२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेसमा चुनावी सरगर्मी बढ्यो

 वीरगन्ज- मौसम चिसिदै गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको महोलमा गर्मी बढ्दो छ। पर्सा जिल्लामा आफ्नो दलको बर्चश्व कायम गर्न चाहेका दलहरुभित्र नै उम्मेदवार बन्न चाहेका आकाँक्षीहरुको माग र दावीहरुले चुनावी सरगर्मी बढेको छ।

दशैं, तिहार र छठ सकिए लगतै राजनीतिक दलहरुको चुनाव केन्द्रित गतिबिधी बढेको छ । बन्दसूचीको अन्तिम टुँगो लागि सकेपछि प्रदेशसभा र प्रतिनिधीसभाको लागि समानुपातिकको सूचीमा नाम अटाउन चाहनेहरुको चर्चा सेलाए पनि आगामी मंसिर २१ गते हुने आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाडको राजनीति जिल्लादेखी केन्द्रसम्म तिब्र छ। जिल्ला नेताहरु टिकट पाउन वा दिलाउनका लागि एकातिर काठमाडौंमा डेरा जमाएका छन्। केही नेताहरुले भोट बैंकमा पक्कड राख्ने अगुवाहरुलाई फकाउन र मिलाउन बैठकहरु जारी गरिसकेका छन् । केही पार्टी असन्तुष्टहरुलाई तान्न नाङलो थापेर बसेका छन्।

जिल्लामा मुख्य प्रतिस्पर्धी देखिएका नेपाली काँग्रेस, फोरम नेपाल एवम् राजपा गठबन्धन र बाम गठबन्धनलाई भने आफ्ना असन्तुष्टहरुलाई फकाउन धौधौ परेको छ। गत स्थानीय निर्वाचनमा चुनाव जित्न र टिकट बिवाद मिलाउन प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मौका दिने अश्वासन यी दलहरुले आफ्ना मानिसहरुलाई ब्यापक बाँडेका थिए। प्रतिनिधिसभा र प्रदेशसभा दुबै तहको समानुपातिकको बन्द सूची गइसकेपछि आकाँक्षीहरुको अन्तिम लविङ प्रत्यक्ष निर्वाचनको टिकट माथी छ। नेपाली काँग्रेस, फोरम नेपाल एवम राजपा गठबन्धन र बाम गठबन्धनले जिल्लाका चार प्रतिनिधीसभा र आठ प्रदेशसभा निर्वाचन क्षेत्र गरी १२ जनालाई प्रतिस्पर्धी बनाइ टिकट दिएर मैदानमा उतार्ने सक्ने भएका छन्।

गठबन्धनमा गएका दलहरुले भागबण्डामा स्वभाविक रुपमा कम सिट पाउने भएका हुन्। पार्टीमा पुरानो समयदेखी लागेकाहरु, पछिल्लो समयमा अश्वासन दिएर थामथुम पारिएकाहरु र प्रलोभन दिएर पार्टी भित्र्याइएकाहरुको दबावमा दलहरु परेका छन् । यस्तोमा चुनावी राजनीतिक रोचक मात्र हुँदै गएको छैन अहिले देखिएको दबावको व्यवस्थापनको अन्तिम स्वरुप आगामी निर्वाचनको परिणाम नै तय गर्ने खालको हुन गएको मानिएको छ। मनोनयन दर्ताको मिति नजिकिदै जाँदा राजनीतिक दलहरुको उम्मेदवारको नाम तय हुन नसकेपछि चुनावमा टिकटको राजनीतिक रोमाञ्चक बनेको हो।

गठबन्धनको अल्झन

लोकतान्त्रि गठबन्धनमा राप्रपासंग काँग्रेसको तालमेल बिग्रिएपछि काँग्रेसले पर्साको चारै वटा निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने भएको आम काँग्रेसजनको भनाई छ । नेताहरु भने गठबन्धनको लागि तालमेल प्रयास भइ नै रहेको बताउँछन् । ‘गठबन्धनको हिसाबले टिकट दिनुपर्ने हुन सक्छ, छलफल भइरहेको छ, यसै कारणले टुँगो लाग्न नसकेको हो,’ काँग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेलले भने, ‘आज (मंगलवार) रातिसम्म सबै टुँगो लागि सक्ने छ ।’ यता जिल्लामा बाम गठबन्धन बन्न नपाउँदै असन्तुष्टिको धरापमा पर्न थालेको छ । पर्साको निर्वाचन क्षेत्र नम्बर १, २ एमालेले र ३, ४ माओबादी केन्द्रले पाउने भएको बताइएको थियो । एमालेका निवर्तमान सांसद राजकुमार गुप्ताले आफ्नो साबिकको ३ नम्बर क्षेत्र नछोड्ने भन्दै असन्तुष्टि जनाएपछि क्षेत्र नम्बर १, ३ एमालेले र २, ४ माओवादी केन्द्रले लिने गरी मिलाउन थालिएको तालमेल पनि नबन्ने भएको छ।

आफ्नो क्षेत्रमा गत निर्वाचनमा पार्टीको बलियो अवस्था कायम गराएका एमालेका निवर्तमान सांसद जयप्रकाश थारुले असन्तोष जनाइरहेका छन्। क्षेत्र ४ माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई दिने गठबन्धनले पक्का गरेको बताइएको छ । यसैबीच माओवादी केन्द्रबाट सो क्षेत्रमा ३ वटा स्थानीय तह जितेका निर्वाचित प्रमुखहरु र पार्टीहरु अन्य जिल्ला नेताहरुले नेतृ अर्यालले उम्मेदवारी दिए आफुहरुले असहयोग गर्न बाध्य हुने लिखित पत्र केन्द्रीय तहमा पठाएका छन् । ‘केन्द्रीय तहले स्थानीय धरातलीय अवस्थालाई बेवास्ता गरेमा र अहिले गठबन्धनमा टिकटलाई लिएर देखिएको असन्तोष कायम रहेमा बाम गठबन्धनले आगामी चुनावमा राम्रो नतिजा पाउने छैन,’ एमालेका स्थानीय नेता अनुप तिवारीले भने ।

त्यसतै फोरम राजपा गठबन्धनलाई पनि टिकट बितरण मिलाउन धौधौं छ। पार्टीको पछिल्लो समयमा लोकप्रीयता देखिएको र मधेस मुद्दा समर्थित मत अहिले पनि काँग्रेस, एमाले र माओवादीतिर नगई मधेस पक्षधर दललाई नै आउने निश्चित देखिएपछि टिकट आकाक्षीको संख्या अधिक भएको फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले बताए । क्षेत्र १, २ तथा ३ फोरम नेपालले र ४ राजपाले लिने तय भएको नेताहरु बताउछन् । फोरम नेपालबाट पर्सा क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष यादव, २ बाट वीरगन्जका पुर्व मेयर बिमल प्रसाद श्रीवास्तव, ३ बाट फोरम नेता हरिनारायण रौनियार र ४ बाट राजपाका बरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले चुनाव लड्ने लगभग पक्का भएको फोरम स्रोतको भनाई छ। यता प्रदेश सभामा भने सबै आठवटै क्षेत्रमा माग र दावी ब्यापक छ।

प्रकाशित: १४ कार्तिक २०७४ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App