२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कटारी मालपोतका कर्मचारीले घुस लिएको आरोप

कटारी मालपोत कार्यालय। तस्बिरः नागरिक

उदयपुर – उदयपुरको कटारीस्थित मालपोत कार्यालयका कर्मचारीहरू सेवाग्राहीबाट घुस (पैसा) नलिइ कुनै काम नगर्ने स्थानीयको गुनासो छ। सोमबार स्थानीय दीपक कोइरालाले आफ्नो नामको जग्गाको धनीपुर्जाको प्रतिलिपि बनाउने क्रममा मुद्धा फाँटका कर्मचारी तुलसी कट्टेलले पैसा नलिइ काम नगरेपछि बाध्य भएर घुस दिएको बताएका छन्।

जग्गा धनीपुर्जा निकाल्न गएका कोईरालाई कट्टेलले घरी यो भएन घरी त्यो भएन भन्दै अल्झाइरहेपछि पैसा मागेको संकेत बुझेर पैसा दिएपछि तुरुन्त काम गरिदिएको बताए। उनले घुस दिएको भिडियो रेकर्डसमेत गरेको तर, अहिले भिडियो कसैलाई नदिने बताए। कोईरालाले पछिल्लो समय चर्चामा आएका पत्रकार रबि लामीछानेको ‘सीधा कुरा जनतासँग ’ कार्यक्रममार्फत कट्टेलको व्यहोरा पर्दाफास गरिदिने भन्दै भिडियो सुरक्षित राखेको बताएका छन्।

घट्नापछि कोईरालाले कटारी बजारमा बिभिन्न सेवाग्राहीलाई भिडिओ देखाउदै मालपोतका कर्मचारीले यसरी घुस लिन्छन् भन्दै हिडेका छन्। भिडियोमा कट्टेलले कर्मचारीले पैसा लिएको रेकर्ड गरिएको छ। भिडियो रेकर्डसमेत सुरक्षित रहे पनि कट्टेलले भने घुस लिएको कुरा अविकार गरेका छन्। उनले चिनजानका दाई भएकाले मजाक गरेको होला भनेर त्यसलाई सामान्य ढंगमा लिएको बताए।

कोईरालाका अनुसार राजस्ववापत लिनुपर्ने ५ सयको ठाउँमा सुरुमा कट्टेलले १ हजार ५ सय मागेको र पछि १ हजार लिएर १ सय मात्र फिर्ता दिएको उनको भिडियो रेकर्डमा देखिन्छ। कर्मचारीले घुस लिएको भिडियो बाहिर आएपछि इलाका प्रशासन कार्यालय कटारीले मंगलबार मालपोत र नापी कार्यालयका कर्मचारीलाई बोलाई बैठक राखेको जनाएको छ।

बैठकमा कर्मचारीलाई सेवाग्राहीलाई दुख दिने, उनीहरूसँग राजस्ववाहेक अरु पैसा नलिन कडा निर्देशन दिइएको इलाका प्रसाशन प्रमुख सुनिल पौडेलले बताए।  मालपोतमा कर्मचारीले सेवाग्राहीलाई बिभिन्न बहानामा दुःख दिने गरेको स्थानीय परशुराम पोखरेलले बताए। स्थानीयका अनुसार जग्गा खरिद बिक्रीमा मूल्य (थैली) कम देखाएर लाभकर र राजश्वस घाटा गर्ने कामसमेत हुने गरी रजिस्ट्रेसन पास हुने गरेको छ।

नाम नबताउने शर्तमा कटारीका एक लेखापढी व्यवसायीले मालपोतका कर्मचारीले लेखापढी व्यवसायीलाई मोहरा बनाएर लाभकर छली गर्ने र राजश्वमा घाटा पुर्याउने गरेको बताए। ‘राजश्व घाटा हुने गरी काम गर्ने सब कर्मचारी छन् तर, मोहरा हामी लेखन्दासलाई बनाउँछन्’ ती व्यवसायीले भने।

यसअघि विगत ३ महिनाअघि एक कर्मचारी स्थानीय सेवाग्राहीबाट ६ सय रुपैयाँ घुस लिएको भन्दै गुनासो आएपछि कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले तत्काल बोलाएर लिएको पैसा फिर्ता गराउदै माफी मगाएका थिए। आइन्दा कहिल्यै त्यस्तो गल्ती नगर्ने बाचा गरे पनि अर्का कर्मचारी त्यसैगरी रकम लिएको पाएपछि कडा अनुगमन गर्दै कर्मचारीमाथी निरन्तर निगरानी बढाउने योजनामा पुगेको मेयर श्रेष्ठले बताएका छन्।

प्रकाशित: २१ चैत्र २०७४ ०६:२१ बुधबार

कटारी मालपोतका कर्मचारीले घुस लिएको आरोप