२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गुठी जग्गाले भूकम्प पीडितको उठीबास

चार वर्षअघि गुठी जग्गा रैकर गर्न माग गरेर सदरमुकाम चौतारामा किसान सभा गर्दै भूमिपीडित । फाइल तस्बिर/नागरिक

सिन्धुपाल्चोक-पश्चिमी किउल गाउँका शोभाराम विकको घर गत वर्षको भूकम्पले ढाल्यो । कमाउँदै आएको जमिनमा पनि पहिरो लाग्यो । विक परिवार नजिकै सुरक्षित स्थानमा स¥यो । गत फागुनमा उनले घर बनाए । ऋणधन गरेर बनाएको घरमा सर्नसम्म पाएनन् उनी । उनले बनाएको त्यो घर आँखैअघि भत्काइयो । न्यायका लागि उनी कतै जान सकेनन् । कानुनले शोभारामको हातगोडा बाँधेको थियो ।

सरकारलाई भूकम्प पीडित भूमिहीनको प्रश्न– न जग्गा न पैसा, कहाँ बनाउने घर ?

पुस्तौंदेखि कमाउँदै आएको जग्गाको लालपुर्जा उनीसँग छैन । उनले खनजोत गर्दै आएको जग्गा गुठीको नाममा छ । ‘बाबुबाजेकै पालादेखि कमाउँदै आएको जग्गाको पुर्जा नै छैन,’ शोभारामले दुःख बिसाए, ‘गुठी जग्गामा बनाएको भन्दै घर भत्काइदिए । अब कहाँ घर बनाउनु ?’

उस्तै समस्या छ, किउलकै हरि भण्डारीको पनि । खोलाकिनारको घर भुइँचालोले ढालेन मात्र, माथिबाट पहिरोसमेत निम्त्यायो । पहिरो छलेर जोखिम स्थलमा बनाएको टहरोमा आश्रित छ उनको परिवार । गुठीको जग्गा कमाउँदै आएका उनीसँग पनि लालपुर्जा छैन । ‘त्यहाँ घर बनाउन साहुले दिँदैनन्,’ हरिले भने । जग्गाधनी प्रमाणपुर्जा नहुँदा आवास अनुदान सम्झौता गर्न नसकेको उनले सुनाए । कुत बुझाउँदा पनि साहुले भर्पाइ नदिने पीडा उनीसँग छँदैछ । ‘पुर्जा नहुँदा अनुदान पाउनबाट बञ्चित गरियो,’ उनले प्रश्न गरे, ‘भूमिपीडितले घर बनाउन नपाउने ?’

गत वर्ष वैशाख १२ को भूकम्पले सर्वाधिक क्षति पुर्याएकोे सिन्धुपाल्चोकमा घर बनाउन पहिलो किस्ता अनुदान ५० हजार रुपैयाँ निकाल्ने र घर बनाउने चटारो छ । मुलुकमै सबैभन्दा बढी भूमि समस्या भएको सिन्धुपाल्चोकका पीडित दोहोरो मारमा छन् । भूकम्प पीडितसमेत रहेका उनीहरू वर्षौंदेखि भूमिपीडित पनि हुन् । उनीहरूसँग जमिन छ, लालपुर्जा छैन । यहाँका किसानले पुस्तौंदेखि गुठी, रैकर जग्गा कमाउँदै आएका छन् तर मोही हक छैन । उब्जनी लिने बेलामा साहु टुप्लुक्क आइपुग्छन् । कुत बुझाउँदा पनि भर्पाई पाउँदैनन् ।

आवास अनुदानमा आएको पहिलो किस्ता हेलम्बु–१, चिउरीखर्ककी चन्द्रकुमारी थापामगरलाई निल्नु न ओकल्नु भएको छ । ५० हजार रुपैयाँको बन्डल सिरानीमा राखेर सुतेकी उनीसँग घर बनाउन जग खन्ने जग्गाको टुक्रा छैन । ‘छिमेकीले घडेरी उपलब्ध गराउन मञ्जुरीनामा दिएकाले अनुदान त पाइयो,’ उनले भनिन्, ‘अब घडेरी दिएनन् भने कहाँ घर बनाउनु ?’ पुस्तौंदेखि कमाउँदै आएको जग्गाको प्रमाणपुर्जा उनीसँग पनि छैन । चन्द्रकुमारी भन्छिन्, ‘गुठीको जग्गाले उठीबास लगाउने भयो ।’

गत वर्ष वैशाख १२ को भूकम्पले सर्वाधिक क्षति पुर्याएकोे सिन्धुपाल्चोकमा घर बनाउन पहिलो किस्ता अनुदान ५० हजार रुपैयाँ निकाल्ने र घर बनाउने चटारो छ । मुलुकमै सबैभन्दा बढी भूमि समस्या भएको सिन्धुपाल्चोकका पीडित दोहोरो मारमा छन् । भूकम्प पीडितसमेत रहेका उनीहरू वर्षौंदेखि भूमिपीडित पनि हुन् । उनीहरूसँग जमिन छ, लालपुर्जा छैन । यहाँका किसानले पुस्तौंदेखि गुठी, रैकर जग्गा कमाउँदै आएका छन् तर मोही हक छैन । उब्जनी लिने बेलामा साहु टुप्लुक्क आइपुग्छन् । कुत बुझाउँदा पनि भर्पाई पाउँदैनन् ।

भूमिपीडित हुनुको पीडामा भूकम्पले नुनचुक छर्किएको छ । लालपुर्जा नहुँदा उनीहरूमध्ये कतिपय भूकम्प पीडित लाभग्राहीको सूचीमा समेटिएका छैनन् । घर जग्गाको प्रमाणपुर्जा नहुँदा अनुदान सम्झौता गर्न सकेका छन् । ‘लालपुर्जा देखाउन नसक्दा अनुदान सम्झौता गर्दिएनन्,’ यमुनाडाँडाका हीराराज श्रेष्ठले दुःखेसो पोखे, ‘दोहोरो पीडित बनाइयो ।’ उनले गाउँका धेरै भूमिपीडित लालपुर्जा नहुँदा लाभग्राही सूचीमा नअटेको बताए ।

पहिलो किस्ता अनुदान पाएसँगै जिल्लामा यति बेला पुनर्निर्माण सुरु भएको छ । पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म घर बन्न थालेका छन् । सयौं पीडित जग हाल्न तयारी हालतमा छन् । तर, भूमिपीडित भने हेरेको हेर्यै छन् । उनीहरूले अनुदान पाउँछन्, पाउँदैनन् पत्तो छैन । घर कहाँ बनाउने थाहा छैन । भूकम्प पीडित लाभग्राहीको सूचीमा नअटेका भूमिपीडितको यर्थाथ तथ्यांक सरकारी निकायसँग छैन ।

पुस्तौंदेखि अर्काको जमिन कमाएर हातमुख जोर्दै आएका पीडितसँग घरघडेरी किन्ने आर्थिक हैसियत छैन । ‘भूमिपीडितका नाममा लामो समयदेखि आन्दोलन गर्दै आयौं । अब भूकम्प पीडितको रुपमा पनि लड्नुपर्ने अवस्था आयो,’ फटकशीलाका विदुर घोरासैनीले भने । तत्काल भूमि समस्या हल गर्न नसके घर बनाउन सरकारले घडेरी दिनुपर्ने माग उनले गरे ।

भूकम्पपछिको पुनर्निर्माण सबालमा भूमि समस्या भएका भुइँचालो पीडित छायामा परेको भूमि आन्दोलनका अगुवा सुरेश नेपाल बताउँछन् । ‘उनीहरूको समस्यालाई सरकारले बेवास्ता गरिरहेको छ,’ जिविस पूर्वसभापतिसमेत रहेका उनले भने । जिल्ला भूमि अधिकार मञ्चका अनुसार किसान सबैभन्दा बढी गुठी जग्गाबाट प्रताडित छन् । गुठी जग्गा कमाउने परिवार २१ हजार आठ सय छन् ।

भूमि अधिकारकर्मी हरि तिलिल्सिना जिल्लाका किसान एक सय ३७ प्रकारका निजी र अधिनस्थ गुठी प्रभावित रहेको बताउँछन् । ‘दुई दशक लामो आन्दोलनबाट सात हजार परिवारले रैकर लालपुर्जा पाएका छन्,’ उनले भने । मञ्चको अध्ययनअनुसार जिल्लामा तीन सय ५४ परिवार भूमिहीन छन् । ऐलानी जग्गा जोत्ने परिवारको संख्या तीन हजार ४५ छ । एक सय १७ परिवारले बिर्ता जग्गा कमाउँछन् । सात हजार पाँच सय ९० परिवार अरूको जग्गा जोत्ने बेदर्तावाल मोही छन् । आठ हजार नौ सय ८९ परिवार दर्तावाल मोही छन् । प्रमाणपत्र पाए पनि उनीहरूले आधा जमिन लिन सकेका छैनन् ।

प्रकाशित: ४ कार्तिक २०७३ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App