ताप्लेजुङ- सोमबारबाट ताप्लेजुङमा लकडाउनमा थप कडाई गरिने भएको छ। अत्यावश्यक काम बाहेक सडकमा देखिएका मानिसलाई कम्तिमा २ घण्टा सडकमै उभ्याएर लकडाउन र कोरोनाको प्रशिक्षणसहितको प्रारम्भिक कारबाही गर्ने योजना प्रहरीले बनाएको छ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आइतबारको बैठकले अनावश्यक ढंगले मानिसहरुको आवतजावत गर्ने क्रम नियन्त्रण गर्न अब कडाई नीति लिने निर्णय गरेको हो। ‘अनावश्यक भिडभाड र मानिसहरुको ओहोरदोहोर हुन नदिन अब कडाईका साथ एक्सनमा जाने गरी निर्णय भएको छ’ प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भने। जिल्ला प्रहरी प्रमुख(डिएसपी) ज्ञानेन्द्रप्रसाद फुयाँलले अत्यावश्यक काम बाहेक सडकमा हिँड्डुल गर्ने, चौक–चौकमा गफ गरेर बस्ने, चिया पसलहरुमा अनावश्यक भेला हुने जस्ता कार्य नियन्त्रणका लागि प्रहरीलाई कडाईका साथ परिचालन गरिने जानकारी दिए। फुयाँलका अनुसार सवारी पास नभएका कारण प्रहरीले नियन्त्रण्मा लिएका सवारीलाई अब लकडाउनपछि मात्र छाडिने छ।
प्रहरी प्रधान कार्यालय र मातहतका निकायबाट प्राप्त भएको निर्देशन अनुसार अब लकडाउनलाई थप कडाई गरिने उनले बताए। यसैबीच कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले खाद्य तथा अत्यावश्यक दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसलहरुलाई भौतिक दुरी कायम हुनेगरी रेखाङ्कन गर्न आग्रह गरेको छ। रेखाङ्कनले सेवाग्राहीको उपस्थिति र उनीहरुले पाउने सुबिधा सूची समेत तय गर्ने भएकोले यसको व्यवस्थापनका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले ताप्लेजुङ उद्योग बाणिज्य संघलाई आग्रह गरेको समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए।
प्रकाशित: ३० चैत्र २०७६ १०:११ आइतबार