६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्वार्ता

सांसद् कानुन बनाउन निर्वाचित हुन्छन् तर जनताले त्यसरी हेर्दैनन्: सांसद् राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का सांसद् डा.धवलशम्शेर राणाले संसदमा प्रतिपक्षको भूमिका सशक्त रूपमा निर्वाह गरिहेको तर सत्तापक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको जिकिर गरेका छन्।

“संसदमा प्रतिपक्षको भूमिका सरकारका काम-कारबाहीका बारेमा निगरानी राख्दै सरकारका राम्रा काममा टेवा दिने र कमीकमजोरीमा खबरदारी गर्नु हो। हामी संसदमा जनताको विचारको प्रतिनिधित्व गर्दै आवाज उठाउँदै छौं। सरकारले कार्यान्वयन गर्नुपर्ने विषय पनि उठाइरहेका छौं। तर,सरकारले कार्यान्वयन गर्दैन। सरकार जवाफदेही छैन। हामी प्रतिपक्षको भूमिका सशक्त रूपमा निर्वाह गरिरहेका छौं तर आफ्नो भूमिका निर्वाह गर्न सरकार सकिरहेको छैन”, उनले भने।

संवादको क्रममा सांसद राणाले जनताको भावना र विचारको प्रतिनिधित्व गर्ने सर्वोच्च निकायका रूपमा रहेको संसदमा सत्तापक्षले प्रतिपक्षको कुरा सुन्ने बानीको विकास गरी जनताका समस्या समाधान र कानुन निर्माण केन्द्रित हुनुपर्छ भने।

राप्रपाका महामन्त्रीसमेत रहेका राणाले प्रतिपक्षले उठाएका विषयप्रति सरकार जवाफदेही नहुँदा सरकार असफल भएको आरोप समेत लगाए।

“हामी सरकारका खराब कामप्रति विरोध गरिरहने, औंल्याइरहने, सत्तापक्ष नसुनेको जस्तो गरिरहने  यस्ता अभ्यासले हामीलाई कहाँ पु¥याउँछ?”, उनले सोधे।

२०१८ सालमा जन्मिएका सांसद राणा बाँके क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी नेपालगञ्ज उपमहानगरपालिका पूर्वप्रमुख पनि हुन्। सांसदमा विकास निर्माणका कामको क्षेत्राधिकार नभएको जनताले नबुझ्दा पीडा महसुस भएको अनुभव उनी राख्छन्।

“सांसदहरू कानुन बनाउन निर्वाचित हुन्छौं तर जनताले त्यसरी हेर्दैनन्। जनताले सडक, खानेपानी, बिजुली लगायतका विकास निर्माणका लागि निर्वाचित गरेको महसुस गर्छन्। केही जनताले विकास निर्माण गर्न सकेन भन्छन् नै। यो नबुझ्दा आफूलाई पीडाचाहिं लाग्दोरहेछ”, उनले भने।

आफ्ना मतदाता निर्वाचित भएको एक वर्षमा विकास निर्माण काम नभएको र कानुन निर्माणको अवस्थाप्रति सन्तुष्टि रहने वातावरण नभएको उनको ठहर छ।

आफूले विगतमा दुई पटकसम्म स्थानीय तहको नेतृत्व गरेको सम्झिदै उनले भने, “केही जनताले कानुन निर्माण गर्ने निकायमा निर्वाचित गरेको बुझ्नुहुन्छ। विकासका पूर्वाधार निर्माण गर्ने निकाय स्थानीय तह हो। दुईदुईपटक प्रमुख भएर स्थानीय निकायमा त्यो भूमिका निर्वाह गरेको छु।”

२०४९ सालबाट सांसद राणाले राप्रपाको युवक सङ्गठनबाट आफ्नो राजनीति सुरुआत गरेका थिए। पछि स्वतन्त्र रूपमा चुनावमा प्रतिस्पर्धा गरी सांसद पदमा निर्वाचित भएको सांसद राणापछि नेकपा (एमाले) प्रवेश गरी २०५४ सालमा निर्वाचित नगरप्रमुख समेत भएका थिए। पुनः राप्रपा फर्किएका सांसद राणा २०७४ सालमा प्रमुख भएर हाल प्रतिनिधिसभा सदस्य हुन्।

संसदमा सत्तापक्ष र प्रतिपक्षको सहकार्यमा कानुन निर्माण गर्नुपर्दछ। जुन कुनै एक दलका समर्थकका लागि होइन। जनता र मुलुकमा अमनचयन सिर्जना गर्नका लागि भूमिका र जिम्मेवारीका हिसाबले एउटा विधायकले विधेयक र कानुन निमार्णमा केन्द्रित हुनुपर्ने हो तर सोहीअनुसार हुन सकेको छैन। सांसद राणाले संसद्ले करोडौं खर्च गरेर विधेयक पास गर्न नसकेकोप्रति असन्तुष्टि पोखे।

“हामी करोडौं खर्च गरेर एउटा विधेयक पास गर्छौ। संसदले आवश्यक विधेयक पास गर्न नसकेको अवस्था छ। कानुन बनाउने मुख्य जिम्मेवारी बोकेका सांसदप्रति जनता सन्तुष्टि हुने अवस्था छैन”, उनले भने।

सांसद राणाले अभावैअभाव र असहमतिका बीच चलिरहेको सदन एउटा गठबन्धन छाडेर अर्को गठबन्धनमा उभिएको परिणाम रहेको आरोप लगाए।

मुलुकको आर्थिक अवस्था निरासाजनक रहेकामा चिन्ता व्यक्त गर्दै सांसद राणाले भ्रष्टाचार नै देश विकासको बाधक रहेको बताए। “मुलुकमा हरेक कुराको अभाव छ। रोजगारी छैन, विकास छैन। भ्रष्टाचार मौलाउँदै जानु देश विकासको बाधक हो। मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सबैले पहल गर्नुपर्छ”, उनले भने।

प्रकाशित: ८ मंसिर २०८० ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App