२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वनका कर्मचारीको मिलेमतोमा काठ तस्करी

बीरगंज- राष्ट्रिय वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय कै कर्मचारीको मिलोमतोमा भारी मात्रामा जंगल फडानी र काठको तस्करी भइरहेको खुलेको छ। गादी गाबिसको रंगपुरबाट ३० वटा गोलाई काठ बरामद भएपछि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको नेतृत्वमा सोमबार स्थलगत निरीक्षणमा पुगेको संयुक्त टोलीले यस्तो खुलासा गरेको हो। पर्साको रंगपुर इलाका बन कार्यालय नजिकैको टोलबाट पर्साका प्रहरी निरीक्षक गोविन्दकुमार साहको नेतृत्वको प्रहरी टोलीले शुक्रवार छापामारी गरी बरामद गरेको सखुवा काठ १ सय २९ घनफिट रहेको छ।

बजार मुल्य करिब १० लाख बराबरको सो काठ एकै ठाउँमा परालभित्र लुकाईको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक साहले बताए। ‘जंगलको अबैध फडानी भइरहेको थाहा हुन आएपछि म सहित प्रहरी र बन कार्यालयका प्रमुख समेतको संयुक्त टोलीले आज स्थलगत निरीक्षण गर्न आएका हौं, काठ बरामद भएको ठाउँ पनि देखियो, संगठित किसिमले यो गतिबिधी गरिएको हाम्रो अनुमान छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘बन संरक्षणको दायित्व लिएका कर्मचारीहरुबाट इमान्दारीपूर्वक भूमिका भए नभएको पनि हामी हेर्दै छौं, एक जना कर्मचारीलाई आजैदेखि छानबिनको दायरामा ल्याई सकिएको छ, अरु क–कसको संलग्नता छ भन्नेतर्फ पनि अनुसन्धान हुनेछ।’

वजनमा भारी र ओसारपसारमा असहज हुने गोलाई काठका ३० वटा थान एकै ठाउँमा बरामद भएकोले यो संगठित गिरोहको काम हो भनी टोलीको बुझाई छ। यस्तो कामका लागि ट्याक्टर, बिभिन्न खाले ज्यावल र अनेक मानिसहरु निकै समय खर्चेर मात्र त्यति काठ लुकाउन सक्छ । काठ बरामद भएको ठाउँ बस्तीभित्र छ भने प्रहरी चौकी रंगपुरदेखी ५ सय मिटरमा मात्र छ । इलाका बन कार्यालय भने त्यहाँदेखी बढीमा डेढ किलोमिटरमा छ।

 

 

प्रकाशित: १८ पुस २०७३ ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App