२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घर बनेपछि भूकम्पपीडित दंग

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, टेटाङ्चेमा भूकम्प प्रभावितले निर्माण गरेका घर। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, टेटाङ्चेका कामी सिदार तामाङ साढे चार वर्षअघिसम्म अर्काको जग्गामा बस्दै आएका थिए। भूकम्पका कारण उनी बसेको ठाउँमा पहिरो गयो। छाप्रे घर पुरियो। उनको पाँचजनाको परिवार पुरानो ठाउँबाट केही तल झरेर बस्यो। चार वर्षसम्म जग्गा भाडामा लिएर बसेको उनको परिवारले भर्खरै घर बनाएको छ। ‘भूकम्पले घर भत्किएपछि जग्गा भाडामा लिएर बस्यौं’, उनले भने, ‘सरकारले दुई लाख उपलब्ध गराएपछि चार आना जग्गा खरिद गरेर घर बनाएँ।’ अहिले उनी खुशी छन्। ‘पहिले सुकुमबासी थियौं’, उनले भने, ‘अहिले त आफ्नै नाममा जग्गा र घर भएको छ।’ उनले घर बनाउन पनि आवास सुविधाअन्तर्गत केही पैसा पाएका थिए।
ब्राप्चेका ज्याङबुचु तामाङ टेटाङ्चेमा आएको साढे चार वर्ष भयो। उनले पनि अहिले घर निर्माण गरेका छन्। ‘भूकम्पपछि हामी त्यहाँबाट यता आएका हौं’, उनले भने, ‘यहाँ आएर लामो समय बसेपछि जग्गा पायौं।’ उनी भूकम्पका कारण टेटाङ्चेबाट विस्थापित भएका हुन्। उनले जग्गा खरिद गर्न र घर निर्माण गर्न सरकारबाट पाँच लाख पाएका थिए। उनलाई घर बनाउन निकै गाह्रो भयो। सरकारले दिएको पैसाले घर बनेन्, नपुगेको पैसा ऋण खोजेर जुटाए उनले। पहिलेको भन्दा अहिलेको घर फरक भएको उनले बताए। पहिले ढुंगा र माटोको घर थियो। अहिले उनले काठ प्रयोग गरेर घर बनाएका छन्।

ब्राप्चेकी सुङ्जो तामाङले घर बनाउन ऋण लिए पनि अहिले तिरिसकेकी छन्। ‘सुरुमा कोठा लिएर बस्यौं’, भूकम्पपीडित उनले भनिन, ‘जग्गा किनेपछि घर बनाउन पैसाको खाँचो भयो।’ पछि ऋण खोजेरै भए पनि उनले घर निर्माण सम्पन्न गरिन्।

टेटाङ्चेमा अहिले ७८ घरधुरी छन्। तीमध्ये ११ जना ब्राप्चेबाट विस्थापित भएर त्यहाँ पुगेका हुन्। उनीहरूले घर निर्माण सम्पन्न गसिकेका छन्। विस्थापितको पुनस्र्थापना गर्नका लागि सामुदायिक आत्मनिर्भर केन्द्र रसुवाले सहयोग गर्दै आएको छ। विस्थापितका लागि जग्गा खरिद गर्ने कार्यमा सहयोग गर्दै आएको संस्थाले जग्गा खरिदपछि सम्बन्धितले घर बनाए वा बनाएनन् भनेर अनुगमन पनि गर्दै आएको छ।

जिल्लामा भूकम्पबाट एक हजार ८७ परिवार विस्थापित भएका छन्। जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाका अनुसार जिल्लाका विस्थापितमध्ये ५९.५२ प्रतिशतले जग्गा खरिद गरिसकेका छन्। अर्थात् ६ सय ४७ परिवारले जग्गा किनेका हुन्। जग्गा खरिद गरेका मध्ये ३०.९१ प्रतिशत अर्थात २ सयले घर निर्माण सम्पन्न गरेका छन्। एकीकृत बस्तीमा जाने परिवार भएकाले घर निर्माण सुरु नभएको सामुदायिक आत्मनिर्भर केन्द्र रसुवाका पैरवी संयोजक विश्वास नेपालीले बताए। ‘जग्गा खरिद गरेका परिवारले घर बनाउने क्रम जारी छ’, उनले भने, ‘एकीकृत बस्तीमा जाने परिवारको घर निर्माण कार्य सुरु भएको छैन।’

जिल्लाको ६ स्थानमा एकीकृत बस्ती निर्माण गर्ने तयारी छ। जसमा तिरुमा एक सय २५, लाङ्बुमा २१, पाङलिङमा ५१, बोगटीटारमा ५३, बनुवा छापमा १५ र बोगटीटारको अर्को स्थानमा १५ परिवारलाई राखिने छ। विस्थापितलाई स्थानान्तरणका लागि जिल्लामा पर्याप्त जग्गा नहुँदा समस्या भएको संयोजक नेपालीले बताए। ‘जिल्लामा पर्याप्त जग्गा छैन’, उनले भने, ‘भएको जग्गाको मूल्य पनि चर्को छ।’

प्रकाशित: १७ पुस २०७६ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App