२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फागुनको पहिलो साताभित्र लोड फ्लो टेस्टको तयारी

रसुवा - चीनसँगको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि आगामी फागुनको पहिलो साताभित्र लोड फ्लो टेस्ट हुने भएको छ। एक महिनाभित्र परीक्षण गर्ने गरी अध्ययनको काम सुरु गरिएको रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ। दुवै देशले अध्ययनको काम सुरु गरेको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए। ‘प्राविधिक टोलीले नेपालभरिको सबै प्रवाह हेरेर सुरुमा कति मेगावाटसम्म फ्लो गर्न सकिन्छ भनेर हेर्छ’, उनले भने, ‘सुरुमा दुई हजार मेगावाट विद्युत फ्लो गर्ने योजना छ।’

लोड फ्लो टेस्ट भएपछि सोही अनुसारको सबस्टेसनको डिजाइन बन्छ। अनि त्यही किसिमका उपकरण आयात गरिन्छ। अहिले नेपालको नेपाल विद्युत प्राधिकरण नेपालतर्फ र चीनको स्टेट ग्रिड अफ चाइनाले चीनतर्फ लोड फ्लोको स्टडी गरिरहेका छन्। दुवै देशतर्फ स्टडी सकिएपछि संयुक्त रूपमा टेस्ट गरिने छ। टेस्टको काम सकिएपछि दुवैले संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने छन्। प्रसारण लाइनमा पाँच हजार मेगावाट विद्युत प्रवाह हुने आयोजनाले जनाएको छ। प्रसारण लाइन निर्माण भएपछि नेपालमा उत्पादन भएको विद्युत चीनले खरिद गर्ने छ। यो चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइन हो। प्रसारण लाइन निर्माण भएमा नेपालले बंगलादेशलाई समेत विद्युत बेच्न सक्ने छ।

नेपालतर्फ चार सय केभी डबल सर्किट र चीनतर्फ पाँच सय केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ। चीनको केरुङदेखि नेपालको रातमाटेसम्म निर्माण हुने आयोजनाको प्रि–फिजिबिलिटी अध्ययन सकिएको छ। प्रसारण लाइन पाँच हजार मेगावाट क्षमताको हुने छ। यो प्रसारण लाइनमा दुई सय १४ वटा टावर रहने छ। सम्भाव्यता अध्ययन तथा वातावरणीय अध्ययनको काम दुई वर्षभित्र सक्नुपर्ने आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए। सम्भाव्यता अध्ययनको ड्राफ्ट रिपोर्ट २०७५ चैत ३ गते पेस भएको थियो ।

अध्ययन प्रतिवेदनमा टावर संख्या, टावर राखिने स्थान, खोला क्षेत्र, निकुञ्ज क्षेत्र, आवश्यक पर्ने जग्गा, घुमाउन पर्ने ठाउँलगायत जानकारी समेटिएको छ। नेपालतर्फ रातमाटेमा सबस्टेसन रहने छ भने चीनतर्फ तिब्बतस्थित जिलोङ काउन्टीमा सबस्टेसन राखिने छ। रसुवागढी नाकादेखि रातमाटेसम्मको प्रसारणको दूरी ७० किलोमिटर रहेको छ। अन्तर्देशीय प्रसारण लाइन ६ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गत रहेको आयोजना विकास विभागले काम गरिरहेको छ।

यो चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइन हो। भारतसँग भने ११ स्थानमा प्रसारण लाइन जोडिसकिएको छ। चीन सरकारले बेल्ट एन्ड रोड इनिसेटिभअन्तर्गत सन् २०३० सम्ममा सातवटै महादेशमा प्रसारण लाइन विस्तार गर्ने नीति लिएको छ। चीन र नेपालबीच प्रसारण लाइन जोडिएपछि यसले भारत तथा मध्य एसियाली मुलुकलाई समेत जोड्ने छ। विद्युतीय रेल आएमा प्रसारण लाइनको दूरी पनि बढ्ने छ। ७० किलोमिटर दूरी रहेको लाइन काठमाडौं लैजाँदा एक सय पाँच किलोमिटर हुन्छ।

प्रकाशित: ९ माघ २०७६ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App