमुख (डिई) पशुपति ज्ञवालीले अन्य प्राविधिक कारणसँगै आवश्यक वजेट अभावले पनि काम ढिलाई हुनु गएको हो।

डिई ज्ञवालीका अनुसार यो वर्ष २० लाख मात्र विनियोजित रकमले काम भएको र सोको चैत मसान्तभित्रै भईसकेको छ। २० लाखको काम गरेको दावी गर्दै भुक्तानी मागेको ठेकेदारलाई कार्यालयले १६ लाख भुक्तानी दिईसकेको डिई ज्ञवालीले बताए। थप काम गर्न लगाएर आवश्यक रकमका लागि विभाग र मन्त्रालयसँग माग गर्दै पत्राचार गरेको उनले बताएका छन्।

‘शिवाईको पुल ढिला हुनुमा प्राविधिक कारण त छदैछ, आर्थिक समस्या पनि उत्तिकै जिम्मेबार छ’ ज्ञवालीले भने ‘वर्षमा २० लाख रुपैंया दिएर पनि कही पुल बन्छ ? कम्तीमा १ करोडसम्म बजेट दिनुपर्ने हो।’ उनले आउँदो असारसम्म लगातार काम गर्ने हो भने १ करोड बराबरको थप काम हुने ज्ञवालीको भनाई छ। मन्त्रालयसँग बजेट माग गरे पनि आउने नआउने टुंगो नलागेको भन्दै उनले तर, काम निरन्तर गरिरहन ठेकेदारलाई निर्देशन दिएको उनले बताए। काम ढिला भएकै कारण सुरु चरणको लागत इस्टीमेटभन्दा पुलको बनाउन खर्च पनि बढेको छ। सुरुमा ९ करोड ७८ लाखमा ठेक्का सम्झौता भएको पुलको काम ढिलाई भएपछि गतवर्ष भेरिएसन गर्दा ११ करोड २५ लाख पुगेको डिई ज्ञवालीले बताएका छन्।

पुल अधुरो हुँदा सुन्दरपुर र आसपासका स्थानीयबासीलाई वर्षायाममा धेरै कठिनाई भोग्नुपर्ने चौनपा ५ का वडाध्यक्ष देवनारयण चौधरी बताउँछन्। पुल नबन्दा हिउँदमा बालुवाले सवारी र पैदल आउजाउमा कठिनाई हुने र बर्खा लागेपछि उर्लने बाढीको समस्याले ज्यानै जोखिममा पर्ने अवस्था रहेको वडाध्यक्ष चौधरी बताउँछन्। उनले पुल ढिला हुनुमा प्राविधिक इस्टीमेटमै कमजोरी भएको र कम बजेट र निर्माण कम्पनीको लापरबाहीजस्ता कमजोरी औंल्याए। गलत इस्टीमेट गर्नु, काम ढिलो थाल्नु, बजेट कम छुट्याउनु र ठेकेदारले चासो नदिनु नै पुल ढिलो हुनुको मुख्य कारण रहेको उनको भनाई छ।

चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले हरेक वर्ष पुल छिटो बनाउन ताकेता गर्दै सडक कार्यालय, विभाग र मन्त्रालयको ध्यानाकर्षण गराउँदै आए पनि काम सन्तोष जनकरुपमा अघि नबढेको गुनासो गरे। ३ महिना अघि नगरबासीको तर्फबाट प्रतिनिधिमण्डल गएर मन्त्री र प्रधानमन्त्रीलाई चाँडो पुल बनाउन आग्रह गरेर फर्केको उनले बताए। प्रधानमन्त्रीलाई भेटेपछि चालु वर्ष पुलको काम केही बढी हुन्छ कि भन्ने अपेक्षा गरेको उनले बताए। मेयर राईका अनुसार नगरपालिकाका ५, ९ र १० नम्बर वडाबासीको नगरपालिका आउजाउ गर्न मुख्य नाकाको पुल अधुरो भएपछि हरेक वर्खामा ३ वटा वडाबासीलाई छुट्टै भूगोलमा सीमित गरिदिने गरेको छ। नगरपालिका आउने दैनिक सेवाग्राहीलाई वर्खा लागेपछि जोखिमयुक्त डुंगा तर्नुपर्ने समस्याबाट मुक्ति पाउन पुल यथासिघ्र बनाउन उनको आग्रह छ।

चौदण्डीगढी ५ शिवाईस्थित त्रियुगा नदीमा ८ वर्ष सुरु भएर अलपत्र परेको मोटरेवल पक्की पुल। तस्विरः महेश्वर

प्रकाशित: १२ वैशाख २०७६ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App