२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिमा कम्पनीलाई मर्जरमा जान नियमकको दबाब

काठमाडौं- बिमा कम्पनीहरुलाई मर्जरमा जान दबाब दिन थालिएको छ। बिमा कम्पनीको संख्या बढे पनि गुणस्तरीय सेवा दिन नसकेको भन्दै उनीहरुलाई मर्जरमा जान दबाब दिन थालिएको हो।

चुक्ता पुँजी कम भएका बिमा कम्पनीले ठूलो व्यवसाय सञ्चालन गर्न नसक्ने भन्दै यिनीहरुको नियमन गर्ने निकाय बिमा समितिले मर्जरमा जान बाध्य बनाउन लागेेको हो। कतिपय बिमा कम्पनीले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन्।

बिमा समितिले पुँजी वृद्धिका लागि सबैभन्दा उपयुक्त विकल्पको रुपमा मर्जरलाई लिएको छ। समितिले जीवन बिमा कम्पनीको ५० करोड र निर्जीवनको २५ करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ। तर, कतिपय बिमा कम्पनीले बिमा समितिले निर्धारण गरे अनुसारको पुँजी पुर्‍याउन सकेका छैनन्।

अहिले पनि केही बिमा कम्पनीको चुक्ता पुँजी १२–१३ करोड रुपैयाँ भएको बिमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए। '१२ करोड चुक्ता पुँजी भएको बिमा कम्पनीले कसरी व्यवसाय गर्न सक्छन?,' उनले प्रश्न गर्दै अगाडि थपे, 'व्यवसाय वृद्धि गर्ने हो भने चुक्ता पुँजी बढाउनु जरुरी छ।'

बिमा कम्पनीको चुक्ता पुँजी कम्तीमा ४–५ अर्ब हुनुपर्ने समितिको भनाइ छ। 'मर्जरमा गएर भए पनि त्यति चुक्ता पुँजी पुर्‍याउनु आवश्यक छ,' पौडेलले भने, 'सानोतिनो चुक्ता पुँजी लिएर बस्ने कम्पनीको भविष्य छैन।'

बिमा समितिले चुक्ता पुँजी बढाउने उद्देश्यसहितको बिमा ऐन निर्माणका लागि मस्यौदा तयार पारेको छ। उक्त मस्यौदामा जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवनको ४ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने प्रावधान सहितको मस्यौदा अर्थ मन्त्रालयमा पठाएको छ। तर, अर्थ मन्त्रालयले उक्त मस्यौदामा चुक्ता पुँजी राख्ने वा नराख्ने भन्नेबारे निष्कर्षमा पुग्न सकेको छैन।

हाल बिमा कम्पनीको संख्या मुलुकले धान्न सक्नेभन्दा बढी छ। त्यसैले पनि बिमा समितिलेे बिमा कम्पनीलाई जसरी भए पनि चुक्ता पुँजी बढाउन दबाब दिएको पौडेलको भनाइ छ।

न्यून चुक्ता पुँजी राखेर बिमा कम्पनी स्थापनाका लागि बिमा समितिमा लाइसेन्स लिन अझै पनि आउने गरेका छन्। 'केही वर्षअघि १३ वटाले नयाँ बिमा कम्पनी स्थापनाका लागि निवेदन दिएका थिए,' उनले भने, 'तर, अहिले पहिलेको अनुपातमा कम छन्।'

बिमा समितिले बिमा कम्पनीहरुको संख्या बढी भएको भन्दै नयाँ कम्पनीलाई लाइसेन्स दिन छाडेको छ। चुक्ता पुँजी ५ अर्ब लिएर आए भने विचार गर्न सकिन्छ,' उनले भने, '१२ करोड चुक्ता पुँजी राखेर नयाँ कम्पनीको लाइसेन्स दिन सकिँदैन।'

रेमिटेन्स कम्पनी, बैंक र वित्त कम्पनी खोल्ने समूहले नै बिमा कम्पनी स्थापनाका लागि निवेदन दिने गरेको समितिको भनाइ छ। पछिल्लो समय बिमा समितिले नयाँ बिमा कम्पनी स्थापनामा रोक लगाएपछि सञ्चालनमा रहेका कम्पनी ती समूहले किन्न थालेको समितिको भनाइ छ।

विगतमा राजनीतिक र प्रशासनिक दबाबका कारण च्याउ उम्रेजस्तै बिमा कम्पनी स्थापना भएपछि अहिले तिनको संख्या कसरी घटाउने भनेर बिमा समितिको टाउको दुखेको छ।

समितिले एकै खाले (जीवन र निर्जीवन) बिमा कम्पनीलाई मर्ज गराउन पुनः पहल सुरु गरेको छ। यसअघि पनि मर्जरको अवधारणा अगाडि सारेको थियो। तर, त्यो प्रयास सफल भएको थिएन।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा गएर चुक्ता पुँजी बढाउन दबाब दिए जस्तै बिमा समितिले पनि त्यही बाटो रोज्ने तयारी गरेको छ।

ग्रामीण क्षेत्रमा बिमाको सेवा विस्तार गर्ने उद्देश्यले समितिले दुर्गम क्षेत्रमा २ शाखा खोलेपछि मात्र १ शाखा सहरी क्षेत्रमा स्थापना गर्न पाउने बाध्यकारी व्यवस्था गरेको पौडेलले बताए। बैंक तथा वित्तीय संस्थाको जस्तै शाखा विस्तार गर्ने अवधारणा बिमा कम्पनीमा पनि ल्याइएको छ।

समितिका अनुसार, कम्पनीहरुलाई पहिलो चरणमा स्वेच्छिक मर्जरमा प्रोत्साहित गरिने छ। प्रोत्साहित गर्दा पनि मर्ज नभए बाध्य पार्ने समितिको योजना छ।

अहिले ९ जीवन र १७ निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन्। पोहोर वैशाख १२ गते गएको भूकम्प र त्यसपछि भारतीय नाकाबन्दीका कारण बिमा कम्पनीको सेयर किनबेचमा लगानीकर्ताले खासै चासो देखाएका थिएनन्। चुक्ता पुँजी बढाउने चर्चासँगै केही बिमा कम्पनीको सेयर मूल्य अत्यधिक बढेको छ।

प्रकाशित: २४ असार २०७३ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App