६ वैशाख २०७८ सोमबार
अन्तर्वार्ता

फेवातालको क्षेत्रफलबारे किन विवाद ? (अन्तर्वार्ता)

फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पुण्यप्रसाद पौडेल

फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले केहिदिन अगाडि फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी भनेर सार्वजनिक ग¥यो । तर, यो प्रतिवेदन विवादित बन्यो । किनभने डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला विश्वप्रकाश लामिछानेको नेतृत्वमा बनेको ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ले २०६९ सालमा बनाएको प्रतिवेदनमा उल्लेख गरिए भन्दा अहिलेको प्रतिवेदनमा १६०९ रोपनी क्षेत्रफल कम देखाइएको छ । लामिछाने प्रतिवेदनमा फेवातालको क्षेत्रफल १२८७४ रोपनी उल्लेख छ ।  पछिल्लो प्रतिवेदन अनुसार फेवातालको क्षेत्रफल घटेपछि ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’का तत्कालिन संयोजक लामिछानेले फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले नियतवस तालको क्षेत्रफल घटाएको आरोप लगाएका छन् । तर, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले पनि लामिछाने प्रतिवेदनलाई विज्ञको सहभागिता बिना हचुवाको भरमा तयार पारिएको दावि गरेको छ । यसै विषयमा केन्द्रीत रहेर फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पुण्यप्रसाद पौडेलसँग नागरिककर्मी सन्देश श्रेष्ठले गरेको कुराकानी ।

फेवातालको क्षेत्रफल घटेको हो र ?

होइन, फेवातालको क्षेत्रफल घटेको सत्य होइन । बरु बढेको हो ।

तर, अघिल्लो प्रतिवेदनमा उल्लेख भएभन्दा अहिलेको प्रतिवेदनमा फेवातालको क्षेत्रफल १६०९ रोपनी घट्यो भन्ने देखिएको छ त ?  

यो निराधार आरोप मात्र हो । फेवातालको क्षेत्रफल घटेको छैन । फेवातालको क्षेत्रफल तत्कालिन संयोजक विश्वप्रकाश लामिछाने नेतृत्वको प्रतिवेदनले भनेजति छँदै छैन । त्यो कुनैपनि हालतमा पुग्दै पुग्दैन । नक्सामा भकुण्डे खोला काटेर ताल गएको देखिदै देखिदैन । हामीले त तथ्यलाई भन्नु प¥यो नि ! प्राचिनकालमा यो सबै ताल थियो भनेर त हामीले भन्न मिलेन । त्यो खोला भन्दा काटेर ताल छ भनेर भन्ने आधार नदेखिएकाले हामीले भकुण्डे खोलाभन्दा माथिलाई ताल भन्न सकेनौं । त्यो २०१० सालदेखि यथावत छ । त्यसले धार परिवर्तन गरेको देखिदैन । त्यतिमात्र होइन, ट्रोमोग्राफीले पनि कडा चट्टान भएको ठाउँमा ताल थिएन । लुज चट्टान भएको ठाउँमा ताल थियो भन्ने देखाएको छ । त्यसकारण ट्रोमोग्राफीलेपनि भकुण्डेखोला भन्दा माथि ताल थियो भन्दैन । अर्को कुरा भनेको स्थानियले पनि त्यहाँ ताल थियो भन्ने कुरा स्वीकार्दैन ।

लामिछाने प्रतिवेदन र तपाईंहरुको प्रतिवेदन किन फरक प¥यो त ?

लामिछाने प्रतिवेदनले भकुण्डे खोला भन्दा माथिकोलाई पनि ताल हो भनेर भन्यो र क्षेत्रफल बढि देखियो । तर हामीले त्यसलाई ताल मान्न सकेनौं । तर त्यो जग्गालाई पनि अर्को ताल बनाउनेगरी अधिग्रहण गर्न सक्छौं । तर खोला भन्दा माथिकोलाई ताल मान्नै सकिदैन ।

फेवाताल सिमाङ्कनका आधारहरु के के हुन् ?

फेवाताल सिमाङ्कनका पाँचवटा आधार छन् । पहिलो कुरा फेवातालको बाँधको उचाई । बाँधको उचाई ७९४.७० ले पानीको लेभल भेट्छ । त्यो लेभल जहाँ कायम हुन्छ त्यो एउटा आधार हो ।

दोश्रो, त्यहाँबाट बगेर आउने एउटा भकुण्डे खोला छ । त्यो २०१० सालदेखि अहिलेसम्म निरन्तर छ । त्यो भन्दा माथि ताल गएको थियो भने त्यो खोला हुँदैनथियो । तेश्रो, हामीले ट्रोमोग्राफी सर्भेका आधारमा जहाँ कडा चट्टान छ त्यहाँ ताल थिएन, जहाँ कमजोर लुज चट्टान छ त्यहाँ ताल थियो भन्ने प्रमाणका आधारमा । चौथो, हामीले भदौमा अत्यन्त ठूलो बाढी आएर ताल भरिएको अवस्थमा लिएको नक्सा छ । त्यसले पानीको सतह कहाँ पुगेको छ भनेर देखाएको छ । पाँचौं, त्यहाँका बुद्धिजिवी र स्थानियबासीले भनेको मौखिक जानकारीलाई पनि हामीले आधार बनाएका हौ । त्यसबाहेक हामीले अन्य धेरै नक्सा र प्रतिवेदनलाई आधार मानेर हेर्दा त्योभन्दा माथि ताल छ भनेर जान सकिएन ।

तालको क्षेत्रफल घटाएर दुषित जग्गालाई छुट दिन खोजिएको हो र ?

छैन, । त्यस्तो होइन । फेवातालको क्षेत्रफल भित्र परेका दुषित जग्गा हामी खोज्छौं । फेवातालको क्षेत्रफल बाहिर भएका जग्गाको त हामी खोज्न सक्दैनौं । किनभने संसारभर दुषित जग्गा कति छन् कति । त्यो सबै हामी खोज्न सक्दैनौं । तर ताल भित्र पर्ने दुषित जग्गा हामी खोजेरै छाड्छौं । त्यस्ता जग्गा खारेजपनि गर्छौं ।

किन विवादित भयो त यहाँहरुको प्रतिवेदन ?

हाम्रो पुरानो नापीमा ८७०७ रोपनी छ । अहिले हामीले सिमाङ्कन गर्दा २ हजार ५ सय ४८ रोपनी बढ्यो । त्यो बढेको जमिन भित्र दुषित जमिन रहेछ भने त्यो हामी खोज्छौं र खारेज गर्छौ, चाहे थोरै होस् वा सबै भएपनि हामी जाँचबुझ गरेर खारेज गर्छाै ।

फेवातालको सिमाङ्कन चलिरहेकै समयमा तालको पानीको सतह घटाउनुलाई शंकाको नजरले हेर्ने पनि छन् के भन्नुहुन्छ ?

मैले २०५८ सालमा सर्भे गर्दा फेवातालको क्षेत्रफल ५.८ वर्ग किलोमिटर छ भनेर प्रतिवेदन बनाएको थिएँ । त्यो मैले २०३८ सालमा युएनडिपीले गरेको नक्साको आधारमा गरेको हो । त्यो गर्दा त्यसबेला पानीको लेभल ४.२५ वर्ग किलोमिटर थियो । र पुरेको भाग १२१ हेक्टर जमिन पुरेको थियो । १ हेक्टरमा २० रोपनी जमिन हुँदा झण्डै २४ सय रोपनी जमिन पुरिएको देखिन्छ । यस हिसाबले त्यतिखेर गरिएको र अहिले गरिएको सर्भे अनुसार फेवातालको क्षेत्रफल मिल्छ ।

फेवातालको पानीको सतह घटाइनुसँग सिमाङ्कनको कुनै लेनादेना छैन ?

छैन छैन, त्यस्तो केहि पनि छैन ।

तर कतिपयले त तपाईंले २०५८ सालमा गाडेको पिलर खोज्न तालको सतह घटाइएको हो भनेर आरोप लगाउँछन् त ?

त्यस्तो होइन । तालको सतह घटाउनु भन्दा अगाडि नै हामीले सिमाङ्कन गरिसकेका थियौं । त्यसैले आरोपमा सत्यता छैन । किनभने हामीले प्रतिवेदन २७ गते नै बनाइसकेका थियौं । माघ २९ गते बल्ल तालको सतह घटाउन बाँधको ढोका खोलिएको हो ।

सरकारले दिएको जिम्मेवारी अन्तर्गत अब के के बाँकी छन् त तपाईंहरुले गर्नुपर्ने काम ?

हामीले तालको सिमाङ्कन गरिसक्यौं । अब दुषित जग्गा खोजिरहेका छौं । फेवातालको चारकिल्ला भित्र रहेका दुषित जग्गाहरु खोज्ने हो । त्यसको काम अहिले भइरहेको छ । अबको ३ महिनाभित्र यसको काम हामीले सक्छौं । त्यसपछि हामीले तालको सौन्दर्यकरण गर्ने गुरुयोजना पनि बनाउँछौं ।

सिमाङ्कनमा कहिंकतैबाट प्रभावित भयो कि भन्ने आशंकापनि सुनिन्छ नि !

अहँ, कहिँ कतैबाट हामीलाई केहि भनिएको पनि छैन । हामी प्रभावित पनि छैनौं र हुँदैनौं पनि । म दाबीका साथ भन्छु हिजोको सिमाङ्कन र अहिलेको सिमाङ्कनमा फरक छैन । हिजो पुरिएको जग्गासमेत समेट्दा बरु तालको क्षेत्रफल २ हजार ५ सय ४८ रोपनी जमिन बढेको छ ।

प्रकाशित: १ चैत्र २०७७ १५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?