२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अदिबलाई भारतमा शरण दिइएन, आएकै बाटो फिर्ता

अहमद अदिब अब्दुल गफुर।

नयाँ दिल्ली – गैरकानुनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ परेका माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिब अब्दुल गफुरलाई भारतले उनी आएकै मार्गको बाटो माल्दिभ्स फिर्ता गरेको भारतीय स्रोतले शनिबार जानकारी गराएको छ।

भारत प्रवेश गर्नका लागि आवश्यक कागजात नभएको भन्दै उनलाई भारतले तामिलनाडुस्थित बन्दरगाह सहर टुटिकोरिनबाट सुरक्षा नियन्त्रणमा लिएको थियो। माल्दिभ्सका पूर्वउपराष्ट्रपति अदिबले भारतमा शरण लिन चाहेको तर भारतले उनलाई भारतीय भूमिमा शरण दिन नसक्ने बताएपछि टुटिकोरिन नाकाबाटै उनलाई फिर्ता पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् माल्दिभ्सको एक अदालतले तत्कालीन राष्ट्रपति अब्दुलाह यमिनलाई सन् २०१५ मा हत्या गर्ने प्रयास गरेको भन्दै अदिबविरूद्ध परेको मुद्दामा सफाई दिएपछि गत मे महिनामा माल्दिभ्सको जेलबाट रिहा भएका माल्दिभ्सका पूर्वउपराष्ट्रपति अदिबलाई सत्तामा रहेका समय पदीय मर्यादा विपरीत आर्थिक अनियमितता गरेको आरोपमा थप छानबिनका लागि उपस्थित हुन आदेश दिएको थियो।

माल्दिभ्सको प्रहरीले अदिबविरूद्ध परेको मुद्दामाथि अनुसन्धान गर्न उनलाई स्वदेश फिर्ता गराउने पहल सुरु गरिएको गत बिहीबार बताएको थियो। माल्दिभ्सको सुरक्षा निकायको उच्च स्रोतले उनीमाथि यमिनको कार्यकालमा उपराष्ट्रपतिका रूपमा कार्यरत रहेका समय राज्यकोषको दुरूपयोग गरेको आरोपमा परेको मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले प्रक्रियागत रूपमा फिर्ता ल्याउने पहल गरिएको जनाएको एक दुईदिन भित्रमा नै उनलाई फिर्ता पठाउने काम भएको छ। माल्दिभ्स प्रहरीका अनुसार अदिबले बुधबार उनीमाथि परेको मुद्दाबारे आफ्ना भनाइ राख्नुपर्ने तालिका रहेको थियो तर उनी सम्बन्धित निकायमा उपस्थित नभएर भारत पुग्ने क्रममा सीमानाबाटै भारतीय नियन्त्रणमा परेका थिए।

‘माल्दिभ्सका नेता, उहाँ आएको पानी जहाज र यसका चालक दलका सदस्यहरू टुटोकोरिन सामुद्रिक क्षेत्रबाट शुक्रबार मध्यरातपूर्व नै हिँडिसक्नुभएको छ,’ एक उच्च प्रहरी अधिकारीले बताए।

 

 

प्रकाशित: १९ श्रावण २०७६ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App