१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

‘भारतीय सैनिकले आश्चर्यजनक ढंगले चीनमा आक्रमण गर्ने खतरा!’

चिनियाँ सेनाका एक पूर्वजनरलले भारतले सीमा क्षेत्र लद्दाखबाट आश्चर्यजनक रूपमा चीनमा आक्रमण गर्न सक्ने खतरा बढेको चेतावनी दिएका छन्।  

दुई देशका सैनिकबीच लद्दाखमा पटकपटक झडप भइरहेका बेला चिनियाँ जनुमुक्ति सेना (पिएलए) का पूर्वलेफ्टिनेन्ट जनरल वाङ होङगेङले त्यस्तो खतरा औंल्याएका हुन्।  

चीनको प्रतिरक्षासम्बन्धी सामाजिक सञ्जाल लि जियानमा  बुधबार प्रकाशित लेखमा पूर्वलेफ्टिनेन्ट जनरल वाङले भनेका छन्, ‘वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतलाई लागि ५० हजार सैनिक मात्र आवश्यक पर्छ। तर उसले जाडो सुरु हुनुअघि आफ्ना नियमित सेना फिर्ता गर्नुको साटो एक लाख सैनिक थपेको छ।’  

चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले अगाडि भनेका छन्, ‘भारतले सीमामा सैनिक दुई वा तीन गुणा थपेको छ। तीमध्ये धेरैजसोलाई एलएसी अर्थात् चीनको सीमानाबाट ५० किलोमिटरनजिकै तैनाथ गरेको छ, जो केही घण्टामै चीन प्रवेश गर्न सक्छन्।’

चीनको नान्जिङ सैनिक क्षेत्रका पूर्वउपकमान्डर वाङले द्वन्द्वको जोखिम बढेको बताएका छन्। ताइवानको तनाव र अमेरिकामा हुन लागेको राष्ट्रपति चुनावको माहोलले गर्दा भारतलाई चीनविरुद्ध ‘केही ठूलो’ गर्ने मौका मिल्न सक्ने उनको तर्क छ।  

गत जुन १५ मा लद्दाखकाे गलवान उपत्यकामा भारत-चीनका सेनाबीच झडप हुँदा २० भारतीय सैनिककाे मृत्यु भएकाे थियाे। तर चीनतर्फ के कति क्षति भयाे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन। 

त्यसयता सीमामा झगडा नगर्ने सहमति भए पनि हालैका दिनमा दुई देशका सैनिकबीच पटकपटक हवाई फायरिङ भएका छन्।

प्रकाशित: १० आश्विन २०७७ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App