२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भारतलाई २० वर्षमा थप २१ सय जहाज चाहिने

मुम्बई- भारतका वायुसेवा कम्पनीहरूलाई आगामी दुई दशकभित्र थप २ हजार १ सय थान नयाँ जहाज आवश्यक पर्ने बजार प्रक्षेपण गरिएको छ। अमेरिकी जहाज निर्माता कम्पनी बोइङले गरेको बजार अध्ययनले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो। विश्वकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको भारतीय उड्डयन बजारलाई चाहिने ती जहाजको मूल्य २ खर्ब ९० अर्ब अमेरिकी डलरबराबर हुने बोइङले जनाएको छ।

'भारतले एउटा बलियो व्यापारिक उड्डयन बजारलाई निरन्तरता दिँदै आएको छ र संसारकै सबैभन्दा धेरै आन्तरिक हवाई यात्रु चाप हुने ठाउँ पनि यही हो,' बोइङको एसिया प्रशान्त तथा भारत हेर्ने वरिष्ठ उपाध्यक्ष दिनेश केसकरले भने, 'भारतले पछिल्लो पटक कार्यान्वयनमा ल्याएको नयाँ हवाई नीतिबाट हामीले यहाँका वायुसेवा कम्पनी र बजारमा अझै वृहत अवसर र विश्वास कायम रहेको देखिरहेका छौं।'

बोइङले यो वर्ष सार्वजनिक गरेको बजार प्रक्षेपण अघिल्लो वर्षभन्दा १३ प्रतिशतले बढी हो। यसको अर्थ २ सय ५० थना बढी जहाज आवश्यक पर्ने देखिएको हो। अघिल्लो वर्षको बजार प्रक्षेपणले दुई दशकभित्र थप १ हजार ८ सय ५० थान नयाँ जहाज आवश्यक पर्ने देखाएको थियो।

ताजा तथ्यांकअनुसार भारतीय वायुसेवा कम्पनीहरूसँग हाल ४ सय ९० थान जहाज सञ्चालनमा छन् भने नयाँ ८ सय ८० थान खरिद अर्डर गरेका छन्। अहिले सार्वजनिक गरिएको बजार प्रक्षेपण सन् २००५ को भन्दा धेरै नै उच्च हो। त्यसबेला बोइङले २० वर्षभित्र ३५ अर्ब डलर मूल्यबराबरका थप ४ सय ७० नयाँ जहाज आवश्यक पर्ने प्रक्षेपण गरेको थियो।

'व्यावसायिक उडान गर्ने जहाजको माग भारतमा निरन्तर बढिरहेको छ,' बोइङका केसकरले भने, 'वर्षैपिच्छे बढिरहने यात्रु संख्या, बलियो विनिमय दर, इन्धन मूल्य सस्तो लगायत कारण भारतीय उड्डयन बजारलाई यति परिमाणको जहाज आवश्यक पर्ने निश्चित छ।'

बोइङका अनुसार भारतलाई आवश्यक कूल जहाजको ८५ प्रतिशत 'बोइङ ७३७' सिरिजका हुनेछन्। भारतको आन्तरिक उड्डयन बजारमा गत मे महिनामा यात्रु १७ दशमलव ७ प्रतिशतले बढेका थिए। यो वृद्धि दर विश्वकै सबैभन्दा धेरै रहेको इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) ले जनाएको छ।

बोइङले गरेको विश्वव्यापी प्रक्षेपणले आगामी २० वर्षभित्र थप ४१ हजार ३० थान नयाँ जहाज आवश्यक पर्ने देखाएको छ। यो परिमाणमा भारतलाई आवश्यक पर्ने जहाजको हिस्सा पाँच प्रतिशतमात्र हो।

भारतमा हाल सरकारी स्वामित्वको एयर इन्डियादेखि निजी क्षेत्रका इन्टरग्लोब एभिएसन लिमिटेड (इन्डिगो एयरलाइन्स), स्पाइसजेट लिमिटेड, जेट एयरवेज (इन्डिया) लिमिटेड, गो एयर, एयर भिस्टारा र एयर एसिया इन्डिया तथा अन्य क्षेत्रीय वायुसेवा कम्पनी सञ्चालनमा छन्।

बोइङ प्रक्षेपणअनुसार सन् २०१७ मा करिब १२ करोड यात्रुले जहाजबाट यात्रा गर्नेछन् जुन गत वर्षको दाँजोमा यो २ करोडले बढी हो। सरकारी कम्पनी एयर इन्डियाले सबैभन्दा धेरै सिट उपलब्ध गराएको छ। गत वर्षको तुलनामा एयर इन्डियाले ८ प्रतिशतले सिट क्षमता वृद्धि गरेको हो। त्यसैगरी दोस्रो स्थानको इन्डिगोले २० प्रतिशत, जेट एयरवेजले ९, स्पाइसजेटले २५ र गो एयरले २० प्रतिशतले सिट क्षमता बढाएका छन्।

बोइङले जेट एयरवेजले आफ्नो बजार हिस्सा ओगट्न थप जहाज अर्डर गर्नुपर्ने अनुमान पनि गरेको छ। हाल जेटले बोइङमा उत्पादित ९० थान जहाज सञ्चालन गरिरहेको छ। त्यसबाहेक जेटले ७५ नयाँ जहाज खरिद अर्डर पनि गरेको छ। यति जहाजले पुराना जहाज विस्थापन गर्न र थप बजार विस्तार गर्न पर्याप्त नहुने बोइङको दाबी छ।

त्यसैगरी एयर इन्डियाको भगिनी वायुसेवा एयर इन्डिया एक्सप्रेसले पनि जहाज थप्नेमा बोइङले अनुमान गरे पनि एयर इन्डियाको योजना भने अनिश्चित छ। एयर इन्डिया अहिले थप लगानी नगर्ने प्रक्रियामा रहेको छ। एयर इन्डियाले पछिल्लो पटक २००६ मा एकैचोटि ११ अर्ब डलर लगानी गरी ६८ थान जहाज खरिद अर्डर गरेको थियो। तीमध्ये बोइङ ७८७ ड्रिमलाइनर जहाज त्यही वर्ष अक्टोबरमा प्राप्त गरेको थियो भने लामो दुरीमा उडान गर्ने तीनथान 'बोइङ ७७७' सिरिजका जहाज २०१८ को सुरुतिर प्राप्त गर्ने छ।

अन्य कम्पनी स्पाइसजेट र जेट एयरवेजले पनि आगामी वर्षबाट 'बोइङ ७३७ म्याक्स' सिरिजका जहाज प्राप्त गर्ने बोइङले जनाएको छ। बोइङका केसकरले केही भारतीय वायुसेवा कम्पनीलाई आगामी केही महिनाभित्र बोइङ जहाज भाडामा उपलब्ध गराइने जानकारी दिए।

हाल भारतका विभिन्न ठूला अन्तर्राष्ट्रिय विमानस्थलमा जारी पूर्वाधार निर्माणमा जारी अवरोध नहटेसम्म भारतका लागि प्रक्षेपण गरेको २ हजार १ सयथान जहाज आपूर्ति गर्न समस्या पर्ने चेतावनी बोइङका केसकरले दिएका छन्।

प्रकाशित: २३ श्रावण २०७४ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App