२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उम्मेदवार छनौटमा असन्तुष्ट एमाले कार्यकर्ताद्वारा पार्टी कार्यालय तोडफोड

आक्रोसित कार्यकर्ताले पार्टी कार्यालयमा तोडफोड गरेर सडकमा टायर बाल्दै। तस्विरः महेश्वर

उदयपुर- पार्टी कमिटीको सिफारिसविरुद्ध मेयर उम्मेदवार छानेको भन्दै नेकपा (एमाले)  का कार्यकर्ताले मंगलबार दिउँसो आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेका छन्। नगर कमिटीले सिफारिस गरेका ४ जनाको नाम भन्दा फरक व्यक्तिलाई मेयरमा उम्मेदवार तोकेको भन्दै पार्टीको नगर कमिटी कार्यालय बेल्टारमा कार्यकर्ताले तोडफोड गरेका हुन्।

आक्रोसित कार्यकर्ताको भिडले तोडफोड र आगजनी गर्दा कार्यालयभित्र रहेका २ थान कुर्सी जलेर नष्ट भएका छन् भने कार्यालयमा कालोझण्डा र तालाबन्दी गर्दै सडकमा टायर बालेर विरोध गरेका छन्। एमालेले चौदण्डीगढी नगरपालिकामा नरेन्द्र राउतलाई मेयरमा उठाउने निर्णय गरेको थियो । सिफारिसमा परेका नामहरु कुमारसिंह कार्की, कालु लामा, राजेन्द्र कटुवाल र शम्भु पौडेलको नाम रहेकोमा नामै नसुनेका मान्छेलाई प्रदेश कमिटीले सिफारिस गरेको भन्दै कार्यकर्ताहरु असन्तुष्ट भएका थिए।

राउतले टिकट पाउनुमा ठूलो आर्थिक चलखेल भएको आरोप पार्टी कार्यकर्ताबाटै लागेको छ । साविक हडिया गाविसका राउत वैदेशिक रोजगार व्यवसायी हुन् । उनले जिल्ला पदाधिकारीदेखि प्रदेश कमिटी र सम्बन्धित जिल्ला इन्चार्जसम्मलाई पैसाको चलखेल गरेर सिफारिसमै नपरे पन टिकट हत्याएको आरोप कार्यकर्ताले लगाएका छन्।

राउतको पक्षमा भएको पार्टी निर्णयविरुद्ध नगर कमिटीका अधिकतर पदाधिकारी र सिफारिसमा परेका कार्यकर्ताको टोली पार्टी केन्द्रीय कार्यालय गएर अध्यक्ष केपी ओली, नेता माधव नेपाल, प्रदेश इन्चार्ज भिम आचार्य र सहइन्चार्ज शेरधन राईसँग निर्णय पुनरावलोकन गर्न आग्रह गरेको असन्तुष्ट नेता कार्कीले बताए। उनका अनुसार निर्णय फिर्ता नभए पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै प्रतिनिधिमण्डलले पार्टी नेतृत्वलाई पुनरावलोकनको चर्को दबाब दिएको छ।

 

 

प्रकाशित: २३ जेष्ठ २०७४ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App