२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बर्डफ्लूका कारण ५० हजार कुखुरा नष्ट गरियो

हेटौंडा उपमहानगरपालिको नागस्वतीमा बर्डफ्लू रोग संक्रमित कुखुरा नष्ट गर्दै कर्मचारी।तस्बिर: अशोकसुजन/नागरिक

मकवानपुर- बर्डफ्लू रोग संक्रमणका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। बर्डफ्लू प्रभावित क्षेत्रका २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो।

बर्डफ्लू प्रभावित क्षेत्रमा ४८ वटा पोल्ट्री फार्म रहेकोमा हेटौंडाको वडा नम्बर ६, ७, १६, १७ लगायत स्थानका कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो। बर्डफ्लू रोग नियन्त्रण जिल्ला प्राविधिक समिति मकवानपुरको बैठकको निर्णयअनुसार चैत ४ गतेदेखि कुखुरा, अण्डा र दाना नष्ट गरिएको समितिका अध्यक्ष एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।

जिल्लामा बर्डफ्लू फैलिएकाले उच्च प्राथमिकतामा राखेर नियन्त्रणको थप प्रयास भइरहेको उनले बताए। ‘बर्डफ्लू नियन्त्रणका लागि पशु चिकित्सकको प्रमाणपत्रको आधारमा मात्र कुखुराको चल्ला जिल्ला भित्रिन र बिक्री गर्न दिइरहेका छौं,’ उनले भने। मकवानपुरका ३२ किसानको फार्मका संक्रमित कुखुरा तीन चरणमा नष्ट गरिएको बर्डफ्लू संक्रमण नियन्त्रण एकाइका डा. सुशिला श्रेष्ठले बताइन्।

उनका अनुसार हेटौंडा उपमहानगरपालिकाको हटिया र कमानेमा बर्डफ्लूको संक्रमित थप कुखुरा, अण्डा र दाना नष्ट गरिएको छ। बर्डफ्लूका कारण हेटौंडामा कुखुराको मासु र अण्डा बिक्री वितरणमा उल्लेख्य कमी आएको व्यवसायीको भनाइ छ।

बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समितिका सचिव एवं भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डा. चेतनारायण खरेलको नेतृत्वमा नष्ट गर्ने अभियान चलाइएको थियो। प्रहरी, प्रशासनको उपस्थितिमा काठमाडौंबाट आएका र भेटेरेनरी अस्पतालका पशु चिकित्सक तथा प्राविधिक कर्मचारीले विशेष पोशाक लगाएर कुखुरा, अण्डा र दाना नष्ट गरेका हुन्। डा. खरेलका अनुसार कुखुरा, अण्डा र दाना नष्ट गर्न २० जना बढी जनशक्ति, खाल्डो खन्न र पुर्न एक्जाभेटरसमेत परिचालन गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बर्डफ्लु प्रभावित क्षेत्रको कुखुरा, अण्डा र दानाको क्षतिपूर्ति दिने निर्णय गरेको थियो। जसअनुसार प्रतिकुखुरा लेयर्स नौ सय, बोइलर चार सय, दाना प्रतिकेजी ६५ र अण्डा प्रतिगोटा ११ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

यता, मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले क्षतिपूर्ति रकम चाँडै उपलब्ध गराउन मन्त्रालयमार्फत् पहल गरिने बताए। ‘हामीले बर्डफ्लू संक्रमित क्षेत्रका कुखुरा, अण्डा दाना नष्ट गर्न प्रशासनलाई सहयोग ग-यौं,’ उनले भने, ‘ऋण लिएका व्यवसायी मारमा परेका छन्, चाँडै क्षतिपूर्ति दिन हामी माग गर्छौं।’ संघका अनुसार मकवानपुरमा करिब तीन हजार कुखुरा व्यवसायीको पालेको १५ लाख कुखुरामा झन्डै ६ अर्ब लगानी रहेको छ।

२८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो।

प्रजिअ तामाङको अध्यक्षतामा फागुन ३० गते बसेको आपतकालीन सर्वपक्षीय बैठकको निर्णयअनुसारै चार किल्लाभित्रको कुखुरा, अण्डा र दाना नष्ट गरिरहेको हो। हेटौंडा–७ नागस्वतीका कुलप्रसाद चौलागाईंको कमर्सियल लेयर्स फार्ममा मरेका लेयर्स कुखुरामा बर्डफ्लू फेला परेपछि रोग नियन्त्रण गर्न प्रशासनले चौहदी तोकी कुखुरा, खण्डा र सुली अन्यत्र निकासीमा रोक लगाएको थियो। ठूलो संख्यामा एकै गाउँका कुखुरा मरेपछि नमूना संकलन गरेका हेटौंडा–७ मा कुखुरा बिक्रीमा फागुन १४ बाट प्रशासनले रोक लगाएको थियो।

फागुन दोस्रो सातापछि हेटौंडा–७ कमानेसहित जिल्लामा करिब २५ हजारभन्दा बढी कुखुरा मरेको किसानले बताएका थिए। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार मरेको कुखुराको दोस्रोपटक पठाएको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लू फेला परेको थियो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पत्राचार गर्दै बर्डफ्लू रोग नियन्त्रण (संशोधनसहित) आदेश २०६४ को दफा ६ अनुसार नियन्त्रण कार्यान्वयन गर्न मन्त्रीस्तरको निर्णयअनुसार गर्न निर्देशन दिएको थियो।

प्रकाशित: १७ चैत्र २०७५ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App