८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान-अमेरिका तनावः ट्रम्पद्वारा नयाँ सम्झौतामा जोड

इराकस्थित अल–असद हवाई सैन्य आधार शिविर। तस्बिर ः एपी

तेहरान – इराकस्थित अमेरिकी हवाई शिविरमा इरानले ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा भएको जनरल कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी हवाई सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरिएका हुन्।

पश्चिम बग्दादस्थित अल–असद र एरबिलमा रहेका अमेरिकी र गठबन्धन सेना बस्ने गरेको शिविरमा स्थानीय समयअनुसार बुधबार बिहान २ बजे दर्जनबढी क्षेप्यास्त्र प्रहार गरिएका हुन्। मध्यपूर्वमा इरानको प्रोक्सी फौजको नेतृत्व गर्ने जनरल सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टामै इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको हो। इरानले अमेरिकी हवाई सैन्य शिविरहरुमा आफूहरुले नै क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेको छ। अल–असदमा भएको पहिलो आक्रमणको केही समयपछि एरबिलमा आक्रमण भएको अल–मयदिन टेलिभिजनले बताएको छ। यो सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासलाई कब्जामा लिइए यता इरानले अमेरिकाविरुद्ध गरेको सबैभन्दा प्रत्यक्ष प्रकृतिको हमला हो।

उता, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि इराकस्थित दुई अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेको छ।  यद्यपि मानवीय क्षतिका सम्बन्धमा भने पेन्टागनले केही बताएको छैन। वासिङ्टनबाट आएका प्रारम्भिक प्रतिक्रिया छोटो छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सबै ठीकठाक रहेको बताउँदै सम्भावित हताहति र क्षतिको विवरण संकलन भइरहेको भन्दै ट्विट गरेका छन्।

‘हामीले इराकस्थित अमेरिकी आधार शिविरहरुमा भएका हमलाबारे थाहा पाएका छौं। राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन्,’ ह्वाइट हाउस प्रवक्ताले एक विज्ञप्तिमा भनेकी छन्। गत शुक्रबार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जनरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीचको तनाव उच्च भएको छ। इरानले उक्त हत्याको बदला लिने चेतावनी दिइरहेकै बेला बुधबार बिहानको क्षेप्यास्त्र आक्रमण भएको हो। इरानको रिभोलुस्नरी गार्ड्स्ले उक्त हमलालाई आफ्ना सैन्य जनरलको हत्याको बदलाका रूपमा अथ्र्याएको छ।

‘हामी अमेरिकाको आतंककारी सेनालाई आधार शिविर दिने सबै साझेदारलाई चेतावनी दिन्छौं की इरानविरूद्ध आक्रमणमा प्रयोग हुनसक्ने सबै शिविरलाई निसाना बनाइने छ,’ इरानी राष्ट्रिय समाचार एजेन्सीले प्रकाशन गरेको गार्ड्सको एउटा वक्तव्य उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

‘आक्रमण अमेरिकाको गालामा थप्पड’
इराकस्थित अमेरिकी सैन्य शिविरहरुमा गरिएको आक्रमण ‘अमेरिकाका लागि मुखमा हानिएको थप्पड’ भएको इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले बताएका छन्। बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै सर्वोच्च नेताले यस्तो बताएका हुन्। उनले मध्यपूर्वमा अमेरिकी उपस्थितिको अन्त्य हुनुपर्ने माग पनि गरेका छन्।

खामेनीको भनाइ दोहो¥याउँदै राष्ट्रपति हसन रौहानीले भने ‘सुलेमानी हत्याको प्रतिक्रियास्वरुप इरानले दिने अन्तिम जवाफ सबै अमेरिकी सेनालाई मध्यपूर्वबाट पूर्ण रूपमा हटाउनु हुनेछ’ भनेका छन्। यसैबीच, इरानबाट अमेरिकी सैन्य शिविरमा भएका आक्रमणको विषयमा इराकी प्रधानमन्त्री अदेल अब्दुल महदी पनि बोलेका छन्। इरानले स्थानीय समयअनुसार मध्यराततिर आक्रमण गर्न लागेको र अमेरिकी फौजमात्रै निशानामा पर्ने भन्दै आफूलाई सावधान गराएको प्रधानमन्त्री महदीले बताए। इरानी आक्रमणमा कुनै पनि इराकी नागरिक मारिएको जानकारी प्राप्त नभएको उनको भनाइ छ। तेहरानले भने ८० अमेरिकी सेना मारिएको दाबी गरेको छ।

यसैबीच, इराकस्थित अमेरिकी हवाई सैन्य शिविरमा भएका ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणको केही घण्टामै इरानमा युक्रेनको एउटा विमान दुर्घटना भएको छ। तेहरानस्थित विमानस्थलबाट उडान भर्नेबित्तिकै विमान दुर्घटनमा परेको बताइएको छ। दुर्घटनाका कारण विमानमा सवार सबै १ सय ७६ यात्रुको निधन भएको बताइएको छ। यद्यपि क्षेप्यास्त्र हमला र विमान दुर्घटना एक अर्कासँग सम्बन्धित छन् भन्नेबारे भने कुनै प्रमाण बाहिरिएको छ। इरान र अमेरिकाबीचको तनाव बढिरहेकै बेला विश्वका कैयौं एयरलाइन्स कम्पनीले इराक र इरानको हवाई मार्गमा उडान नभर्ने घोषणा गरिसकेका छन्।

इराकबाट सेनाको संख्या घटाउँदै जर्मनी
इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानी अमेरिकी हवाई हमलामा गत शुक्रबार मारिएपछि अमेरिका र इरानबीच बढ्दो तनावकै बीच अमेरिकाको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का सदस्य राष्ट्रहरुले इराकबाट आफ्ना सेना फिर्ता वा कटौतीको घोषणा गर्न थालेका छन्।

सम्भावित युद्ध रोक्न अमेरिका र इरान दुवै पक्षलाई आग्रह गरिरहेको नेटोआबद्ध जर्मनीले इराकमा रहेका आफ्ना सेनाको संख्यामा कटौती गरेको छ। इरानी सैन्य कमान्डर सुलेमानीको अमेरिकी हवाईमा मृत्यु भएसँगै विदेशी सेनालाई इराक छोड्न लगाउनेबारे इराकी संसद्ले संकल्प प्रस्ताव पारित गरेसँगै जर्मनीले त्यहाँ रहेका कम्तीमा ३५ जना आफ्ना सेनालाई रातारात कुवेत वा जोर्डन पु¥याएको डिडब्लू न्युजले जनाएको छ। इराकमा हाल १ सय ३० जर्मन सेना तैनाथ छन्। जर्मनीले मात्रै ३० जना आफ्ना सेनालाई इराकमा राख्ने बताएको छ। इराकी सरकारको कुनै पनि सार्वभौम निर्णय मान्ने भन्दै जर्मनीले आफ्नो सेनाको संख्या घटाउने भएको हो। यद्यपि उसले इस्लामिक स्टेटको प्रभाव बढ्नसक्ने भन्दै चिन्ता पनि व्यक्त गरेको छ।

इस्लामिक स्टेटसँग लड्नका लागि इराककै आग्रहमा त्यहाँ अमेरिकाको नेतृत्वमा विदेशी सेना तैनाथ छन्, जसमा अमेरिकी सेनाको ठूलो उपस्थिति छ। हाल इराकमा ५ हजार अमेरिकी सेना तैनाथ छन् र पछिल्लो तनावपछि सो संख्यामा वृद्धि गरिएको बताइएको छ।

यसैबीच, नेटोले पनि सोमबार बैठक बसेर तत्कालका लागि इराकमा सञ्चालित ट्रेनिङ मिसनलाई स्थगन गर्ने भएको छ। उसले इरानलाई युद्धको बाटोमा नजान आग्रह पनि गरेको छ। नेटो गठबन्धन सेनाले इराकमा ट्रेनिङ मिसनलाई समर्थन गर्दै आएको थियो।

नेटोआबद्ध जर्मनी, फ्रान्स र बेलायतले पनि मध्यपूर्वको तनाव अन्त्यका लागि अमेरिका र इरान दुवैलाई आग्रह गरेका छन्। फ्रान्सले भने तत्काल इराकबाट सेना हटाउने वा कटौती नगर्ने भएको छ।

के साँच्चै इरान–अमेरिका द्वन्द्व होला ?
पछिल्ला तीन साता अमेरिका र इरानबीचको तनाव वृद्धि गर्ने विविध घटना घटे। इरान समर्थित इराकी मिलिसियाको आक्रमणमा एक अमेरिकी ठेकेदार मारिएपछि क्रुद्ध बनेको अमेरिकाले सिरिया र इराकको सीमामा पर्ने मिलिसिया शिविरमा आक्रमण गरेको थियो। सो आक्रमणमा २० भन्दा बढी लडाकु मारिएपछि त्यसको आक्रोशमा बग्दादलगायतका ठाउँमा विरोध प्रदर्शन भएको थियो। विरोध प्रदर्शनकै क्रममा ‘ग्रिन जोन’ अर्थात् बग्दादको कडा सुरक्षा घेराभित्र रहेको अमेरिकी दूतावासमा समेत प्रदर्शनकारीले आक्रमण गरे। त्यसबाट आक्रोशित बनेको अमेरिकाले सिरिया वा लेबनानबाट इराक पुगेका इरानको शक्तिशाली सैन्य अधिकारी कासिम सुलेमानीलाई बग्दादस्थित विमानस्थलमै गत साता ड्रोन हमलामा हत्या ग-यो।

सुलेमानीको हत्याको बदला लिने इरानी उच्च नेतृत्वले बताइरहेकै बेला मंगलबार उनको अन्तिम संस्कारमा भागदौड मच्चिदा ५० बढी इरानीको मृत्युसमेत हुनपुग्यो। सुलेमानी हत्याको बदलास्वरुप भन्दै तेहरानले बुधबारबिहानै इराकस्थित अमेरिकी सैन्य अखडामा हमला गरेको छ। यद्यपि यस हमलालाई लिएर १८ घण्टा बितिसक्दा पनि अमेरिकी पक्षबाट कडा प्रतिक्रिया वा कदम चालिएको छैन।

विश्वभर अमेरिका–इरान युद्ध हुने हो की भन्ने चिन्ता व्यक्त भइरहेकै बेला बुधबार बिहानै तेहरानले क्षेप्यास्त्र हमला गरेको भए पनि जनरल सुलेमानीको महŒव र उनको हत्यापछि व्यक्त भएका भावपूर्ण अभिव्यक्तिको हिसाबले हेर्ने हो भने इरानले अमेरिकी सैनिक अखाडाविरुद्ध गरेको हमला मध्यमस्तरकै छ। सकेसम्म कम क्षति होस् भनेर नै ब्यालेस्टिक क्षेप्यास्त्र हमलाका लागि इरानले बिहानीको समय लिएको जस्तो देखिन्छ। जति नै चर्को कुरा गरे पनि अमेरिका र इरान दुवै तत्काल युद्धमा गइहाल्ने मनस्थितिमा भने देखिएका छैनन्।

कतिपय विश्लेषकले त बुधबार बिहानको आक्रमणलाई इरानले आफ्ना उच्च सैन्य कमान्डर मारिएको विरोधमा गर्ने जवाफी कारबाहीको अन्त्य हुनसक्ने विचारसमेत व्यक्त गरेका छन्। इरानी जवाफ अमेरिकी कदमअनुसार हुने भनेर इरानका प्रतिरक्षा मन्त्री आमिर हतामीले बोलेको विषयले पनि इरान तत्काल ठूलो युद्धमा जान नचाहेको जस्तो देखिन्छ।
इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले बुधबार बिहानको हमला प्रतिरक्षात्मक भएको भन्दै गरेको ट्विटले पनि इरानी संस्थापन पक्ष युद्धको मनस्थितिमा नरहेको अनुमान गर्न सकिन्छ। इरानले वर्तमान अवस्थालाई युद्धको रूप दिन नचाहेको पनि उनले ट्विट गरेका छन्। इरानी नेतृत्वले गरेका ट्विटलाई विचार गर्ने हो भने तेहरानले सुलेमानीको हत्यापछि आफूले जनाउने जवाफी कारबाहीलाई अब सीमित पार्न चाहेको देखिन्छ र उसले अब त्यहाँको स्थितिलाई चर्काउने की न चर्काउने भन्ने कुरा अमेरिकाको काँधमा छोडेको जस्तो देखिन्छ।

अमेरिका र इरानको सैन्य क्षमता कस्तो छ ?
अमेरिकाले रक्षा बजेटमा वार्षिक ६४८.८ विलियन अमेरिकी डलर खर्च गर्छ भने यसको तुलनामा इरानको निकै कम रक्षा बजेट रहेको छ। इरानले वार्षिक १३.१ विलियन अमेरिकी डलर रक्षा बजेटमा खर्च गर्छ। त्यसैगरी, अमेरिकासँग १३ लाख ५९ हजार सक्रिय सैन्य शक्ति छ भने इरानसँग आधाभन्दा कम ५ लाख २३ हजारमात्रै सक्रिय सेना रहेको छ। त्यसैगरी, अमेरिकासँग ८ लाख ४५ हजार जगेडा सैन्य शक्ति छ भने इरानसँग ३ लाख ५० हजारमात्रै जगेडा सैन्य शक्ति छ। साथै, अमेरिकासँग ६ हजार २ सय ८७ मुख्य युद्ध ट्यांक छ भने इरानसँग १ हजार ५ सय १३ मात्रै युद्ध ट्यांकको क्षमता छ।

यी आंकडालाई हेर्ने हो भने पनि इरान तत्काल अमेरिकासँग युद्ध लड्ने पक्षमा देखिँदैन। साथै, अमेरिकी राष्ट्रपति ट्रम्पले आसन्न राष्ट्रपतीय निर्वाचनमा राष्ट्रवादी जनमत प्राप्त गर्नका लागि इरानका सैन्य कमान्डरको हत्या गरेको आरोप देशभित्रै उनका राजनीतिक प्रतिद्वन्दीले लगाइरहेका छन्। उनीहरुले विश्व र अमेरिकाले अब युद्ध थेग्न नसक्ने भन्दै चुनावी प्रोपोगान्डाका लागि ट्रम्पले यो बाटो अपनाएको आरोप पनि लगाइरहेकै परिस्थितिमा वासिङ्टन र तेहरान तत्काल ठूलो युद्धमा जाँदैनन् भन्ने अनुमान लगाउन सकिन्छ।

प्रकाशित: २४ पुस २०७६ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App