२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीन पुग्यो रुसी ग्यास पाइपलाइन, पुटिन र सीद्वारा उद्घाटन

गत नोभेम्बर १३ मा ब्राजिलको राजधानी ब्रासिलियामा आयोजित १९औं ब्रिक्स सम्मेलनको साइडलाइन मिटिङमा भेट गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन (बायाँ) र चिनियाँ राष्ट्रपति सी चिनफिङ। फाइल तस्बिर:एजेन्सी

मस्को – रुस र चीनबीच सोमबार पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको छ। विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा लिएको छ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङले टेलिभिजनबाट प्रसारित समारोहकै बीच सोमबार ग्यास पाइपलाइनको उद्घाटन गरे।

दुई देशका बीचमा ग्यास पाइपलाइन सञ्चालन हुनुलाई आपसी सहकार्यको नयाँ कदमका रूपमा व्याख्या गरिएको छ। ‘आज एउटा ऐतिहासिक काम भएको छ। यो विश्वको ऊर्जा बजारका लागि मात्रै नभई तपाईं हाम्रा लागि पनि पहिलो पटक महŒवपूर्ण कदम भएको छ,’ रुसी राष्ट्रपति पुटिनले बताए।

चिनियाँ राष्ट्रपति सीले भने यस कार्यलाई आपसी सहकार्यको नयाँ नमुनाका रूपमा अथ्र्याएका छन्। यसले दुई देशको सम्बन्धलाई थप उचाइमा पु-याउने विश्वास पनि उनले व्यक्त गरेका छन्। कार्यक्रममा दिइएको जानकारीअनुसार दुर्गम क्षेत्रमा पर्ने पूर्वी रुसदेखि चीनको सीमा क्षेत्रमा पर्ने ब्लागोभेसचेन्सकसम्म जोड्ने गरी ग्यास पाइपलाइन जोडिएको छ। सो पाइपलाइन तीन हजार किलोमिटर लामो रहेको जनाइएको छ।

राष्ट्रपति पुटिनले यसलाई संसारकै सबैभन्दा ठूलो निर्माण परियोजनाको संज्ञा दिएका छन्।  यद्यपि सो पाइपलाइनबाट सन् २०२५ देखि मात्रै पूर्ण क्षमतासहित ग्यास निर्यात गर्न सकिने छ। पूर्ण क्षमतासहित सञ्चालन हुँदा सो पाइपलाइनबाट प्रति वर्ष ३८ अर्ब क्युविक मिटर ग्यास निर्यात गर्न सकिने अधिकारीहरुले जनाएका छन्। ग्यास पाइपलाइन निर्माण गर्न रुस र चीनले सन् २०१४ मा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

त्यसबेला चार सय अर्ब अमेरिकी डलर लाग्ने परियोजनालाई महत्वाकांक्षी परियोजना मानिएको थियो। पाइपलाइन निर्माण गर्ने क्षेत्रमा दलदल, डाँडाकाँडा र ढुङ्ग्यान भूभाग रहेको र अप्ठेरो खालको वातावरणीय अवस्था रहेको जनाइएको छ। पाइपलाइनअन्तर्गत पर्ने याकुतिया क्षेत्रमा माइनस ६० डिग्री सेल्सियस र रुसको सुदुर पूर्वी अमुर क्षेत्रमा माइनस ४० डिग्री सेल्सियस तापक्रम हुने गरेको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: १७ मंसिर २०७६ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App