१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘कोभिड, जलवायु र द्वन्द्वका कारण विश्व खराब अवस्थामा’

आफ्नो दोस्रो कार्यकाल सुरु गर्न लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटरेसले कोभिड–१९ महामारी, जलवायु संकट र भूराजनीतिक तनावका कारण विश्व ५ वर्षअघिको तुलनामा खराब अवस्थामा रहेको बताएका छन्।

महासचिव गुटरेसले सन् २०१७ को जनवरी १ मा पदबहाली गर्ने दिनमा द्वन्द्व रोक्न, असमानता हटाउन तथा विश्व शान्तिका लागि सक्रिय रहने बताएका थिए। तर कोभिड–१९ र विश्वको तापमानमा भएको वृद्धिले चुनौती थपिएको छ।

‘संयुक्त राष्ट्रसंघका महासचिवसँग शक्ति हुँदैन तर हामीले प्रभाव पार्न सक्छौं, विश्वास दिलाउन सक्छौं र मध्यस्थता गर्न सक्छौं,’ उनले भने। संयुक्त राष्ट्रसंघको प्रमुख पदमा नियुक्त हुनुअघि उनले यो भूमिका समस्या समाधानका लागि संयोजनकारी, फरक विचारलाई जोड्न सक्ने, मध्यस्थकारी तथा इमानदार ब्रोकरको जस्तो हुनुपर्ने बताएका थिए।

बिहीबार एपीसँगको कुराकानीमा उनले भने, ‘मैले यस्तो कार्य हरेक दिन गर्नुपर्ने हुन्छ।’ उदाहरणका लागि गत साता उनले इथियोपियामा त्यहाँको सरकार र टिग्रे क्षेत्रमा लडाकुबीच रहेको द्वन्द्व समाधान गर्न अफ्रिकन युनियनका दूत, केन्याका राष्ट्रपति र इथियोपियाका प्रधानमन्त्रीसँग वार्ता गरेका थिए। ‘मलाई आशा छ, छिटै यो द्वन्द्वले निकास पाउनेछ।

मैले आफ्नो ध्यान यसमा केन्द्रित गरेको छु,’ उनले भने। यसैगरी आमचुनावलाई सन् २०२६ सम्म धकेल्न चाहने मालीका सैनिक नेताहरूसँग पनि टेलिफोनमा वार्ता भएको उनले बताए।

उनले विश्वशान्ति तथा सुरक्षाका लागि प्रतिबन्ध तथा सैनिक कारबाहीसमेत गर्न सक्ने संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का सदस्यहरूबीच कतिपय विषयमा एकमत नरहेको बताए। विशेषगरी भिटो प्रयोग गर्न सक्ने ५ सदस्यबीच खास विषयमा समान धारणा बन्न सकेको छैन।

उदाहरणका लागि उत्तर कोरियालाई प्रतिबन्ध लगाउने विषयमा अमेरिका, बेलायत र फ्रान्सले अगाडि सारेको प्रस्तावको बिहीबार रुस र चीनले विरोध गरेका छन्। यसैगरी आफ्ना १ लाख सैनिक युक्रेनको सीमाक्षेत्रमा रुसले तैनाथ गरेको सन्दर्भमा महासचिवले भने, ‘रुसले युक्रेनमा आक्रमण गर्छ भन्ने मलाई लाग्दैन। मेरो आशा सही ठहरिनेछ।’ उनले सैनिक कारबाही समस्या समाधानको उपाय नभएको र कूटनीति तथा सहकार्यले समस्याको समाधान निस्कने विश्वास व्यक्त गरे।

महासविच गुटरेसले सैनिक कारबाही भएमा यसको प्रभाव भयावह हुने बताए। युक्रेन संकटमा संयुक्त राष्ट्रसंघ प्रत्यक्ष हिसाबले संलग्न नभएको तर रुसी उच्च अधिकारीसँग सम्पर्क भइरहेको उनको कथन थियो। महासचिव गुटरेसले शुक्रबार साधारण सभालाई सम्बोधन गर्ने र सम्बोधनको क्रममा उनले सन् २०२२ का लािगि आफ्ना प्राथमिकताको बारेमा प्रकाश पार्ने तयारी गरेका छन्। महासचिवले विश्वका अगाडि तीन प्रमुख चुनौती रहेको बताएका छन्।

दक्षिण अफ्रिकासहित विश्वका अधिकांश देशमा कोरोना खोपको अभाव, विश्वको तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने चुनौती र धनी राष्ट्रको हितमा रहेको विश्वको वित्तीय व्यवस्थाको विषयलाई सम्बोधन गर्न आफू लागि पर्ने उनले बताए। यसैगरी कतिपय विकासोन्मुख राष्ट्रले चर्काे ब्याजदरमा ऋण लिन बाध्य रहेको उनको कथन थियो।

‘हामीले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा गम्भीर सुधार गर्न आवश्यक छ। यसले कोभिड–१९ पछिको पुनरुत्थान अभियानलाई सहयोग गर्नेछ,’ उनले भने। यसैगरी अर्काे प्रसंगमा महासपचव गुटरेसले तालिवानले विगतमा गरेका गलत काम कारबाहीको सजाय अफगानी जनताले पाउन नहुने तर्क गरेका छन्। उनले भोकमरी र कोभिड–१९ संकटविरुद्ध लड्न विश्व समुदायले अफगानिस्तानलाई मानवीय सहयोग गर्नुपर्ने बताए। (एपी)

प्रकाशित: ८ माघ २०७८ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App