२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हङकङमा प्रदर्शन जारी, सरकारी कार्यालय बन्द

बुधबारको हिंसात्मक झडपपछि बिहीबार हङकङ विधायिका परिषद्को भवनबाहिर शान्तिपूर्ण प्रदर्शन गर्दै सुपुर्दगी विधेयक विरोधी प्रदर्शनकारी। तस्बिर : एजेन्सी

हङकङ – विवादित सुपुर्दगी विधेयकबारे केही दिनदेखि जारी प्रदर्शन हिंसात्मक बनेपछि हङकङको आर्थिक जिल्लामा रहेका केही सरकारी कार्यालयलाई प्रशासनले बन्द गरेको छ।

बुधबार प्रहरी र प्रदर्शनकारीबीच कैयौं पटक झडप भए पनि बिहीबार बिहानसम्ममा आइपुग्दा प्रदर्शनकारीहरु सरकारको मुख्यालयबाहिर छरिएका थिए। हङकङबाट संदिग्ध व्यक्तिलाई मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले ल्याउन लागेको संशोधन विधेयकलाई लिएर व्यापक आक्रोश उत्पन्न भएको छ।व्यापक प्रदर्शन र असन्तुष्टि प्रकट भए पनि यस विधेयकलाई फिर्ता लिनेबारे सरकारले कुनै निर्णय लिएको छैन।यद्यपि हङकङको विधायिका परिषद्ले उक्त विधेयकमाथिको दोस्रो छलफलमा केही ढिलाइ गरेको छ।बेइजिङ समर्थक विधायिका परिषद्ले भनेको छ बुधबार हुने भनिएको परिषद्को बैठक अब ‘पछि कुनै समयमा’ हुनेछ।तर बैठक कहिले हुन्छ भन्नेबारेको समय भने निर्धारण गरिएको छैन।

बुधबारको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा फौजले व्यापक बल प्रयोग गरेको थियो।दशकौंपछि हङकङमा  प्रदर्शनकारीमाथि रबरको गोलीसमेत प्रहार गरिएको थियो।

हिंसा कसरी फैलियो ?
विधायिका परिषद्मा सुपुर्दगीसम्बन्धी विधेयकबारेको  दोस्रो बहस बुधबार हुने कार्यतालिका रहेको थियो।सांसदहरुलाई सो बहसमा सहभागी हुन नदिने हेतुले दशौं हजार प्रदर्शनकारीले मध्य हङकङमा रहेका सरकारी मुख्यालयहरु वरपरका मुख्य सडकमा अवरोध सिर्जना गरेका थिए।ती प्रदर्शनकारीलाई रोक्नका लागि दंगा प्रहरी पनि तयारी अवस्थामा रहेको थियो।

जब प्रदर्शनकारीले सुपुर्दगीसम्बन्धी सो विधेयक खारेजीको माग गर्दै सरकारी भवनमा आगो लगाउने प्रयास गरे तब प्रहरीले बल प्रयोग गर्दा बुधबारको अवस्था तनाबयुक्त हुन पुग्यो। प्रदर्शनकारीलाई रोक्न र भीडलाई तितरवितर पार्नका लागि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार ग¥यो।केही घण्टाको तनाबपछि अन्ततः भीड शान्त भएको थियो।

एक अधिकारवादी समूह ‘ह्युमन राइट्स वाच’ले बुधबारको घटनामा प्रहरीले ‘अत्याधिक बल प्रयोग गरेको’ आरोप लगाएको छ। बुधबारको घटनामा परी १५ देखि ६६ वर्ष उमेरका ७२ प्रदर्शनकारी घाइते भएका छन्।जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।प्रहरीतर्फ पनि २१ अधिकारी घाइते भएको र केहीलाई अस्पताल लगिएको बिबिसीले उल्लेख गरेको छ।

समाचर पोर्टल एससिएमपीका अनुसार सहरमा दंगा फैलाएको आरोपमा दुई प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।उनीहरुलाई अस्पतालमा उपचार गराउने प्रयास गरिरहँदा प्रहरीले पक्राउ गरेको सो समाचार पोर्टलले जनाएको छ।उनीहरु पनि प्रदर्शनकै क्रममा घाइते भएको बताइएको छ।अत्यन्तै चिन्ताजनक भनिएका मध्ये उनीहरु नै हुन् कि भन्नेबारे भने प्रष्ट नभएको एससिएमपीले जनाएको छ। बुधबारको प्रदर्शनपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले भावुक सम्बोधन गरेकी छन्।उनले प्रदर्शन ‘संगठित दंगा’ भएको पनि बताएकी छन्।उनले आफूले हङकङ बेचेको भनेर लगाइएको आरोपको पनि खण्डन गरेको बिबिसीले जनाएको छ।

बिहीबार बिहान मध्य व्यापारिक जिल्लामा केही सीमित प्रदर्शनमात्रै भएको बताइएको छ।यद्यपि सडक र डाउनटाउन सपिङ मल भने बन्द नै रहेको स्थानीय प्रसारण संस्था आरटिएचकेले जनाएको छ। सरकारले ल्याउन लागेको नयाँ विधेयकले हङकङभित्र रहेका चीन विरोधी विपक्षी राजनीतिक दल प्रभावित हुन सक्ने भन्दै गत जुन ९ का दिनदेखि हङकङमा प्रदर्शन सुरु भएको थियो।

विवादित सुपुर्दगी विधेयकमा हङकङमा रहेका वा भेटिएका शंकास्पद अपराधीलाई मुख्यभूमि चीनतर्फ पठाउनसक्ने व्यवस्था रहेको छ।हङकङले ल्याउन लागेको सुपुर्दगीसम्बन्धी विधेयकलाई चीनले समर्थन गरेको बताइएको छ । सुपुर्दगीसम्बन्धी कानुनमा संशोधन गर्न ल्याइएको उक्त विधेयकका आलोचकहरुले चीनको न्याय प्रणालीमा यातना, जथाभावी थुना र जबर्जस्ती झुटो बयान दिन लगाउने जस्ता अभ्यास हुने गरेको आरोप लगाइरहेका छन्।हङकङ सरकारले यो विधेयकका सम्बन्धमा कानुनी रूपमा बाध्यकारी मानवअधिकारसम्बन्धी प्रावधान र अन्य उपाय पनि अवलम्बन गरिने हुँदा आलोचकले गरेको चिन्ताको सम्बोधन हुने प्रतिबद्धता व्यक्त गरेको छ ।

नयाँ विधेयकमा हत्या र बलात्कारजस्ता अपराधका आरोपित वा संदिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउबाट सुपुर्दगीका लागि अनुरोध गर्न पाइने प्रावधान रहेको छ र त्यसपछि प्रत्येक घटनाका आधारमा त्यस्ता सुपुर्दगी अनुरोधमाथि निर्णय गरिनेछ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App