टोकियो, - जापानका प्रधानमन्त्री शिन्जो आबेले साेमबार रसिया, पेरु र साउदी अरेबिया लगायतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने घोषणा गरेका छन् । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताए ।
जापानले यसअघि नै ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ । प्रधानमन्त्री आबेले सरकारको पछिल्लो घोषणा यही बुधबारदेखि लागू हुने जानकारी दिए।
जापानले यसअघि घोषणा गरिएका मुलुकमाथि लागेको प्रतिबन्ध यही अप्रिल ३० मा सकिँदैछ तर उक्त मितिलाई पनि आगामी मे महिनाको अन्त्यसम्म बढाइएको छ ।
जापानमा आगामी मे ६ सम्मका लागि आपतकालीन स्थितिको घोषणा गरिएको छ । सरकारी अधिकारीहरु र विज्ञहरुले कोरोना संक्रमण रोकथामका लागि हाल अपनाइएका उपायहरु सफल रहे वा नरहेको बारेमा सूक्ष्म विश्लेषण गरिरहेका छन् ।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा हासलम्म १३ हजार ३८५ जना संक्रमित भएका छन् भने ३६४ जनाको मृत्यु भएको छ । रासस
प्रकाशित: १५ वैशाख २०७७ १२:२८ सोमबार