२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रकम लेनदेन र धम्कीमै सामसुम हुन्छन् बलात्कारका मुद्दा

सर्लाही – गत फागुन १६ गते स्थानीय १२ वर्षीया बालिकालाई यौनदुरचार गरेको आरोपमा कविलासी नगरपालिका–१ पिपरियाका ४५ वर्षीय प्रगास मण्डल प्रहरी हिरासतमा छन्।

घरेलु हतियार माग्न गएका मण्डलले बालिकाको अभिभावक नदेखेपछि घरभित्र रहेकी बालिकालाई जबर्जस्ती शरीरका विभिन्न भागमा छाएको पीडित बालिका र आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। लगतै आमा आइपुगेपछि घटना बाहिर आएको हो। 

पीडित बालिकाकी आमाले छिमेकीलगायतलाई सुनाएपछि १६ गते नै गाउँका ‘भद्रभलाद्मी’को भेलाले मण्डललाई सार्वजनिक रूपमा चप्पलमा थुक्न लगाएर सोही थुक चाट्न लगाउने, बालिकासँग माफ मगाउनेलगायत सामाजिक दण्ड दिए। आइन्दा घटनाबारे कतै उजुरबाजुर नगर्ने पीडित परिवारसँग सहमति उनीहरुले गराएका थिए। तर त्यसको भोलिपल्ट बिहानै गाउँकै एक समूहले यति ठूलो घटनामा पनि माफी दिनु हुँदैन भनी भन्दै प्रहरीमा जान भने। 

लगत्तै आमाले पीडित बालिकालाई लिएर १७ गते शुक्रबार इलाका प्रहरी कार्यालय हरिपुरमा घटनाबारे बेलिविस्तार लगाइन्। प्रहरीले घटना जानकारी हुने बितिकै बाल यौनदुरचारको मुद्दामा कारबाही प्रकृया अघि बढायो। मण्डललाई पक्राउ ग-यो।

तर केही दिनयता घटनाको प्रत्यक्षदर्शी पीडितकी आमा प्रहरीले पटक–पटक बोलाउँदा पनि गएकी छैनन्। इलाका प्रहरी कार्यालय हरिपुर स्रोतले भन्यो, ‘घटना देख्ने आमालाई एउटा कागज गर्नुपर्छ आउनु भनेर पटक–पटक बोलाइसक्यौं, तर नेताजी नआई म एक्लै आउन सक्दिनँ भन्दै आउनै मानिरहनुभएको छैन।’

प्रहरी कारबाही अगाडि बढेपछि गाउँकै बिचौलिया समूहले ठूलो रकम लेनदेनको बार्गेनिङ गराएर घटना भित्रभित्रै मिलाउने प्रयास भइरहेको स्रोतले जनायो। प्रहरीलाई कारबाही प्रक्रिया अघि नबढाउन विभिन्न राजनीतिक दलका नेताको समेत पटक–पटक फोन आइसकेको छ।

घटना देख्ने आमाले नै साविती बयान दिन आनाकानी गरेपछि मुद्दा कमजोर हुने भयले प्रहरी झस्केको छ। इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक रमेशबहादुर पालले बाल यौनदुरचारको मुद्दामा कारबाही प्रकृया अघि बढिरहेको जानकारी दिए। जिल्ला अदालतबाट पहिलोपटक ५ दिनको म्याद लिएर मण्डललाई थुनामा राखेको प्रहरीले २० गते पुनः ४ दिनको म्याद लिइसकेको छ।

यो एउटा घटना बाल यौन दुरचारको उदाहरण मात्र हो। जबर्जस्तीकरणी, जबर्जस्तीकरणी उद्योग, बाल यौन दुरुपयोग, यौन दुरचारजस्ता गम्भीर हिंसाका घटना गाउँमै मिल्दै आएका छन्। पीडक र पीडितबीच भित्रभित्रै मिलापत्र गराउने र त्यसबापत हुने ठूलो लेनदेनमा दलका नेताको प्रत्यक्ष प्रभाव पर्ने गरेको छ।

विचौलिया समूहले लाभ लिने प्रचलनले जरा गाडेको जानकारहरूको कथन छ। जानकारी आएपछि कानुनी कारबाही प्रकृया अघि बढाए पनि बीचैमा भित्रभित्रै मिलापत्र भएपछि पीडित पक्षले बयान उल्टाउनेलगायत प्रमाण लोप गराउने काम हुँदै आएको छ।

जसका कारण धेरैजसो यस्ता घटनाका मुद्दा आरोपी अदालतबाट छुट्ने गरेको प्रहरी स्रोतले जनायो। बलात्कार जस्तो गम्भीर घटनामा समेत भरसक पीडित महिलालाई प्रहरीसम्म जानै नदिने, गइहाले पनि धम्की दिने र अन्त्यमा रकमको प्रलोभन दिने जस्ता प्रचलन मधेसमा व्याप्त रहेको महिला अधिकारकर्मी सुभद्रा देवीले जानकारी दिइन्।

‘बिचौलियासहित राजनीतिक दलका नेतासमेत लागेर महिलाविरुद्ध हुने गम्भीर खालका अपराधलाई समेत भित्रभित्रै मिलाउने काम हुने गरेको छ’, सुभद्राले गुनासो गरिन्, ‘कानुनी कारबाही अगाडि नबढाउन पीडित परिवारलाई धम्काउने तथा रकमको प्रलोभल देखाई घटनालाई भित्रभित्रै सामसुम पार्ने काम व्यापक देखिन्छ।’ पितृसतात्मक सोचका कारण सदियौंदेखि हेपिएका र पछि पारिएका महिलालाई नेताहरुले समेत उचित साथ नदिएको उनको गुनासो छ।

आर्थिक वर्ष ०७५÷७६ यता सर्लाहीमा १५ वटा जबर्जस्तीकरणी, १२ वटा जबर्जस्ती करणी उद्योग र ४ वटा बाल यौन दुरचारको मुद्दा परेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटले जनाएको छ। जानकारहरु भने यस्ता घटना जिल्लामा निकै नै भएको र भित्रभित्रै मिलापत्र भई प्रहरीसम्म कमै मात्रामा आइपुगेको दाबी गर्छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग वा यौन दुरचारजस्ता गम्भीर घटनामा प्रहरीले जानकारी पाउने बित्तिकै कडा कानुनी कारबाही थाल्नुपर्ने बताए।

‘पुरानो रिसइबी साँधेर फेक उजुरी आउने र अर्को भएको घटनालाई पनि भित्रभित्रै सामसुम पार्ने प्रवृत्ति देखिन्छ’, उपरीक्षक भट्टराईले भने, ‘जनशक्ति, स्रोत तथा समय खर्चेर प्रहरीले अनुसन्धान गरेको मुद्दामा पीडितपक्षले अदालतमा पुगेपछि बयान नै फेर्ने प्रवृत्ति दुःखद हो, यसप्रति हामी सचेत र सजग छौं।’ यस्ता प्रवृत्ति निरुत्साहित गर्न प्रहरी एक्लैले भन्दा पनि राज्यका सबै पक्ष, तह र तप्का सचेत हुनु जरुरी रहेको उनको धारणा थियो।

 

प्रकाशित: २२ फाल्गुन २०७५ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App